बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले संसदलाई संबोधन गरेर राजिनामा दिने तयारी
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशसभामा संबोधन गरेर राजिनामा दिने तयारी गरेका छन् । आज दिउसो १ बजे बस्ने प्रदेशसभाको बैठकलाई संबोधन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले त्यही राजिनामा दिएको घोषणा गर्ने तयारी गरेका हुन् ।
प्रदेशसभामा विश्वासको मत लिनेगरी आज सभामुखले बैठक बोलाए पनि मुख्यमन्त्रीले भने राजिनामा दिने तयारी गरेको प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लंशालले जनपत्रलाई जानकारी दिए ।
मन्त्रीहरुसंगको कुराकानीका क्रममा जम्मकट्टेलले राजिनामा दिने तयारी भएको जानकारी गराएका थिए । बिश्वासको मत लिदा पनि बहुमत आफ्नो पक्षमा नआउने भएपछी अन्तिम समयमा मुख्यमन्त्रीले राजिनामा दिने तयारी गरेका हुन् ।
अहिले प्रदेशसभामा माओबादी केन्द्रका संसदीय दलको बैठक भइरहेको छ । बैठकपछी अन्तिम निर्णय गर्ने तर, संसदलाई संबोधन गरेर राजिनामा दिने तयारी गरेको मुख्यमन्त्री जम्मकट्टेलले जनपत्रलाई बताए । संसदमा बोल्नेक्रममा राजिनामा दिएको घोषणा गर्ने र त्यस लगतै प्रदेश प्रमुख यादबचन्द्र शर्मा समक्ष राजिनामा पत्र बुझाउने तयारी गरेको मन्त्रीहरुले बताएका छन् ।
नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्तासाझेदारी तोड्दै नयाँ समीकरण बनाएपछि अल्पमतमा परेका जम्कट्टेल संवैधानिक व्यवस्था अुनसार आज विश्वासको मत लिन लागेपनि अन्तिम समयमा आएर राजिनामा दिन लागेका हुन् ।
अल्पमतमा परेको १३ दिनपछि प्रदेश सभामा जम्कट्टेलको पक्षमा ३० सांसद मात्रै देखिएका छन् ।
यो अवस्थामा सरकार टिकाइराख्ने जम्कट्टेलसँग कुनै संसदीय विकल्प देखिंदैन । उनको पक्षमा आफ्नै दल नेकपा माओवादी केन्द्रका २१, नेकपा (एकीकृत समाजवादी) का ७ र हाम्रो नेपाली पार्टीका दुई जना सांसद छन् । नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाले विश्वासको मत नदिने निर्णय गरेका छन् । प्रतिपक्षी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि जम्कट्टेलको विपक्षमा उभिने भएको छ ।
२४ असारमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए । प्रदेश सभाको दोस्रो कार्यकालका लागि २५ पुस २०७९ देखि जम्कट्टेल मुख्यमन्त्री थिए ।
मुख्यमन्त्री जम्कट्टेलले १८ महिनामा तीन पटक विश्वासको मत लिएर सत्ता टिकाएका थिए । सत्ता समीकरण परिवर्तनसँगै जम्कट्टेलले ३ माघ २०७९ मा पहिलोपटक विश्वासको मत लिएका थिए ।
एमालेले सरकार छाडेपछि कांग्रेस, एकीकृत समाजवादीको समर्थनमा १० चैतमा दोस्रोपटक र कांग्रेसले सरकार छोडेपछि १९ चैत २०८० मा एमाले, एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टीसँगको समर्थनमा तेस्रोपटक विश्वासको मत लिएर सरकार टिकाए ।
उनले पहिलोपटकमा १०५ जना सांसद, दोस्रो पटकमा ६७ जना सांसद र तेस्रो पटक ५६ जना सांसदको विश्वासको मत पाएका थिए । प्रदेशको साढे ६ वर्षमा निरन्तर सत्तामा रहेका उनी अब प्रमुख प्रतिपक्षीको कित्तामा पुग्नेछन् ।






