मकवानपुर उद्योग बाणिज्यसंको निर्वाचनका लागि रानाभाटको टिम घोषणा र प्रतिवद्धतापत्र सार्वजनिक
हेटौँडा | मकवानपुर उद्योग वाणिज्य संघको पुष २७ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाटको नेतृत्वमा एक सशक्त टिम घोषणा गरिएको छ। आइतबार साँझ व्यवसायीहरुको भेलामा टिमले व्यवसायिक समुदायका सबै तहलाई प्रतिनिधित्व गर्दै समावेशी र दूरदर्शी योजना प्रस्तुत गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ। रानाभाटको टिम व्यवसायीहरूको हकहित संरक्षण, उद्यमशीलताको प्रवर्द्धन, र मकवानपुरको व्यापारिक समृद्धिमा योगदान पुर्याउने उद्देश्य राख्दै अगाडि बढेको छ।
रानाभाटले आफूलाई अध्यक्ष पदका लागि योग्य उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आफ्नो अनुभव र प्रतिबद्धताको आधारमा संघलाई अझ प्रभावकारी बनाउने योजना प्रस्तुत गरेका छन्। उनले भनेका छन्, “यो उम्मेदवारी व्यवसायीहरूको साझा आवाज बुलन्द बनाउन र संघलाई अझ सशक्त बनाउने अठोट हो।”
रानाभाट नेतृत्वको टिममा विभिन्न तहका योग्य र अनुभवी उम्मेदवारहरू छन्। महासचिव पदमा प्रतिमा श्रेष्ठको उम्मेदवारी छ, जसले संघको कार्य सञ्चालनमा उत्कृष्ट भूमिका खेल्ने अपेक्षा गरिएको छ। कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य (भाइ) र सह-कोषाध्यक्षमा निलम वैद्यले प्यानललाई वित्तीय व्यवस्थापनमा बलियो बनाउने वाचा गरेका छन्।
वाणिज्यतर्फ रामप्रसाद न्यौपाने उपाध्यक्षका रूपमा अघि सरेका छन्। कुलप्रसाद चौलागाई सचिव पदमा छन् भने राजेन्द्र लामिछाने (राजेश), सन्तोष घिमिरे, राजदेव बनियाँ, होमनाथ खनाल (रोशन), र महिला आरक्षणतर्फ निलम बजगाई देवकोटा सदस्यका रूपमा टिममा सामेल छन्।
उद्योगतर्फ दीपक उप्रेती उपाध्यक्ष पदका उम्मेदवार हुन्। रुपकराज दहाल सचिव र जगदिश दहाल, कृष्णराज कोइराला, भुपेन्द्र अधिकारी, र महिला आरक्षणतर्फ सीतादेवी भेटवाल सदस्य पदमा छन्।
एशोसियटतर्फ उज्जवल चौलागाई उपाध्यक्ष र माधव ज्ञवाली सचिव पदमा उम्मेदवारी दिँदै संघलाई थप मजबुत बनाउने योजनासहित अघि बढेका छन्। उनीहरूको साथमा अंकिता सुमार्गी, नवराज खतिवडा, र सुकृत पराजुली सदस्य पदका लागि मैदानमा छन्।
त्यस्तै, वस्तुगततर्फ प्रदीप अर्याल उपाध्यक्ष पदका उम्मेदवार छन् भने राजाराम कार्की सचिव र कृष्ण अर्याल सदस्य पदका लागि टिममा सामेल भएका छन्।
रानाभाटले व्यवसायिक समुदायका समस्या समाधान गर्दै संघलाई अझ सक्षम र प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो प्राथमिकताहरूलाई व्यवसायिक समृद्धि, सामाजिक उत्तरदायित्व, र व्यवसायमैत्री वातावरण निर्माणमा केन्द्रित गर्दै संघलाई नयाँ उचाइमा पुर्याउने योजनाहरू सार्वजनिक गरेका छन्।
रानाभाटले मुख्य रूपमा संघको गरिमा बचाउँदै व्यवसायीहरूको आवाज बुलन्द राख्ने आफ्नो प्राथमिक उद्देश्य रहेको बताएका छन्। उनी व्यवसायीहरूले सामना गरिरहेका वित्तीय, नीतिगत, र व्यवस्थापकीय समस्याहरू समाधान गर्न आफ्नो नेतृत्वलाई प्रभावकारी बनाउने अठोटका साथ अघि बढिरहेका छन्।
उनका प्राथमिकताहरूमा बैंकहरूको चर्को ब्याजदरको समस्यालाई समाधान गर्न पहल गर्ने र व्यवसायमैत्री नीति निर्माणका लागि सरकारी निकायहरूसँग संवादलाई प्रभावकारी बनाउने उल्लेखनीय छन्। साथै, मकवानपुरलाई देशकै प्रमुख व्यापारिक केन्द्र बनाउने उद्देश्यले उद्यमशीलतालाई प्रवर्द्धन गर्ने र व्यवसायीलाई विभिन्न सहुलियत र सुविधाको पहुँचमा सहजीकरण गर्ने उनको योजना रहेको छ।
रानाभाटले व्यवसायीक क्षेत्रलाई सबै वर्ग, स्तर, र समुदायका व्यवसायीहरूसँग समेट्ने र उनीहरूका अधिकार सुनिश्चित गर्न काम गर्ने प्रतिवद्धता गरेका छन्। संघको संरचना र भौतिक पूर्वाधारलाई आधुनिक बनाउँदै व्यवसायीहरूको लागि उत्कृष्ट सेवा प्रदान गर्ने उनको मुख्य प्राथमिकतामा पर्दछ।
साथै, स्थानीय उद्यमी र नयाँ व्यवसाय विकास गर्न तालिम र सहकार्यका कार्यक्रम सञ्चालन गर्दै मकवानपुरलाई दिगो आर्थिक विकासको नमूना बनाउने योजना पनि रानाभाटको एजेन्डामा छ। संकट व्यवस्थापन कोषको स्थापना, महिला र युवा उद्यमीको प्रवर्द्धन, र मकवानपुरका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने योजना उनका प्राथमिकतामा पर्छन्।
रानाभाटले भनेका छन्, “मकवानपुर उद्योग वाणिज्य संघ केवल एक संस्था मात्र होइन, यो मकवानपुरका व्यवसायीहरूको पहिचान हो। मेरो प्राथमिकता यस पहिचानलाई अझ सशक्त बनाउँदै व्यवसायीक समुदायका समस्या समाधानमा केन्द्रित रहनेछ।”
उनले संघलाई पारदर्शी, समावेशी, र उत्तरदायी बनाउन संघको आन्तरिक व्यवस्थापन सुधार गर्ने र नयाँ प्रविधिहरूको प्रयोग गरेर सेवा सुविधालाई सहज बनाउने आफ्नो प्रतिवद्धता व्यक्त गरेका छन्।
टिम घोषणा तथा प्रतिबद्धता सार्वजनिक कार्यक्रममा संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, सल्लाहकार नरोत्तम दहाल, सरोज खनाल, हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष नरेन्द्र भण्डारी, संघका पूर्व अध्यक्षहरु हिटलर विषेत, केशव श्रेष्ठ, उत्तम शर्मा ढकाल, माधव रिसाल, अरुणराज सुमार्गी, महासंघका केन्द्रीय सदस्य एंव निवर्तमान अध्यक्ष कृष्ण कटुवाल लगायत संघमा आवद्ध विभिन्न वस्तुगत संघका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।