हेटौंडामा सहरी विकास तथा भवन कार्यालयको आफ्नै ५ करोड ५६ लाख लागतमा नयाँ भवन, आउँदो आर्थिक वर्षबाट सेवा दिन तयारी

हेटौंडा । २०७२ सालको बैशाख १२ गते, नेपालले इतिहासकै एक विनाशकारी भूकम्पको सामना ग¥यो। भूकम्पले धेरैको जीवन अस्तव्यस्त बनायो, घरबार लुटायो, संरचनाहरू ध्वस्त पारे। यसैबीचमा सरकारी संरचनाहरू पनि ठूला क्षतिको चपेटामा परे। मकवानपुरको हेटौंडामा अवस्थित सहरी विकास तथा भवन कार्यालय हेटौंडा पनि त्यही विपत्तिको सिकार बन्यो।
तत्कालीन समयमा भवन प्रयोग गर्न अयोग्य बनेपनि त्यही बेला देखि अहिले सम्म पनि यसै भवनबाट निकै कठिनका साथ सेवा दिइरहेको थियो । यो कार्यालयले वर्षौंसम्म अस्थायी रूपमा भाडाको घरमा सेवा दिँदै आइरहेको थियो। भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी पाएको कार्यालय स्वयं जिर्ण भवनमा काम गर्न विवश थियो।
तर, अब त्यो अवस्था परिवर्तन हुँदैछ । बागमती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको मातहत रहेको सहरी विकास तथा भवन कार्यालय हेटौंडाले ५ करोड ५६ लाख ४४ हजार रुपैयाँको लागतमा आफ्नै नयाँ भवन निर्माण गरेको छ, जुन अबको आर्थिक वर्ष २०८२÷८३ बाट औपचारिक रूपमा प्रयोगमा ल्याइने तयारी गरिएको छ ।
२०७२ सालको महाभूकम्पले देशभर हजारौं संरचनाहरू ध्वस्त बनायो । हेटौंडाको यो कार्यालय भवन पनि त्यही सूचीमा पर्यो । सरकारी भवन क्षतिग्रस्त हुँदा न सेवा सहज सञ्चालन गर्न सकिन्थ्यो, न त कर्मचारीलाई काम गर्न सहज वातावरण थियो । सुरक्षित संरचना अभावमा कार्यालयबाट तत्काल त्यतीबेला सेवा दिन असहज भएपनि केही समेयपछी निरन्तर रुपमा त्यही भवनबाट सेवा दिइरहेको यहाँका कर्मचारीहरु बताउँछन् ।
वर्षौंसम्म कार्यालयले निर्माण, अनुमतिपत्र, प्राविधिक निरीक्षण, भवन मर्मत, शहरी योजना निर्माण लगायतका सेवाहरू यही भवनबाट दिँदै आएको थियो। यो बीचमा कार्यालयले मकवानपुर र चितवन जिल्लाका कैयौं सरकारी तथा सार्वजनिक संरचनाहरू निर्माण तथा मर्मत गर्यो। तर, आफैं बस्ने भवनको अभाव भने समाधान हुन सकेको थिएन ।
अब भने सहरी विकास तथा भवन कार्यालय हेटौंडा जिर्ण भवनबाट मुक्त हुँदैछ । प्रदेश सरकारको लगानीमा तयार भएको साढे तीन तले आधुनिक भवनमा अब सेवा सुरु गर्न लागिएको छ । कार्यालयका प्रमुख सुबोध अधिकारीका अनुसार भवन निर्माण अन्तिम चरणमा पुगेको छ र नयाँ आर्थिक वर्षदेखि भवन सञ्चालनमा आउने तयारी भइरहेको छ।
“हामी लामो समयदेखि जिर्ण भवनबाट सेवा दिइरहेका थियौं। आफैंले निर्माणको काम गर्ने तर आफ्नै भवन नभएर असहज अवस्था थियो,” उनले भने, “अब आफ्नै भवन बनेपछि कार्यालयको सेवा प्रवाहमा समेत गुणस्तर र प्रभावकारिता थपिनेछ ।”
