दशैंमा विदेशबाट फर्कँदा केके ल्याउन पाइन्छ? कति लाग्छ भन्सार?

जनपत्र
८ आश्विन २०७६, बुधबार ०५:५१

तपाईं वैदेशिक रोजगारीबाट दशैँमा घर फर्कँदा आफूलाई आवश्यक र मन परेका सामग्री लिएर फर्कँदै हुनुहुन्छ? यदि हो भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कुनकुन सामग्री बिना भन्सार ल्याउन पाइन्छ भनेर बुझ्दा सजिलो पर्छ। यसका साथै कुन सामानमा ल्याउन कति भन्सार लाग्छ भन्ने पनि बुझ्नुभयो भने अझ सहज हुन्छ। नेपाल सरकार अर्थ मन्त्रालयको निजी गुन्टा, झिटी, भारीसम्बन्धी व्यवस्था अनुसार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिले उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुने व्यवस्था गरिएको छ।
(क) लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान।
(ख) औषधी, उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि।
(ग) शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान जस्तैः ह्विलचियर, बैसाखी।
(घ) सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना ५ सय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया।
(ङ) ट्याब्लेट वा ल्यापटप वा कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन र पेन ड्राइभ एक-एक थान।
(च) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक-एक थान।
(छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक-एक थान। (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप। खेलाडीको खेलकुदसम्बन्धी सामान जस्तै फुटबल, भलिबल, ब्याडमिन्टन सेट। गवैयाको सामान्य बाजा- जस्तैः गितार हार्मोनियम, तबला, जस्ता सामानहरु)।
(ज) सात किलोग्रामसम्म खाद्य परिकार।
(झ) मदिरा एक लिटरसम्मको बोतल एक।

भन्सार महसुल तिरेर कुन कुन समान ल्याउन पाइन्छ? 
नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कँदा व्यक्तिगत प्रयोजनका उल्लिखित सबै वा कुनै मालसामान प्रचलित आर्थिक ऐनबमोजिम समदरमा लाग्ने महसुल तिरी ल्याउन पाउने व्यवस्था छ। यस्ता मालसामान आफू आउनु अघि वा पछि चलान गरेको भएमा आफू नेपाल प्रवेश गरेको मितिले ३ महिनाभित्र भन्सार गोदाममा दाखिल भैसकेको हुनु पर्नेछ।

(क) टेलिभिजन, म्यूजिक सिस्टम, रेफ्रिजरेटर, वासिङ मेसिन, पंखा, रेडियो, एक-एक सेट।
(ख) शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक्स आदि बढीमा पन्ध्र थान ।
(ग) घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकरजस्ता) दुई-दुई थान।
(घ) दश किलोसम्म खाद्य परिकार।
(ङ) व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियरजस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई-दुई थान।
(च) नितान्त घरव्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई-दुई थान।

तर यात्रुले ल्याउन पाउने निजी व्यवहारका सामान कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी लाग्ने समदरको महसुल लिई जाँचपास गर्ने स्वीकृति दिन सकिने भन्सार विभागले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*