हेटौंडाको बालजागृतिमा बिद्यार्थी नेता छान्न निर्वाचन

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको बालजागृति बाडिङ स्कुलमा बिद्यार्थी नेता छान्नका लागि आज निर्वाचन भएको छ । बिद्यालयले २०७२ साल देखि बिद्यार्थीका नेता छान्नका लागि निर्वाचन गराउँदै आएको छ ।
विद्यार्थीहरूले विद्यालय क्याप्टेन, भाइस क्याप्टेन तथा चारवटा हाउसका क्याप्टेन र भाइस क्याप्टेन चयन गर्न मतदान गरेका हुन्। वषौदेखि निरन्तर रुपमा निर्वाचन मार्फत बिद्यार्थीहरुले आफ्ना प्रतिनिधि छनौट गर्ने गरेका छन् ।
विद्यालयको सामाजिक शिक्षाको पाठ्यक्रमअनुसार विद्यार्थीहरूलाई लोकतान्त्रिक प्रक्रिया र नागरिक जिम्मेवारीबारे व्यवहारिक ज्ञान दिन हरेक वर्ष निर्वाचन कार्यक्रम आयोजना गर्दै आएको बिद्यालयका प्रधानध्यापक विनोद सुवेदीले बताए ।
विद्यालयले कक्षा–६ देखि १० सम्मका ६ सय ७० जना विद्यार्थीले मतदान गर्ने व्यवस्था गरिएको जनाएको छ । बिहान साढे ७ बजेबाट सुरु भएको मतदान कार्यक्रम बिहान ११ बजे सम्पन्न भएर मतगणनाको कार्य भएको थियो । विद्यालय शिक्षकहरुले निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेका छन् भने स्वयम्सेवकको रुपमा स्काउटका विद्यार्थी सहभागी छन् । कक्षा–६ देखि कक्षा–९ सम्मका विद्यार्थी उम्मेदवार हुन पाउने व्यवस्था गरिएको विद्यालयका प्रिन्सीपल सुवेदीले बताए ।
१८ पदका लागि ५० जना विद्यार्थीको उम्मेदवारी रहेको बिद्यालयका शिक्षक उमेश अर्यालले बताए । निर्वाचन आयोगको कार्यालयबाट आम निर्वाचनमा प्रयोग हुने सामग्री नै प्रयोग गरेर निर्वाचन गरिएको छ ।