२०८० साल फागुन १७ गते बीआईएस जोशी जेभी नामक निर्माण कम्पनीसँग भवन निर्माणका लागि सम्झौता गरिएको थियो । सम्झौताअनुसार आगामी भदौ १६ गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कार्यालयले निर्माण कार्यलाई निगरानी गर्दै गुणस्तर मापदण्ड अनुसार काम सम्पन्न गराएको छ ।कारी सेवा सञ्चालनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार व्यवस्था गरिएको छ ।नयाँ भवन साढे तीन तल्लाको छ । भवनमा सेवा दिने शाखाहरू सुव्यवस्थित रूपमा राखिएका छन् ।
साढे तीन तलाको भवनमा पहिलो तलामा बैठक कक्ष, स्टोर रुम, लेखा साखा, भान्सा, प्रशासन कक्ष रहने छ । त्यसैगरी दोस्रो तलामा कार्यालय प्रमुखको कक्ष, बैठक कक्ष, इन्जिनियरहरुको तीन वटा कोठा, एटेज सहितको सौचालय र अरु महिला पूरुषको सौचालय रहने सहरी विकास तथा भवन कार्यालय हेटौंडाका इन्जिनियर तथा सूचना अधिकारी अंकित श्रेष्ठले बताए । यसैगरी तेस्रो तलामा पाँच वटा कोठाहरु रहेको छ । सबै भन्दा माथी स्टोर कोठा रहेको छ ।
भुकम्पका कारण क्षति भएको कार्यालयमा बसेको र अब भने आउँदो आर्थिक वर्षमा आफ्नै भवनमा सर्ने योजना रहेको कार्यालयका सब इन्जिनियर कृष्ण साहले बताए ।
यस किसिमको संरचनाले कर्मचारीको कार्यसम्पादनलाई सहज बनाउने विश्वास गरिएको छ । इन्जिनियर तथा सूचना अधिकारी अंकित श्रेष्ठका अनुसार सबै आवश्यक कोठाहरू सुसज्जित छन् र भवन सेवामूलक कार्यालयको आवश्यकता अनुसार डिजाइन गरिएको छ ।
दशकभन्दा लामो समयसम्म अस्थायी र जिर्ण भवनमा सेवा दिँदै आएका कर्मचारीहरू नयाँ भवनमा सर्न पाउँदा उत्साहित छन् । कार्यालयका सब इन्जिनियर कृष्ण साह भन्छन्, “भूकम्पपछि जोखिमपूर्ण स्थानमा काम गरिरहनुपरेको थियो। अब नयाँ भवनमा सर्दै गर्दा काम गर्ने वातावरण सहज र उत्साहजनक भएको छ।”
उनका अनुसार भवन सरेपछि सेवाग्राहीलाई पनि सेवा लिन सजिलो हुनेछ, किनभने भवन खुल्ला स्थानमा छ, पहुँच सहज छ र सबै सेवा एउटै छानामुनि केन्द्रित हुनेछ ।
सहरी विकास तथा भवन कार्यालय हेटौंडाले आफ्नो नयाँ भवन निर्माण गर्नु केवल एउटा भौतिक संरचना बनाउनु मात्र होइन, यो सरकारी संयन्त्रको उदाहरणीय अनुकरणीयता पनि हो। अरू कार्यालयहरूलाई सेवा दिनेलाई आफैं सक्षम, व्यवस्थित र सुरक्षित हुनु आवश्यक हुन्छ । हेटौंडाको यो नयाँ भवनले त्यस दिशातर्फको उदाहरण प्रस्तुत गरेको छ । भूकम्पपछिको अवस्था, अस्थायी बसाइको पीडा, कर्मचारीको धैर्यता र प्रदेश सरकारको नीतिगत प्राथमिकता—यी सबै पक्षहरूको समिश्रणले आज यो भवनको आकार लिएको हो ।
भवन मात्र बनाउनु लक्ष्य होइन । सहरी विकास तथा भवन कार्यालय अब सेवाको गुणस्तर सुधार, प्रविधिको प्रयोग, डिजिटल सेवा विस्तार र दिगो संरचना विकासतर्फ केन्द्रित हुने योजनामा छ । कार्यालय प्रमुख सुबोध अधिकारीका अनुसार आगामी दिनमा शहरी पूर्वाधारको डिजिटाइजेशन, नगर योजनामा सहभागी निर्माण, स्मार्ट भवन प्रविधिको परीक्षण जस्ता योजना अघि सारिँदै छन् ।
“हामीले भौतिक पूर्वाधारलाई मात्रै होइन, योजनामा समावेशिता र वातावरणीय प्रभाव पनि ध्यान दिनुपर्ने भएको छ,” उनले भने, “नयाँ भवन हाम्रो आन्तरिक सुधारको प्रतीक हो।”
