१० प्रतिशत कमिसनको लोभमा बैंक ह्याकिङ्मा संलग्न !

आइतबारदेखि मंगलबार साँझसम्मा कृषि विकास बैंक लहान शाखाको नाफाबाट करिब ५ करोड रुपैयाँ व्यक्तिको खातामा ट्रान्सफर गराएर रकम निकाल्नेहरु नेपाल प्रहरीको फन्दामा परे । ‘काले’ भनेर चिनिने अफ्रिकी मुलका पिटरले १० प्रतिशत कमिसनको प्रलोभनमा खटाएका एजेन्ट कोही रकम निकाल्दा निकाल्दै र कोही रकम निकालिसकेको अवस्थामा पक्राउ परे, त्यो पनि ठूलो परिमाणको नगदसहित ।
“कालेले नेपालका विभिन्न बैंकबाट कुल ५ अर्ब लुट्ने योजनामा रहेको देखिन्छ,” नेपाल प्रहरीको अपराध महाशाखा, टेकुका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले भने, “कालेले स्थानीय एजेन्टलाई १५ देखि ३५ प्रतिशत कमिसन दिनेगरी बैंकबाट सो रकम लुट्ने योजना बनाएका थिए ।” प्रहरीका अनुसार कालेका स्थानीय एजेन्ट सर्लाहीका पुष्पराज खड्का हुन् ।
पुष्पले नुवाकोटका लवाङ तामाङलाई खटाएर विभिन्न व्यक्तिमार्फत् रकम झिक्न लगाएका थिए । प्रहरीले पुष्पलाई ३१ लाख रुपैयाँ नगदसहित पक्राउ गरेपछि कालेको पोल खुल्यो । कालेले पुष्पलाई ‘१० प्रतिशत तँ राख, बाँकी मलाई दे १’ भनेर पुष्पको खातामा ५० लाख रुपैयाँ जम्मा गरेको प्रहरीले पत्ता लगायो ।
काले ‘वि–च्याट’ मार्फत् सम्पर्कमा रहने गरेको पनि खुलेको छ ।
पुष्पका अनुसार प्रलोभन देखाउने सो विदेशी नागरिक ‘काले’ मुम्बईमा छन् । र, उनले कमिसनपछि बाँकी रहेको रकम हुण्डीमार्फत् भारतमा प्राप्त गर्ने गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ । रंगेहात तीनजना र रकम निकालिसकेपछि अन्यले प्रयोग गरेको परिचयपत्रका आधारमा प्रहरीले हुण्डी गर्नेसमेत गरेर १२ जनालाई पक्राउ गरिसकेको छ ।
कालेले एउटा स्थानमा बसेर अर्को कम्प्युटर प्रयोग गरेर ४ करोड ७३ लाख रुपैयाँ व्यक्तिको खातामा जम्मा गरेको खुलेको छ । यो काम गर्न प्रयोग गरिएको छ बैंककै कर्मचारीले प्रणालीमा पहुँच पाउन प्रयोग गर्ने गरेको युजरनेम र पासवर्ड । हालसम्म ६० लाख रुपैयाँ झिकिएको छ । बाँकी रकम ती व्यक्तिको खातामा पुगिसकेको छ ।
ती सबैलाई बैंकिङ कसुरअन्तर्गत् संगठित अपराधमा म्याद थपेर मुद्दा चलाइएको छ । कसको खातामा कति रकम ट्रान्स्फर भयो भन्ने अझैसम्म खुलेको छैन ।