बकैया र बागमतीका माझी परिवारका घर पाउने सपना पुरा, मुहारमा फेरीयोे उज्यालो

बकैया । मकवानपुरको बकैया गाउँपालिकामा बिहान चिसो हावा चल्दछ। बकैयाका बिभीन्न खोलाबाट उक्लिएका माझी समुदायका वृद्धहरूले चिया पिउँदै सूर्यको ताप लिइरहेका हुन्छन्। अब त उनीहरूको ओठमा मुस्कान छ, त्यो मुस्कान, जुन केही वर्षअगाडि सम्म कल्पना गर्न पनि कठिन थियो।
अहिले यो बस्तीमा एक प्रकारको परिवर्तन देखिन्छ—सडक किनारामा ढल्केका काठका झुपडीहरू हटिसकेका छन्। फुस र टालटुले भरिएका छाना अब छैनन्। ती ठाउँमा उभिएका छन् नयाँ नयाँ घरहरू—जस्ताले छाएका, र त्यो भन्दा पनि ठूलो कुरा, मानिसको आत्मसम्मानले बनेका घरहरू।
यी घर कुनै निजी संघ संस्थाले होइन, न त कुनै परोपकारी विदेशी संस्थाले बनाइदिएका हुन्। यी घर बन्न सकेका छन् बागमती प्रदेश सरकारअन्तर्गतको सहरी विकास तथा भवन कार्यालय, हेटौंडा को सक्रियतामा सञ्चालनमा ल्याइएको एकीकृत वस्ती आवास कार्यक्रम अन्तर्गत। यस्तै एउटा घरको भित्तामा टेकेर कबैया गाउँपालिका वडा नम्बर–५ की कालिका माझि भन्छिन्, “हामीलाई भगवान् सम्झेर सरकारले यो घर दियो अब हाम्रै घर छ, हाम्रै ओत।”
झुपडीबाट पक्की घरतिरको यात्राः पीडा र प्रतीक्षा
माझी समुदायको जीवन जलसँग गाँसिएको हुन्छ। माछा मार्नु, नदीमा डुँगा चलाउनु र भैंसी नुहाउनु—तीनै काममा उनीहरूको जीवन व्यस्त रहन्छ। तर, तिनै जलस्रोतसँग नजिक भएर बस्दा पनि उनीहरू सधैँ जोखिममा थिए। बर्खायाममा बाढी आउँथ्यो, झुपडी भत्किन्थ्यो। जाडोमा हावा चुहिन्थ्यो, गर्मीमा फुसको छानो बालिन्थ्यो।
बकैया गाउँपालिका वडा नम्बर–५ का शेरबहादुर माझि, सुकमति माझि, सुनिता माझि, अनु कुमार माझि, मेनुका माझि, रामलाल माझि, प्रमोद कुमार कुस्वार माझि, सरोज माझि, सन्दीम माझी, सानिमायाँ कुस्वार माझी, रमेश माझी, सविना माझी, जस्मी कुस्वार माझीले बितेको आर्थिक वर्षमा सहरी विकास तथा भवन कार्यालय हेटौंडाको सहयोगमा घर निर्माण गरिसकेका छन् ।
यसैगरी बागमती गाउँपालिका वडा नम्बर–३,४ र ५ मा पनि माझि परिवारका घर निर्माण भएको छ । चालु आर्थिक वर्षमा माझी परिवारका १० घर निर्माण गरिएको छ भने बितेको आर्थिक वर्षमा ५० वटा घर माझि परिवारका लागि सहरी विकास तथा भवन कार्यालय हेटौंडाले निर्माण गरिदिएको छ ।
छानोमा प्लास्टिकको टालो, भित्तामा बाँस र काठका थोप्ला, र जस्ताको डोरी बाँधेर झुण्ड्याइएको झ्याल। “बर्खा लाग्यो भने ढोका बन्द गरेर भित्र बस्न हुन्नथ्यो,” उनीहरु भन्छन्, “पानी नै भित्र पस्थ्यो।”
