मकवानपुरमा कृषिमा यान्त्रीकरणको प्रयोग बढ्दै
हेटौंडा । पछिल्ला वर्षहरूमा मकवानपुर जिल्लामा कृषिमा यान्त्रीकरणको प्रयोग उल्लेखनीय रूपमा बढेको छ। आधुनिक कृषि उपकरणहरूको प्रयोगले कृषकहरूलाई समय, श्रम र लागतको बचत हुनुका साथै उत्पादनमा वृद्धि हुन थालेको छ।
जिल्लाको विभिन्न पालिकाहरू—हेटौंडा उपमहानगरपालिका, बकैया, राक्सिराङ, मनहरी, थाहा नगर र मकवानपुरगढी गाउँपालिकामा चालु आर्थिक वर्षमा सयौं किसानले ट्रेक्टर, थ्रेसर, मिनी टिलर, मल छर्ने मेसिन, पानी तान्ने मोटर लगायतका उपकरण प्रयोग गर्न थालेका छन्। स्थानीय सरकार र प्रदेश सरकारका कृषि कार्यालयहरुको सहयोगका कारण पनि किसानहरु यान्त्रीकीकरणमा जोड दिन थालेका हुन् ।
मकवानपुर जिल्लामा कृषिमा यान्त्रीकरण प्रवर्धन गर्न बागमती प्रदेश सरकार र कृषि मन्त्रालयबाट समेत अनुदानमा कृषि उपकरण वितरण भइरहेको छ।
मकवानपुरगढीका कृषक नरबहादुर मोक्तानले यस वर्ष पहिलो पटक मिनी टिलर प्रयोग गरेर धान रोपेका छन्। “अघिसम्म गोरु नै एक्लो साधन थियो, अहिले टिलरले खेत जोत्न सजिलो भएको छ। एक दिनमा ३ रोपनीसम्म काम सकिन्छ,” उनले भने।
थाहा नगरपालिकामा कृषक समूहमा आधारित यान्त्रिक सेवा केन्द्र समेत स्थापना गरिएको छ, जहाँ दर्जनौ भन्दा बढी आधुनिक कृषि उपकरणहरू किसानका खेतबारीमा अहिले उपलब्ध छन्। थाहा नगरपालिकाले हरेक वर्ष किसानका लागि यान्त्रीक समान खरिदमा रकम छुट्याउने गरेको जनाएको छ । कृषकहरूलाई यान्त्रिक उपकरण प्रयोगका लागि तालिम पनि दिँदै आएको छ।
प्रदेश सरकारले सञ्चालनमा ल्याएको “कृषि यान्त्रीकरण प्रवर्द्धन कार्यक्रम” मार्फत महिला तथा साना किसान समूहलाई विशेष प्राथमिकता दिइएको छ। हेटौंडाकी महिला कृषक सरस्वती लामाले भनिन्, “पहिला खेत जोत्न गार्हो, ढिलो र महँगो थियो, अहिले टिलरले सस्तो, छिटो र सजिलो भएको छ।”
जिल्लामा यान्त्रीकरणसँगै व्यावसायिक तरकारी खेती, धान र मकै उत्पादनमा पनि उल्लेखनीय वृद्धिको आँकडा देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। यान्त्रिक प्रणालीले खेत जोत्नेदेखि मल राख्ने, सिँचाइ गर्ने, बिउ छर्ने र भित्र्याउने सबै चरणमा सजिलो बनाएको छ।
यद्यपि, अझै गाउँ–गाउँमा पहुँच नपुगेको, उपकरणको मर्मत समस्या, तालिम अभाव र ऋणको सहज पहुँच नहुँदा यान्त्रीकरणमा पूर्ण रूपान्तरण चुनौतीपूर्ण रहेको किसानहरूको भनाइ छ। सरकारले आगामी वर्षहरूमा कृषिमा यान्त्रीकरण प्रवर्द्धन गर्न अझ बढी लगानी गर्ने योजना बनाएको छ।






