फ्री फायर खेल हुँदै

हेटौडा । “खेल अब शारीरिक मात्र नभई मानसिक र प्रविधिको संयोजनमा आधारित हुनुपर्छ” भन्ने मूल नाराका साथ वागमती प्रदेशको राजधानी हेटौडाबाट प्रशारण हुने नेशनल गोल्ड टेलिभिजनको आयोजनामा नेशनल गोल्ड कप सिजन १’ नामक फ्री फायर खेल हुने भएको छ।
हेटौडा स्कुल अफ म्यानेजमेन्टको मुख्य प्रायोजनमा र बागमती प्रदेश खेलकुद विकास परिषदको सहकार्यमा आयोजना हुन लागेको प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु हुनेछ भने जेष्ठ १७ गते फाइनल खेल आयोजना गरिने आयोजकले जनाएका छन्।
प्रतियोगितामा देशभरिबाट १६ वर्ष उमेर पुरा गरेका युवाहरूले अनलाइन गुगल फर्ममार्फत निशुल्क दर्ता गरेका छन्। जेष्ठ ६ गतेसम्म खुल्ला गरिएको दर्तामा एक हजार वटा टोलीको सहभागिता रहेको छ। प्रत्येक टोलीमा एकजना ब्याकअप खेलाडीसहित ५ जना खेलाडीको सहभागिता रहको छ।
सुरुका चरणका खेलहरू अनलाइन माध्यमबाट हुने भए तापनि क्वार्टर फाइनल, सेमिफाइनल र फाइनल खेलहरू भने हेटौडाको हिमालयन दरबार पार्टी प्यालेसमा आयोजना गरिने छन्। प्रतियोगितामा एक पटकमा १२ टोलीका ४८ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
१ लाख रुपैयाँ पुरस्कार राशि रहेको यस प्रतियोगिता नेपालकै ठूला ई स्पोर्ट्स प्रतियोगितामध्ये एक हुने आयोजकको दाबी छ। मकवानपुर जिल्लामा यति ठूलो पुरस्कार राशिसहितको ईस्पोर्ट्स प्रतियोगिता पहिलोपटक आयोजना हुन लागेको हो। विशेषतः युवा पुस्तामा अत्याधिक लोकप्रिय रहेको खेल फ्री फायरलाई आधार बनाएर यो प्रतियोगिता आयोजना गरिएको हो।आगामी संस्करण, सिजन २ बाट फुटबलल गाएतका खेलहरूको प्रतियोगिता पनि समावेश गरिनेछ, जसले नेपाली ईस्पोर्ट्स क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण नेशनल गोल्ड टेलिभिजनको आधिकारिक युट्युब च्यानल, फेसबुक पेज तथा टेलिभिजनमार्फत गरिने नेशनल गोल्ड टेलिभिजनका अध्यक्ष उज्वल चौलागाँईले जानकारी दिए। प्रतियोगितालार्ई हेटौडा सिटी कलेज, जे एन्ड बी वारिष्ठा एकेडेमी, होटल वासुकला, होटल सुर्यान्स, ई स्पोर्ट कन्सल्टेन्सीले सह प्रायोजन गरेका छन् ।