गाईपालनले परिवर्तनको बाटो समातेको मक्रान्चुली, सरिना तिमल्सीनाः गाउँमै उभिएको एक व्यावसायिक सफलता

मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ मक्रान्चुली। अघिल्लो दशकसम्म सामान्य पहाडी बस्तीका रूपमा परिचित यो गाउँ आज दुग्ध उत्पादनका लागि न केवल जिल्ला, प्रदेशभित्र चर्चित छ, देशैभर उदाहरणीय बन्दै गएको छ।
सप्ताहन्तको बिहान मक्रान्चुली पुग्ने जो–कोहीलाई गाउँको दृश्य फरक लाग्न सक्छ। घर–घरबाट उन्नत जातका गाईहरूको मुधो आवाज आइरहेको हुन्छ, गोठमा किसान व्यस्त छन्, सडक किनारमा दूध बोकेर हिँडिरहेका महिला र युवा देखिन्छन्, र बिस्कुनमा बसिरहेका सहकारीका कर्मचारी दिनको पहिलो शिफ्टको तयारीमा।
यो दृश्य केवल दृष्यात्मक परिवर्तन होइन। यो गाउँको आर्थिक, सामाजिक र पेशागत परिवर्तनको संकेत हो।
सरिना तिमल्सीना ः गाउँमै उभिएको एक व्यावसायिक सफलता
यही गाउँकी हुन् – सरिना तिमल्सीना। तीनवटा गोठमा उन्नत लस्करी गाईहरू, छुट्टै खोरमा स्याहार गरिएका बाछाबाछ्छीहरू, दूध निकाल्ने मेशिन, परिष्कृत दानापानी, अनि बिहानको दैनिक अनुशासन।
उहाँ दैनिक ३ सय लिटर दूध उत्पादन गरेर मनकामना दुग्ध सहकारीलाई बिक्री गर्दै आउनुभएको छ। आम्दानी ? उहाँ आफै भन्नुहुन्छ, “एक महिनामा कहिले ५ लाख, कहिले ६ लाख रुपैयाँ जति पनि हुन्छ। तर त्यसको आधा भन्दा बढी फेरि गाईहरूको खोर, घाँस, आहार, औषधि, कामदारको पारिश्रमिकमै जान्छ।”
यस्तो व्यवस्थापन गर्नु कुनै सामान्य कुरा होइन। गाईपालनमा सम्पूर्ण समय दिनुपर्ने हुन्छ, नियमित निगरानी, पोषणको सन्तुलन, बाछाबाछीको पालन, दूध प्रशोधन र बजार व्यवस्थापन सबै सँगसँगै चलाउनुपर्ने अवस्था छ।
तर सरिना यसलाई व्यावसायिक रूपमा हेर्नुहुन्छ। उहाँको साथमा परिवारका सदस्यहरू त छन् नै, तर थप तीन जना स्थानीय युवा पनि पूर्णकालीन रूपमा संलग्न छन्। सरिनाको अनुभव, लगन र समर्पण मक्रान्चुलीका धेरै महिलाहरूका लागि प्रेरणाको स्रोत बनिसकेको छ।
मनकामना दुग्ध सहकारी ः मक्रान्चुलीको आत्मनिर्भरताको मेरुदण्ड
गाउँको समृद्धिमा सिङ्गो आधार बनेको छ – मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड। करिब एक दशक अगाडि केही किसानले सुरुवात गरेको यो संस्था अहिले सयौं किसानको दैनिकीसँग गाँसिएको छ।
बिहानको झिसमिसेमा सहकारीको मूल गेटबाट प्रवेश गर्दा भित्रतिर विभिन्न काममा व्यस्त कर्मचारीहरू देखिन्छन्। कोही दूध तौल्ने कक्षमा, कोही प्रशोधन उद्योगमा, अनि कोही व्यवस्थापन कार्यालयमा।
सहकारीले दूध मात्र संकलन गर्दैन, यसले पूर्ण प्रशोधन प्रणालीमार्फत दही, घिउ, पनिर, छुर्पीजस्ता सामग्री उत्पादन र बिक्री समेत गर्छ।
उद्योग भवनको पछाडिपट्टि रहेको तल्लो तलामा भट्टी बालेर आवश्यक तापक्रम व्यवस्थापन गर्ने काम हुँदै आएको छ। यस्ता प्रविधियुक्त कामहरू ग्रामीण भेगका लागि पहिले कल्पनाभन्दा परका कुरा थिए।
राजेन्द्र दाहाल ः सहकारीका बलिया सदस्य
सरिनाका अलावा राजेन्द्र दाहाल पनि मक्रान्चुलीकै व्यावसायिक गाईपालक हुनुहुन्छ। उहाँले सुरुमा दुई गाईबाट सुरुवात गर्नुभएको थियो। अहिले उहाँको गोठमा करिब १० वटा उन्नत गाई छन्।
