‘वार’ लाई मल्टीप्लेक्समा सर्वाधिक सोज, ‘कबड्डी ३’ को दबदबा कायमै

जनपत्र
१५ आश्विन २०७६, बुधबार ०५:४७

बलिउड अभिनेता द्वय ऋतिक रोशन र टाइगर श्राफ अभिनीत फिल्म ‘वार’ नेपालमा शुक्रबार प्रदर्शन हुनुपर्ने नियम ताड्दै भोली ‘बुधबार’ बाट प्रदर्शनमा आउँदैछ । पहिलो पटक ऋतिक र टाइगरले एकसाथ काम गरेका कारण यो फिल्मको दर्शकमा निकै प्रतिक्षा थियो, भारतसँगै नेपालमा पनि । आँखै तिरमिराउने धमाकेदार ट्रेलरपश्चात् फिल्म हेर्न दर्शकले हातको औंला भाँच्दै बसेका थिए ।

अन्ततः बुधबारबाट प्रदर्शनमा आउन लागेको फिल्मको नेपालका मल्टीप्लेक्सहरुमा एडभान्स बुकिङ ओपन भएको छ । बुकिङ खुलेसँगै फिल्मको टिकट आक्रामक रुपमा विक्री भइरहेको छ । सम्भवतः मंगलबार साँझसम्म नेपालका अधिकांश मल्टीप्लेक्समा फिल्मको टिकट अभाव हुनेछ । अहिले नै फिल्मलाई प्राप्त प्रायः सोज हाउसफुल हुने तरखरमा छन् । फिल्मले नेपालका मल्टीप्लेक्सहरुमा सर्वाधिक सोज हात पारेको छ ।

नेपालको सबैभन्दा ठूलो र स्तरिय मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभर छरिएका आफ्ना ९ स्टेशनमा फिल्मलाई बुधबारका लागि कूल ५२ सोज बाँडेको छ । फिल्मप्रति दर्शकको क्रेजलाई मध्यनजर गर्दै क्यूएफएक्सले यो संख्यामा सोज छुट्याएको हो । तर, ‘वार’ ले पाएको सोज संख्या गएको हप्ता प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ३’ भन्दा कम हो । यो फिल्मले क्यूएफएक्समा पहिलो दिन ६४ सोज पाएको थियो ।

दोस्रो हप्ताको बुधबार पनि फिल्मले २० सोज पाएको छ । यसको मतलब, ‘कबड्डी ३’ ले अझै पनि हलमा राम्रो व्यापार गरिरहेको छ । त्यस्तै, शुक्रबारबाट प्रदर्शनमा आएको अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ क्यूएफएक्समा ९ सोजमा खुम्चिएको छ । व्यापार गतिलो नभएका कारण फिल्मको सोजमा कटौती भएको हो । अन्य मल्टीप्लेक्सहरुमा पनि ऋतिक र टाइगर स्टारर फिल्म ‘वार’ ले उच्च सोज पाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*