हेटौंडाको सहरी विकास तथा भवन कार्यालयको यो नयाँ भवन केवल एउटा कार्यालयको पुनस्र्थापना मात्र होइन, यो शहरी पुनर्निर्माणको एउटा प्रेरणादायी गाथा हो। भूकम्पले ध्वस्त बनाएको संरचना पुनः निर्माण गर्दै कर्मचारी र सेवाग्राही दुवैलाई नयाँ ऊर्जा दिने यो कदमले प्रदेशस्तरमा सरकारी सेवा प्रवाहको स्तर पनि उकास्ने अपेक्षा गरिएको छ ।
अबको केही हप्तामै कार्यालय नयाँ भवनमा स्थानान्तरण हुनेछ । जहाँबाट पूर्वाधार विकासको योजनाहरू निर्माण हुनेछन्, सरकारी भवन निर्माणको मापदण्ड तय हुनेछन्, र प्रदेशका अन्य शहरहरूलाई समुचित शहरी रूप दिने कार्य अगाडि बढ्नेछ ।
साढे दुई तले, पाँच कोठाको सुविधा सम्पन्न क्वाटर तयार
बागमती प्रदेश अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय, हेटौंडाले आफ्नै कार्यालय भवनसँगै पाँच कोठाको साढे दुई तले आवास क्वाटर पनि निर्माण गरेको छ । लामो समयदेखि आवास अभावमा रहेका कर्मचारीका लागि कार्यस्थलनजिकै क्वाटरको व्यवस्था गरिँदा कार्यसम्पादनमा सहजता र कर्मचारी सन्तुष्टिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
भवनसँगै क्वाटर निर्माण गर्नु सहरी विकास तथा भवन कार्यालयको रणनीतिक योजना अन्तर्गत परेको हो । कार्यालयका प्रमुख सुबोध अधिकारीका अनुसार, “कार्यालय भवनमात्र होइन, कर्मचारीलाई समेत काम गर्ने ठाउँसँगै बस्न सकिने वातावरण आवश्यक थियो । त्यसैले, क्वाटरसहितको योजना अघि बढाइएको हो।”
साढे दुई तले यो क्वाटरमा कुल ५ वटा कोठाहरू रहेका छन्। क्वाटरमा परिवारसहित बस्न मिल्ने व्यवस्था गरिएको छ, जसमा आवश्यक शौचालय, भान्सा, बाथरूमलगायत आधारभूत पूर्वाधार समावेश गरिएको छ । भवनजस्तै क्वाटर पनि भूकम्प प्रतिरोधी संरचनामा निर्माण गरिएको छ ।
कार्यलयकै कम्पाउण्डभित्र निर्मित क्वाटर भवनले सेवामा खटिने प्राविधिक कर्मचारी, इन्जिनियर वा अन्य प्रशासनिक कर्मचारीहरूलाई बसोबासका लागि सहजता दिनेछ । क्वाटरको नजिकै कार्यक्षेत्र हुँदा आकस्मिक कार्य, निरीक्षण, फाइलिङ वा ढिलोसम्म हुने बैठकहरूमा सहज पहुँच कायम हुनेछ ।
सूचना अधिकारी तथा इन्जिनियर अंकित श्रेष्ठका अनुसार क्वाटर पनि कार्यालय भवनकै संरचना अनुरूप डिजाइन गरिएको हो। “क्वाटरमा पर्याप्त प्रकाश, हावापानी, स्वच्छता र सुरक्षाको विशेष ध्यान दिइएको छ,” उनले भने।
सरकारी कार्यालयमा आवास सुविधाको प्रबन्ध नहुनु कर्मचारीका लागि चुनौतीपूर्ण विषय हो। खासगरी प्राविधिक कर्मचारी, जो निर्माण स्थल र कार्यालय दुवैमा निरन्तर सम्पर्कमा रहनुपर्ने हुन्छ, उनीहरूका लागि कार्यस्थल नजिकै आवास हुनु आवश्यक मानिन्छ । हेटौंडाको यो क्वाटरले त्यही आवश्यकता पूरा गरेको छ ।
कार्यालयका सब इन्जिनियर कृष्ण साह भन्छन्, “अब कार्यालयको भवन र क्वाटर एउटै स्थानमा भएकाले काम गर्ने र बस्ने दुवै पक्ष सहज भयो। यसले कर्मचारीको कार्यक्षमता बढाउने विश्वास लिएका छौं।”