मकवानपुरको सिमखोलामा क्षतिग्रस्त पुलमाथि ६० मिटर लामो बेलिब्रिज राखिँदै

जनपत्र
२६ जेष्ठ २०८२, आईतवार ०६:३६

हेटौंडा/ गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले क्षति पुर्‍याएको मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनिको सिमखोलामा रहेको पुलमाथि अस्थायी बेलिब्रिज राखिने भएको छ।

बाढीले पुलका दुवै छेउका पहुँचमार्ग बगाएपछि बेलिब्रिज राख्ने निर्णय गरिएको हो। यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नभिन सिंहका अनुसार, सिमखोलामा आवश्यक पर्ने ६० मिटर लामो बेलिब्रिजका लागि भीमफेदी सडकखण्ड अन्तर्गतका दुई स्थानबाट बेलिब्रिज झिक्ने काम भइरहेको छ।

घट्टेखोलामा रहेको १३ मिटरको बेलिब्रिज झिकिसकिएको छ भने माण्डुखोलाको ५० मिटर लामो बेलिब्रिज झिक्ने कार्य प्रगतिको चरणमा छ। यी दुईलाई जोडेर सिमखोलामा आवश्यक पर्ने लम्बाइको बेलिब्रिज निर्माण गरिनेछ।

बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री अमन मास्केका अनुसार, असार १५ भित्र बेलिब्रिज राखेर सवारी आवागमन सुचारु गर्ने लक्ष्यका साथ काम तीव्र पारिएको छ। पुलमाथि बेलिब्रिज राख्नुका साथै, दुवै छेउमा पक्की पहुँचमार्ग निर्माण र वरपरको सडक मर्मतसम्भारको जिम्मा गौरव इन्जिनियरियर्स प्रालिले १

करोड ८८ लाख रुपैयाँमा पाएको छ।

गत वर्षको भारी वर्षापछि कुलेखानी जलाशय भरिएपछि गेट खोल्दा आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलाको पुल र सडक पूर्णरूपमा क्षतिग्रस्त बनाएको थियो। अहिले अस्थायी रूपमा खोलाबाट डाइभर्सन बनाएर सवारी सञ्चालन गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*