मकवानपुरमा हावाहुरीले घरको छाना उढाएपछी २६ परिवारको विचल्लि
हेटौंडा । यही बैशाख २१ गते आएको हावाहुरी र वर्षासँगैको पानीले मकवानपुरका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ । विशेषगरी मकवानपुरको कैलाश, राक्सिराङ र मकवानपुरगढी गाउँपालिकाका २६ परिवार प्रभावित बनेका छन् । हावाहुरीले घरका जस्तापाता र खरले छाएका छाना उडाइदिएपछि पीडित परिवार अहिले बिचल्लीमा परेका उनीहरुले बताएछन् ।
घरको छाना नै उडाएपछि बसोबासमा समस्या भएको र फेरि पानी परिरहेकाले थप जोखिम बढेको स्थानीयले बताएका छन् । कतिपय परिवार अहिले पनि त्यही घरमा, गोठमा, छिमेकीको घरमा अस्थायी बसोबास गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कैलाश गाउँपालिका–९ घैराङटारमा मात्रै ९ घरमा ठूलो क्षति पुगेको छ । बहादुर घलान, कालिमाया वाइबा, तिलकबहादुर घलान, विष्णुमाया लामा, मानबहादुर नेगी, रामहरी घलान, दिलबहादुर स्याङतान, भक्तबहादुर वाइबा र सुर्जबहादुर घलानका घर तथा गोठमा हावाहुरीले क्षति पुर्याएको हो । उक्त क्षेत्रमा मात्रै ११ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी मकवानपुरगढी गाउँपालिका–२ लेनडाँडाका मंगलसिंह तितुङको घरको जस्ता उडाएको छ । त्यहाँ मात्रै १ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
राक्सिराङ गाउँपालिका–९ खरीटोल, गैरीटोल र वडा नम्बर १ चिरघारी भञ्ज्याङमा गरी ९ परिवारका घरको छाना उडेको छ । नरेन्द्र मल्ल ठकुरी, भोजविक्रम सिंह, सेरबहादुर प्रजा, उत्तरकुमार प्रजा, रञ्जित नेगी, सीता रुम्बा, राजकुमार मुक्तान लगायतका परिवार प्रभावित भएका छन् ।
यस्तै भीमफेदी, इन्द्रसरोवर लगायतका अन्य क्षेत्रमा पनि गोठ, विद्यालय र कुखुरा फार्ममा क्षति पुगेको छ । प्रहरीको विवरण अनुसार ती क्षेत्रमा मात्रै ६ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
मकवानपुरभर हावाहुरीबाट ठुलो क्षति भएको देखिएको छ । यसअघि मकवानपुरको थाहा नगरपालिकामा हावाहुरीका कारण क्षति भएका स्थानमा भने केही परिवारलाई जस्तापाता समेत उपलब्ध गराइएको छ ।
हावाहुरीले घरको छाना उडाएपछि प्रभावित परिवारहरू अहिले समस्यामा परेका छन् । तत्काल छाना छाउने व्यावस्था मिलाउनका लागि आवश्यक रहेको स्थानीयको भनाइ छ । प्रहरीका विभिन्न इकाईबाट टोली खटिएर क्षतिको विवरण संकलन गर्नुका साथै पीडितको अवस्थाबारे जानकारी लिइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्थानीय तहले राहत र पुनःस्थापनाको प्रक्रिया अगाडि बढाउने तयारी गरेको जनाए पनि प्रभावित परिवारले तत्काल सहयोगको अपेक्षा गरेका छन् । लगातार पानी परिरहेकाले उनीहरूको समस्या झन् जटिल बन्दै गएको छ ।







