राष्ट्रिय धान दिवसः मकवानपुरका किसानलाई धान रोप्ने चटारो

जनपत्र
१६ असार २०८१, शनिबार ०६:४६

हेटौंडा । आज असार १५, मानो रोपेर मुरी उब्जाउने मुख्य दिन । यस दिनलाई किसानले अरू पनि विभिन्न रूपमा सम्झिन्छन् । असार १५ मा खेतमा धान रोपाइँ गरेपछि दही चिउरा खाने चलन पनि छ ।

यतीबेला मकवानपुरका किसानलाई धान रोप्ने चटारो बढ्न थालेको छ । मकवानपुरका दश वटै स्थानीय तहमा किसानहरु खेतमा लगाएको बाली भित्रयाउने र लगाउने चटारोमा दौडधुप गर्न थालेका छन् । बेलैमा धान रोपेमा उव्जनी बढी हुने भएकाले पनि किसानहरु अहिले बढी चटारोमा लागेका हुन् ।

कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा २०६१ देखि असार १५ मा नै राष्ट्रिय धान दिवस मनाउन थालिएको छ । मकवानपुरमा पनि बागमती प्रदेश सरकार र स्थानीय सरकारले धान दिवशका अवसरमा बिबिध कार्यक्रम गर्दै छन् । यस वर्ष २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ ।
सरकारले असार १५ गते धान दिवस तथा रोपाइँ महोत्सवको मुख्य कार्यक्रम चितवनमा गर्ने भएको छ ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै असार १५ को दिनलाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको प्रतिकका रुपमा मनाउँने गरिएको बताउनुभएको छ ।

सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको २० वर्ष पुगिरहँदा नेपाली कृषकहरुले यसलाई एउटा उत्सवकै रुपमा लिने प्रमुख शर्माको भनाई छ । कृषि प्रधान देश नेपालमा पाइने लगभग २ हजार जातका धानमध्ये सयौं प्रजाति हराउनु, कतिपय लोप हुने अवस्थामा पुग्नु सबैको लागि चिन्ताको विषय भएको शर्माको भनाई छ ।

प्रमुख शर्माले भन्नुभएको छ, आज यो दिवस मनाइरँदा हाम्रो मुख्य खाद्यान्न बाली धानको संरक्षण गर्दै कृषिक्षेत्रलाई आधुनिकीकरण गर्ने र निर्वाहमुखी कृषिलाई व्यवसायिकतातर्फ अगाडी बढाउन देशका तीनै तहका सरकारको उत्तिकै ध्यान जानु आवश्यक छ ।’

प्रमुख शर्माले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सम्बन्धित सबैको ध्यान जाओस् र हाम्रो देश यस दिवसबाट हामीलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*