हेटौंडालाई स्वास्थ्यको हब बनाउने गरि लागेका छौं– श्रेष्ठ

जनपत्र
५ जेष्ठ २०८२, आईतवार ०९:३९

हेटौंडा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको प्रथम नगर अधिवेशन शनिबार हेटौंडामा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि बागमती प्रदेशका पूर्वस्वास्थ्य मन्त्री एवं प्रदेश सभा सदस्य एका लाल श्रेष्ठ रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले हेटौंडालाई बागमती प्रदेशको स्वास्थ्य हबको रुपमा विकास गर्दै लगिएको बताएका छन्। स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार भएको उल्लेख गर्दै, हेटौंडालाई बागमती प्रदेशको स्वास्थ्य हबको रूपमा विकास गर्दै लगिएको जानकारी दिए।

श्रेष्ठले भने, “पहिले हेटौंडा अस्पताल रिफर सेन्टर मात्र थियो। तर बागमती प्रदेश सरकार गठनपछि यस क्षेत्रलाई समग्र स्वास्थ्य गन्तव्य बनाउने योजनाअन्तर्गत मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत संरचना विस्तार र सेवा प्रवाहमा गुणात्मक सुधार भइरहेको छ।” उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको पूर्वाधार, जनशक्ति र सेवा विस्तारमा उल्लेखनीय काम गरेको दाबी गरे।

श्रेष्ठले जनताको स्वास्थ्यमा संलग्न स्वास्थ्यकर्मीहरूको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै भने, “स्वास्थ्यकर्मीहरू जनताको जीवनरक्षा गर्ने अग्रपङ्क्तिका योद्धा हुन्। उनीहरूको अधिकार, सम्मान र सीप अभिवृद्धिमा राज्यले अझ गम्भीरता देखाउनुपर्छ।”

यस्तै स्वास्थ्यकर्मी महासंघलाई नेकपा एमालेको जनवर्गीय संगठनको हैसियतले जनताको हितमा नीतिगत पैरवी गर्ने भूमिकामा अझ सक्रिय बन्नुपर्ने कुरामा जोड दिइयो। श्रेष्ठले थपे, “यो महासंघ केवल पेशागत संगठन मात्र नभई, त्यो संगठन हो जसले देशका कुना–कुनामा सेवा पुर्‍याउने स्वास्थ्यकर्मीहरूलाई एकीकृत गर्छ। स्वास्थ्य सेवा जनतासम्म पुग्न महासंघको सक्रियता निर्णायक हुन्छ।”

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला अध्यक्ष उत्सव चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका(४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, नेकपा एमाले जिल्ला सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख सन्तोष पौडेल, नगर कमिटी अध्यक्ष बोल बहादुर कार्की, हेटौंडा अस्पतालका मेसु डा। रामचन्द्र सापकोटा, नेपाल चिकित्सक महासङ्घ मकवानपुर अध्यक्ष डा। हरि बहादुर खड्का, प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन मकवानपुरका अध्यक्ष मदन दाहाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बागमती प्रदेश कमिटी सदस्य प्रबेश ढकाल, नेपाल औषधि व्यवसायी महासङ्घ अध्यक्ष नारायण लाल श्रेष्ठ लगाएतले संगठन सुदृढीकरण, स्वास्थ्यकर्मीका अधिकार संरक्षण तथा आगामी कार्यक्रमहरूको बारेमा सुझाव सहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ हेटौंडा अध्यक्षमा कुसुम श्रेष्ठ चयन
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुर नगर अध्यक्षमा कुसुम श्रेष्ठ चयन भएकी छिन् । प्रथम नगर अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा चन्द्र प्रकाश अधिकारी, सचिवमा अनिष सुबेदी, सह–सचिवमा अनु बज्राचार्य र कोषाध्यक्षमा नवाखर न्यौपाने चयन भएका छन ।

समितिको सदस्यहरुमा क्रमशः बिष्णु खकुरेल, मन तामाङ, अमृता डोटेल, कृष्णा दाहाल, श्रीकान्त अधिकारी, ममता आचार्य, जेसिका पौडेल, अस्मिता बज्राचार्य, मुसेश झा, अमरेन्द्र कुमार, अमित रसिला राणा, स्वस्तिका बर्तौला, प्रतिभा सुबेदी, राघवेन्द्र यादब, सुनिता थापा, समिका बिष्ट चयन भएका हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*