घर मात्र होइन, सम्मान पनि पाएका छन् बोटेः मनहरी र माडीका बोटे बस्तीमा एकीकृत वस्ती आवास कार्यक्रमको उज्यालो

जनपत्र
४ असार २०८२, बुधबार ०८:००

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ बोटे बस्तीमा रहेकी माइलीमायाँ बोटेले सरकारी लगानीमा घर बनाएर बसौला भन्ने कल्पना कहिले पनि गरेकी थिइनन् । सधै बाँसले बारेको र खरले छाएको घरमा बस्दै आएकी माइलीमायाँका परिवार अहिले नयाँ घरमा बस्न पाएका छन् ।

बषौ देखिको गरिवी, ज्याला गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने बाध्यता भोग्दे आएकी माइलिमायाँका लागि नयाँ जस्ताले छाएको सौचालय सहितको घर निर्माण गरेर बस्ने भन्ने कल्पना पनि थिएन । तर, यस वर्षबाट नयाँ घरमा सरेपछी उनी दंङ्ग छिन ।

उनी जस्तै बोटे बस्तीकै चन्द्र बहादुर बोट पनि नयाँ घरमा सरेका छन् । वषौ अघिदखि नयाँ घर कसरी बनाउ सकिन्छ भनेर कल्पना समेत नगरेका उनी पनि अहिले दुइ कोठाको घर बनाएर बसेका छन् । सबै परिवार यसमानै आश्रीत रहेका छन् ।

उनीहरु जस्तै मनहरी–७ का कृष्ण बहादुर बोट, जस बहादुर बोट, कान्छा बोट, बुद्धी बहादुर बोटले आर्थिक वर्ष २०७९–०८० मा घर निर्माण सुरु गरेर अहिले सरकारी लगानीमा नयाँ घर बनाइ सकेर चालु आर्थिक वर्षमा आफ्नो नयाँ घरमा बस्न थालेका छन् । यसैगरी मनहरी गाउँपालिका वडा नम्बर–८ का फुलकुमारी बोट र शिब बोटले पनि नयाँ घर बनाइसकेर झुप्रो घरबाट सरेका छन् ।

मकवानपुरको मनहरीका बोट परिवार मात्र होइन । चितवन जिल्लाको माडी नगरपालिका वडा नम्बर–१ का सन्तराम बोट, वडा नम्बर–२ का कमानसिंङ बोट, माडी नगरपालिका वडा नम्बर–४ का राम किशोर बोट, वडा नम्बर–५ का रुपमा बोट, वडा नम्बर–७ की अनिसा नेपाली बोट, वडा नम्बर–८ का सरिता बोट, राममायाँ बोटले सरकारी लगानीमा नयाँ घर निर्माण गरेर चालु आर्थिक वर्षमा बस्न थालेका हुन् । यसैगर िचितवनको कालिका नगरपालिका वडा नम्बर–५ मा जेलु बोट, छन्नु बोट, प्रकाश बोट, किशोर बोटले पनि नयाँ घर निर्माण गरेर बस्न थालेका हुन् ।

बागमती प्रदेश सरकार अन्तरगतको सहरी विकास तथा भवन कार्यालय हेटौंडाले एकिकृत वस्ती आवास कार्यक्रम अन्तरगत बोटे परिवारका लागि भवन निर्माण गरिदिएको हो ।

सहरी विकास तथा भवन कार्यालय हेटौंडाले तीन वर्ष अगाडी देखि सुरु गरेको चेपाङ, वनकरिया, बोटे र माझि एकिकृत वस्ती आवास कार्यक्रम अन्तरगत मकवानपुर र चितवनका बोटे परिवार सौचालय सहितको नयाँ घरमा बस्न पाएका छन् । यस कार्यक्रमबाट लगानी गरेर निर्माण गरिएको घरमा बस्न पाएकोमा उनी निकै खुसी पनि छन् ।

प्रतिघर निर्माण गर्नका लागि सहरी विकास तथा भवन कार्यालय मकवानपुरले चार लाख रुपैयाँ सहयोग गरेको छ । त्यस रकमबाट सौचालय सहितको घर निर्माण गरेर बितेको आर्थिक वर्षमा र चालु आर्थिक वर्षमा दर्जनौ बोट परिवारले आश्रय पाएको सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख सुबोध अधिकारीले बताए ।
“हिजोसम्म खरले छाएको घर थियो, पानी प¥यो कि बालबालिकालाई कोल्टे सुताउनु पथ्र्यो“, मनहरी गाउँपालिका–७ बोटे बस्तीकी मनहरी–८ की फुलमायाँ बोटे भन्छिन्, “अहिले हामी पनि अरू जस्तै राम्रो घरमा बस्न पाएका छौं ।“

यसरी मुखमा उत्साह, आँखामा आशा र हृदयमा सम्मान बोकेर बोटे समुदायका दर्जनौं परिवारले पहिलो पटक ’घर’ भन्न मिल्ने सुरक्षित र संरक्षित भवन पाएको सहरी विकास तथा भवन कार्यालय हेटौंडाका सामाजिक परिचालक सुलर्शन प्रसाद उपाध्यायले बताए । यो सम्भव भएको छ, शहरी विकास तथा भवन कार्यालय हेटौंडाद्वारा सञ्चालित चेपाङ, वनकरिया, बोटे र माझि एकीकृत वस्ती आवास कार्यक्रमबाट ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ र चितवनको माडी नगरपालिकाका विभिन्न वडामा छरिएर बस्दै आएका बोटे समुदायका परिवारहरूलाई समेटेर, सरकारले दीर्घकालीन आवास समाधानको सन्देश दिन खोजेको हो — जुन प्रयास अब वास्तविक सफलताको दिशामा अघि बढेको देखिन्छ ।