“मैले सुरु गर्दा धेरैले हाँसे, गाउँमै बसेर के हुन्छ भनेर सोधे,” राजेन्द्र सुनाउनुहुन्छ, “तर अहिले उनीहरू आफैँ आउँछन्, ‘सीप सिकाइदे’ भनेर।”
राजेन्द्र अहिले सहकारीको माध्यमबाट न केवल दूध बेच्न सफल हुनुहुन्छ, सहकारीले प्रदान गरेको प्रशिक्षण, अनुदान, प्रविधि र बजार सञ्जालले उहाँको व्यवसायलाई टेवा पु¥याएको छ।
किसानको गोठदेखि सहकारीसम्म ः रोजगारी र समृद्धिको सञ्जाल
मनकामना सहकारीको सफलताको मूल कारण भनेकै गाउँमै रोजगारीको सिर्जना हो। दुध बोक्न, प्रशोधन गर्न, बजारसम्म पुर्याउन, गाई र बाछाको स्वास्थ्य जाँच गर्न, पसल सञ्चालन गर्न—हरेक खण्डमा स्थानीय जनशक्तिको प्रयोग भएको छ।
यसले गर्दा अहिले मक्रान्चुलीका धेरै युवाले विदेश गएका साथीहरूलाई फर्केर हेर्न थालेका छन्। देशमै बसेर पनि मेहनत, लगन र योजना भए राम्रो जीवन बाँच्न सकिन्छ भन्ने सन्देश गाउँलेहरूले पाएका छन्।
सहकारीको व्यापारिक पक्ष ः सेवा मात्रै होइन, मुनाफा पनि
सहकारीले हाल १० लाख लिटरभन्दा बढी दूध वार्षिक रूपमा संकलन गर्छ। यसबाट प्रशोधित दूध तथा दुग्धजन्य उत्पादनहरू बजारमा पठाइन्छ।
तीन वटा सटर–पसलमार्फत किसानलाई आवश्यक सामग्रीहरू—पशु आहार, औषधि, उपकरण, कृत्रिम गर्भाधान सेवा आदि सहज रूपमा उपलब्ध गराइन्छ।
सहकारीको आफ्नै ब्राण्डिङ गरिएको उत्पादन बजारमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध छ, जसले स्थानीय उत्पादनको पहिचान निर्माण गरिरहेको छ।
सामाजिक परिवर्तन ः महिलाको सहभागिता र नेतृत्व
गाईपालन केवल पुरुषहरूको जिम्मेवारी होइन भन्ने कुरा मक्रान्चुलीका महिलाहरूले प्रमाणित गरेका छन्। सरिना तिमल्सीनाजस्ता महिलाहरू घर, गोठ र बजार तीनै तहमा सक्रिय छन्।
सहकारी सञ्चालक समितिमा समेत महिलाहरूको उपस्थिती उल्लेखनीय छ। उनीहरूले प्रशिक्षण, सहुलियत ऋण, स्वास्थ्य सेवा आदि कार्यक्रममार्फत समुदायमा परिवर्तन ल्याइरहेका छन्।
भविष्यतर्फ दृष्टि ः दीगो विकासको आवश्यकता
हाल देखिएको उत्साहजनक प्रगति दीगो बनाइराख्नका लागि केही चुनौतीहरू समाधान गर्नुपर्ने देखिन्छ। दुग्ध प्रशोधन उद्योगको प्रविधि अझ परिष्कृत गर्नुपर्ने आवश्यकता छ। दूध संकलनको शृङ्खला व्यवस्थित गर्न थप चिस्यान केन्द्रको स्थापना आवश्यक छ।
दुग्ध उत्पादनको स्तर मापन, मूल्यवृद्धि नीति, बीमा सेवा जस्ता विषय अझै स्पष्ट छैनन्। सहकारीले अन्तर जिल्ला बजारमा पहुँच बढाउने हो भने नयाँ सञ्जाल, ब्राण्डिंग रणनीति र अनलाइन मार्केटिङ जस्ता विधिहरू अपनाउनुपर्छ।
गाउँलेहरूको श्रमले सम्भव बनाएको परिकल्पना
मक्रान्चुलीको सफलताको केन्द्रमा दुई पक्ष छन् – कृषकको श्रम र सहकारीको व्यवस्थापन। यी दुईको सन्तुलनले गाउँको आत्मनिर्भरताको मार्ग निर्माण गरेको छ।
सरिना तिमल्सीना, राजेन्द्र दाहाल जस्ता पात्रहरू, मनकामना दुग्ध सहकारी जस्तो संस्था र मक्रान्चुली गाउँको समष्टिगत प्रयासले देखाएको यो मोडल नेपालका अन्य ग्रामीण भेगहरूका लागि अनुकरणीय बन्न सक्छ।
गाउँमै बसेर, स्रोतसाधनको सदुपयोग गर्दै, वैज्ञानिक र समुचित व्यवस्थापनसहित गाईपालन गरिने हो भने युवाहरूको रोजगारी, गाउँको समृद्धि र देशको आर्थिक विकासमा यस्तो प्रयासले ठूलो भूमिका खेल्नेछ। मक्रान्चुली आज गाईपालनको मात्र कथा होइन, परिवर्तनको वास्तविक दस्तावेज बनिरहेको छ।