हेटौंडामा लागूऔषध खैरोहिरोइन सेवन गर्ने र ओसारर्नेहरु बढेका हुन् ?
हेटौंडा । हेटौंडामा पहिले लागूऔषध गाँजा र चरेश ओसार पसार गर्नेहरु धेरै भएपनि अहिले भने लागूऔषध खैरोहिरोइन ओसार पसार गर्ने र सेवन गर्ने युवाशरुको सख्या दिनहुँ बढ्दै गएको पाइएको छ ।
मकवानपुरमा पहिले लागूऔषध गाँजा र चरेश सेवन गर्ने र बिक्री पनि गर्नेहरु धेरै थिए । तर, अहिले भने खैरोहिरोइन पनि ल्याउने, सेवन गर्ने र बिक्री गर्नेहरु धेरै पाइएको छ । मकवानपुर प्रहरीको तथ्याङकले पनि त्यही भनिरहेको छ । खैरोहिरोइन सहित धेरै युवा पक्राउ परिरहेका छन् । तर, यसमा न्यूनीकरण खासै हुन सकेको छैन ।
हिजो एकै दिन मात्र मकवानपुर प्रहरीले हेटौंडाको विभिन्न स्थानबाट ७ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। हेटौंडा–१७ हटिया र पुरानो मकवानपुर रोडबाट खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरिएको हो।
बिहीबार राति ९ बजे हेटौंडा–१७ हटिया दाविलेस्थित विदन कुमार भुजेलको घरमा विशेष सूचनाको आधारमा छापा मार्दा २.५४ ग्राम खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूमा ३२ वर्षीय विदन कुमार भुजेल र बारा विश्रामपुर गाउँपालिका–८ नकाटुवा टोल निवासी २१ वर्षीय शेख आजाद रहेका छन्।
उनीहरूलाई मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।
त्यसैगरी, बिहीबार दिउँसो ३ बजे पुरानो मकवानपुर रोडस्थित शिशिर राजथलाको घरमा छापा मारेर ४ ग्राम लागुऔषधसहित थप ५ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा ३१ वर्षीय शिशिर राजथला, ३० वर्षीय निरन श्रेष्ठ, ३५ वर्षीय सुदिप भुर्तेल, हेटौंडा–४ निवासी ३० वर्षीय असिम कुमार बर्तौला, र हेटौंडा–१ निवासी ३० वर्षीय ओम साह रहेका छन्।
पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यो घटना त एउटा उदाहरण मात्र हो । लागूऔषधको ट्रान्जिट बन्दै गएको मकवानपुरमा खैरोहिरोइन ल्याउने र निकासी गरेर लैजोहरुको सख्या पनि बढेको छ ।







