खतिवडाको अध्यक्षतामा फिनेको बागमती प्रदेश कमिटी गठन

जनपत्र
६ जेष्ठ २०८२, सोमबार ०६:१५

हेटौँडा । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले कृष्ण खतिवडाको अध्यक्षतामा बागमती प्रदेश कमिटी गठन गरेको छ ।

काठमाडौंमा शनिबार भएको भेलाले खतिवडाको अध्यक्षतामा निर्विरोध रूपमा प्रदेश कमिटी गठन गरेको हो ।

भेलामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महासंघका अध्यक्ष स्वतन्त्रप्रताप शाह पनि उपस्थित थिए ।

फिनेका नेपाल संयोजक रामशरण थापा र आईसी सचिव दिपेन घलेको संयोजकत्वमा गठन भएको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष अमिर बगाले, उपाध्यक्ष आभा बस्नेत, महासचिव अंकितराज पाण्डे, कोषाध्यक्ष धनवीर श्रेष्ठ, सहकोषाध्यक्ष देविश्री पन्त छन् ।

कार्यसमिति सदस्यहरूमा स्वेता सुवेदी, प्रमोश अधिकारी, किशोर गर्तौला, राज हुमागाईं र सुदीप थापा चयन भएका छन् ।

कार्यक्रममा मन्त्री भण्डारीले विदेशमा भएका नेपाली उद्यमीहरूले नेपालसँग जोड्न गरेको यो प्रयासको प्रशंसा गरे । उनले युवा उद्यमीहरूको यो प्रयासलाई सरकारकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

फिनेका अध्यक्ष शाहले विश्वका अन्य मुलुकसँगै नेपालका सातै प्रदेशमा फिनेको कार्यसमिति विस्तार गर्ने उद्देश्यअनुसार बागमती प्रदेश कमिटी गठन गरिएको बताए ।

महासंघका नेपाल संयोजक रामशरण थापाले फिने विश्वभर छरिएर रहेका नेपाली उद्यमीहरूलाई जोड्ने विश्वव्यापी सञ्जाल बनेको बताए ।

‘हाम्रो उद्देश्य सहयोग, मार्गदर्शन, र व्यावसायिक अवसरहरूको माध्यमबाट नेपाली उद्यमीहरूलाई सशक्त बनाउनु हो,’ उनले भने, ‘विभिन्न देशमा रहेका युवा उद्यमीहरूलाई जोड्ने, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने र विश्वव्यापी नेपाली व्यावसायिक समुदायको दिगो विकासलाई अघि बढाउन यसले महत्वपूर्ण मञ्चको काम गरिरहेको छ ।’

फिनेका उपाध्यक्ष तथा एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकालले स्थापनाको छोटो समयमै फिनेले ९ वटा देशमा आफ्नो संजाल विस्तार गरिसकेको जानकारी दिँदै विदेशमा रहेका युवा उद्यमी र नेपालका युवा उद्यमीबीच पुलको काम गरिरहेको बताए ।

उनले युवा उद्यमीहरूलाई फिनेले सक्दो सहयोग र सहकार्य गर्ने बताए । महासंघमा सयभन्दा बढी समर्पित उद्यमीहरू सदस्य छन् । यसको जापान, अमेरिका, बेलायत, मध्यपूर्व, मकाउ, हङकङ, चीन, अष्ट्रेलिया तथा अन्य विभिन्न उपक्षेत्रहरूमा शाखाहरू क्रियाशील छन् ।

उद्यमी राजेन्द्र खेतानले युवा उद्यशीलता विकासका लागि ‘क्राउड फन्ड’ संकलनमा फिनेलाई सहकार्य गर्न आग्रह गरे ।
विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासंघले नेपाली उत्पादनलाई विदेशमा ब्रान्डिङ गर्ने उद्देश्यसहित प्रदर्शनी, बजारीकरणलगायत विषयमा सहजीकरण गर्ने र देश विदेशमा रहेका युवा उद्यमीलाई जोड्ने लक्ष्य लिएको छ ।

सोही लक्ष्य अनुसार विदेशमा मात्र सञ्जाल रहेको फिनेले बागमती प्रदेशमा आफ्नो सञ्जाल विस्तार गरेर नेपालमा रहेका युवा उद्यमीहरूलाई जोड्ने पहिलो खुड्किलो तयार गरेको जनाएको छ ।

फिनेका उपाध्यक्ष समिम अन्वरले संस्थाको उद्देश्यबारे प्रकाश पारेको कार्यक्रमलाई महासचिव इन्जिनियर दिपेन घलेले संचालन गरेका थिए । कार्यक्रममा यूएसए, यूके, अष्ट्रेलिया, हङकङ, जापान, चीन लगायत विभिन्न देशबाट आएका फिनेका प्रतिनिधिको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*