ती दिनहरू अब सम्झनामा मात्र बाँकी छन्। अहिले सुनिता माझीको घर जस्ताले छाएको सुन्दर छ, सौचालय पनि छ, सानो कोठा र भान्साघर छुट्टाछुट्टै छन्। एकछिन चुप लागेर उनी थप्छिन्, “अब हामीलाई कसैले हेप्दैन। हाम्रै घर छ, हाम्रै छानो छ।”
सपना देख्ने आँखा त छन्, तर…
घर पाउने कुरा कुनै दिन सपना जस्तै लाग्थ्यो। न त आफ्नो जमिन, न त घर बनाउन पर्याप्त आम्दानी। उनीहरूको जीवन दैनिक गुजारा गर्नमा नै सिमित थियो। साह्रै कम आम्दानी, काम नपाएर दिनभरी बसी बिताउनु, अनि सामाजिक तिरस्कार—यी सबैले माझी समुदायलाई जीवनका हरेक मोडमा थिचिराखेको थियो।
“घर भन्ने त नामै सुनेको थिएँ, देखेको थिएँ अर्काको,” मेनुका माझी भन्छन्, “हाम्रो जीवनमा त केवल पाल थिए, झुपडी थिए।”
तर, यथार्थ बदलिन थाल्यो, जब सहरी विकास तथा भवन कार्यालय, हेटौंडाले बकैया गाउँपालिकाका बोटे, माझी, चेपाङ, र वनकरिया समुदायका लागि एकीकृत वस्ती आवास कार्यक्रम सुरु ग¥यो। यो कार्यक्रम अन्तर्गत प्रत्येक घर निर्माणका लागि प्रदेश सरकारले रु. ४ लाखको अनुदान दिन थाल्यो। घाम र छायाँ दुवैको अनुभूति
यस योजनाले दर्जनौं माझी परिवारलाई शान्तिको सास फेर्न सक्ने बनायो।
काठमाडौंबाट निर्णय भयो, तर त्यही निर्णयले बकैया बस्तीको भाग्य बदल्न थालेको छ। स्थानीय रामलाल माझीको अनुहारमा सन्तोष छ। उनी भन्छिन्, “सरकारलाई धन्नबाद दिनु पर्दैन, काम देखाएर धन्यवाद दिइसकिएको छ। हामी अब सरकारी घरमा बस्छौं भनेर आफैँलाई गर्व लाग्छ।”
तर यो यात्रा सहज थिएन। कतिपयले घर बनाउन श्रमदान गर्नुप¥यो, केहीले सामान ओसारपसारमा सघाए। कोहीले त आफ्ना छोराछोरीको पढाइ रोकेर श्रम दिनु प¥यो। तर उनीहरूका लागि त्यो श्रम घर निर्माण मात्र होइन, भविष्य निर्माण थियो।
घरले दिएको नयाँ जीवन
घर त बने, तर त्यसले केवल ओत होइन, समाजमा गरिमा पनि दियो। पहिले जसले हेप्थे, हेर्दैनन् अब। पहिले जसले आफ्नो ठाउँमा बस्न नदिने गर्थे, अब बस्ती नै बनाइएको छ उनीहरूका लागि। “पहिला हामीलाई गरिब भन्थे, हेप्थे, अब त माझी पनि घरवाला बनिसके, अनुकुमार माझी हाँस्दै भन्छन्।
उनका छोराछोरीहरू अब किताब पढ्छन्, बत्ती भएको कोठामा। उनीहरूलाई बर्खाको त्रास छैन, झ्याल टाल्नुपर्ने बाध्यता छैन। उनकी श्रीमती भन्छिन्, “छोराले लेख्दा पहिले पानी चुहिन्थ्यो, अब त आरामसँग लेख्छ। हाम्रै कोठामा सुत्छ।”
घर, सौचालय, र स्वाभिमान
यस कार्यक्रममा घरसँगै सौचालय निर्माण पनि गरिएको छ। यो आफैँमा महत्वपूर्ण परिवर्तन हो। खुला दिसामुक्त अभियानबाट वञ्चित समुदायका लागि यो प्रयास केवल भौतिक निर्माण होइन, स्वास्थ्य र मर्यादाको प्रतिक हो।