हिजोका कठिन दिनहरू, आजका उज्याला घरहरू

बोटे समुदाय परम्परागत रूपमा नदी किनारमा बसोबास गर्ने, माछा मार्ने र जंगलमा निर्भर हुने आदिवासी जनजाति हुन् । उनीहरूको जीवनशैलीमा प्राकृतिक स्रोतमा निर्भरता प्रमुख छ । तर जलवायु परिवर्तन, नदी कटान, विकासका नाममा विस्थापन र शहरीकरणका कारण बोटेहरूको परम्परागत जीवन खतरामा पर्दै आएको छ ।

“पहिले हामी बासको कप्टेराले बारेर बनाएको घरमा बस्थ्यौं,” चितवनको माडी नगरपालिका–८ का सरिता बोटे सम्झन्छन्, “बारम्बार नदीले बगायो, कहिले आँधीले उडायो, त केही बेला त घर नभएर आफन्तकहाँ सुत्न जानुपथ्र्यो ।”

यस्तो पृष्ठभूमिमा जब सरकारले प्रत्येक घरको लागि चार लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउँदै जस्ताले छाएको, दुई कोठा र सौचालय सहितको पक्की घर निर्माण गरिदियो, तब बोटेहरूका लागि त्यो आश्चर्य भन्दा कम थिएन ।

’घर’ सँगै बाँचेको स्वाभिमान

अबका घरहरू मात्र सुरक्षित छाना र इँटाका पर्खाल नभएर, स्वाभिमानका प्रतीक बनिसकेका छन् । मनहरी–७ का कृष्ण बहादुर बोट भन्छन्, “पहिले हाम्रो घर हेरेर मान्छे हेप्थे, अब हामीलाई पनि मान्छेले सम्मान दिन थालेका छन् ।”

छोराछोरी विद्यालय गएपछि फर्किएर ‘घर’ भन्ने ठाउँमा आउँदा उनीहरूको आँखामा उत्साह देखिन्छ । बोटे बस्तीका आमा समूहहरूले भने, ‘अब त हामी पनि पाहुना बोलाउन सक्ने भयौं’ भनेर हाँस्दै कुरा गर्छन् ।

कसरी भयो सम्भव ?

यो आयोजनाको कार्यान्वयनमा शहरी विकास तथा भवन कार्यालय हेटौंडाको प्रमुख भूमिका छ । कार्यालयका प्रमुख सुबोध अधिकारीका अनुसार, “सरकारको नीति अनुसार हामीले आर्थिक सहयोग मात्र होइन, घर निर्माणको प्राविधिक सुपरिवेक्षण, सामग्रीको गुनस्तरीय व्यवस्थापन, र निर्माणस्थलमा प्राविधिक सहयोग समेत पु¥यायौं ।”
कुल लागतमा घर निर्माण लागत मात्र होइन, जलनिकास, बाटो पहुँच, खानेपानी, शौचालय जस्ता आधारभूत पूर्वाधार समेत समावेश गरिएको छ ।

घर पाउनु त सुरुवात मात्रै हो

तर, शहरी विकास तथा भवन कार्यालयका सामाजिक परिचालक खेमबहादुर चेपाङको भनाइमा, एकीकृत वस्ती आवास कार्यक्रमको उद्देश्य घर निर्माणमा मात्र सीमित छैन । यो कार्यक्रमले बस्तीको सामाजिक एकता, वातावरणीय अनुकूलता र आर्थिक आत्मनिर्भरता समेत सुनिश्चित गर्न खोजेको छ ।

वडास्तरमा भएका सहकार्य, स्थानीय उपभोक्ता समिति गठन, बोटे समुदायलाई प्राथमिकतामा राखिएको कार्यशैलीले यो अभियानलाई अझै प्रभावकारी बनाएको छ ।

बोटे समुदायका दृष्टान्तहरू

मनहरी–८ का शिब बोटले घरभित्र पहिलो पटक चुलो राखेका छन् जसमा धुवाँ बाहिर निस्किन्छ । “पहिला छानोमा धुवाँ अड्किन्थ्यो, छोरा छोरी सास फेर्न सक्दिनथिन्, अहिले घर सुरक्षित छ”, उनी बताउँछिन् । यद्यपि, सबै बोटे परिवारले अझैसम्म घर पाएका छैनन् । बस्तीका केही टोलहरू अझै असुरक्षित अवस्थामा छन् ।
शहरी विकास तथा भवन कार्यालयका अनुसार, यो कार्यक्रम चालु आर्थिक वर्षमा सकिने र आउँदा आथिृक वर्षमा पनि आउन सक्छ ।

सरकारको एउटा रणनीतिक कार्यक्रमले बोटे समुदायको जीवनमा सकारात्मक परिवर्तन ल्याएको स्पष्ट देखिन्छ । उनीहरू भन्छन् – “अब हाम्रो छोरीले भन्न सक्छे – म पनि सुन्दर घरकी हुँ ।” एकीकृत वस्ती आवास कार्यक्रम केवल भवन निर्माण होइन, यो त मानवता, समावेशीता र गरिमा निर्माणको कार्यक्रम हो भन्ने कुरा बोटे बस्तीका अनुहारहरूले स्पष्ट पारिरहेका छन् ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*