हेटौंडामा भाडाका सबै सवारीका साधन ग्यारेजमा, सर्बसाधरणलाई सास्ती
हेटौंडा । नारायणी यातायात व्यावसायी संघ हेटौंडा लगायतका बिभीन्न यातायात व्यावसायी तथा मजदुर संगठनहरुले आज देखि आफ्ना भाडाका सवारीका साधनहरु नचलाउने भएको छ । आफ्ना बिभिन्न मागहरु पुरा नगरेको भन्दै आफ्ना सवारीका साधनहरु नचलाउने भएको हो ।
सडकमा भइरहेका ओभरलोड नियन्त्रण गर्नुपर्ने, आफ्ना संघसंस्था नविकरण गर्नुपर्ने लगायतका मागहरु राख्दै भाडाका सम्पूर्ण सवारकिा साधनहरु ग्यारेजमानै राखिएको नारायणी यातायात व्यावसायी संघका महासचिब सरोज खनालले बताए ।
यातायात व्यावसायीहरुले आफ्ना भाडाका सावारीका साधन ग्यारेजमानै थन्क्याएपछी सर्वसाधरण भने निकै मर्कामा परेका छन् । कुनैपनि सामानहरु ढुवानी गर्नका लागि समस्या भएको छ भने आम नागरिकलाई ओहोरदोहोर गर्नका लागि पनि समस्या भएको छ । आज हेटौंडाका यातायात व्यावसायीहरुले आफ्ना सवारीका साधनहरु घरमा वा खाली क्षेत्रमा पार्किङ गरेर राखेको खनालले बताए ।
यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले रातोपाटीलाई जानकारी दिए ।
आफूहरूले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरेको उनको भनाइ छ ।
यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको उनको भनाइ छ ।
यसैबिच आइतबार ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को नामबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२/२/१९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाई दिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ ।’