पहिले महिला र बालिकाहरू रातको अँध्यारो पर्खन्थे। अहिले उनीहरू भन्छन्, “घरमै सौचालय छ, यसले हामीलाई सुरक्षाको अनुभूति दिएको छ।”
सहरी विकास तथा भवन कार्यालयका प्रमुख सुबोध अधिकारी भन्छन्, “हामीले यो कार्यक्रम केवल घर बनाउने हैन, समाज बनाउने प्रयासस्वरूप अघि बढाएका हौं।”
समन्वय र संवेदनशीलताको मिलन
यो कार्यक्रम सफल हुनुमा बागमती प्रदेश सरकार, स्थानीय तह, प्राविधिक कार्यालय, र समुदायबीचको सहकार्यलाई नकार्न सकिँदैन। वडाध्यक्षहरू, सामाजिक अभियन्ताहरू र स्वयं समुदायले पनि यो कार्यक्रमलाई आफनो भन्न थालेका छन्।
कार्यक्रम सुरु हुँदा केही अविश्वास थियो। “सरकारले नि घर बनाइदिन्छ?” भन्ने प्रश्न थियो। तर जब पहिलो घर बन्यो, समुदायले आफैँ हातेमालो गरेर बाँकी घरहरू निर्माण गरे। यसले राज्य र नागरिकबीचको सम्बन्ध झन प्रगाढ बनायो।
भोलिका सपना
अब माझी समुदायका बालबालिकाहरू अस्पताल जान सक्छन्, स्कुल पढ्न सक्छन्। धेरैले भनेका छन्—“अब त म शिक्षक बन्न चाहन्छु,” “डाक्टर बन्ने हो,” “गाउँमै विद्यालय खोल्नुपर्छ।” यस्ता सपनाहरू पहिले कल्पना मात्र थिए, अब ती सपना बिस्तारै सम्भव हुँदै गएका छन्।
घर त बन्यो, अब रोजगारी, शिक्षा र स्वास्थ्यतर्फ पनि ध्यान पुर्याउनुपर्ने माग समुदायले उठाउन थालेको छ। यो जनचेतनाको बृद्धि हो, आत्मविश्वासको प्रतीक हो।
उनीहरूको आँखाबाट हेर्दा…
के तपाईँले कहिल्यै आफ्नो छोरीलाई पहिलो पटक आफ्नै कोठामा सुत्दा देख्नुभएको छ? उनीहरूको अनुहारमा जुन विश्वास झल्किन्छ, त्यो हजार शब्दले व्यक्त गर्न सकिँदैन। घर केवल छानो हैन, त्यो सुरक्षित भविष्यको ढोका हो। बकैया गाउँपालिकाका माझीहरूले अहिले त्यो ढोका खोलेका छन्।
यो केवल घर होइन, इतिहास हो
माझी समुदायका लागि यो घर कुनै सामान्य सरकारी परियोजना होइन। यो त इतिहास हो—तीन पुस्तासम्म ओतविहीन भएर जिउँदाको कथा बदलिएको इतिहास। एक राष्ट्रले आफ्नो नागरिकप्रतिको उत्तरदायित्व बुझेको क्षणको प्रमाण।
यस एकीकृत वस्ती आवास कार्यक्रमले देखाएको छ—यदि राजनीतिक इच्छा शक्ति, प्रशासनिक समर्पण, र समुदायको सहभागिता मिल्यो भने, परिवर्तन सम्भव छ। यो उदाहरण अरू क्षेत्रमा पनि फैलनु पर्छ। घर विहीनका आँखामा आँशु ल्याउने योजना होइन, तिनीहरूका आँखामा भरोसा भरिने योजना बनाउन सकिन्छ। बकैया गाउँपालिकाको माझी बस्तीमा बिहान उज्यालो मात्र हैन, जीवनको नयाँ सम्भावनाको किरण फाटेको छ ।