प्रेम परियारले गाए ‘पोइ पर्‍यो काले’ को गीत

जनपत्र
८ आश्विन २०७६, बुधबार ०५:५०

विकासराज आचार्य निर्देशित फिल्म ‘नाई नभन्नु ल २’ मा समावेश चर्चित गीत ‘मर्ने कसैलाई रहर हुँदैन’ ले गायक प्रेम परियारलाई नसोचेको लोकप्रियता दिलायो । यो गीतपछि उनको लोकप्रियता ‘क्यास’ गर्न फिल्मका निर्माताबीच ठूलो घम्साघम्सी भयो । तर, विस्तारै स्वरमा परिवर्तन आउन थालेपछि उनी स्वयंले गीत गाउन कम गरे । केही समयदेखि उनले गीत गाएका छैनन् ।

यसबीच, उनले आउँदो कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘पोइ पर्‍यो काले’ को गीत ‘मायाले मलाई’ मा स्वर दिएका छन् । यो गीतको मंगलबार रेकर्डिङ गरिएको छ । गायक परियारले पढाईका कारण र स्वर बदलिएका कारण आफूले केही समय फिल्मको गीतमा आवाज नदिएको बताए । उनले यो गीतको शब्द मन परेकाले गाएको बताए ।

उनले ‘पोइ पर्‍यो काले’ को गीत गाउन सहर्ष स्वीकार गर्नुको पछाडि निर्देशक शिशिर राणा हुन् । उनले नै मलेखुको सडकमा गीत गाउँदै माग्दै हिँडिरहेको बखत प्रेमको गायन प्रतिभाबाट प्रभावित भएर काठमाडौं ल्याएका थिए । र, संगीतकार बसन्त सापकोटालाई भेटाएका थिए । आफ्नो जीवनमा भाग्य विधाता बनेर आएका कारण निर्देशक राणाको वचन प्रेमले टार्न सक्दैनन् । गीत गाउन थालेपछि आफ्नो जीवनशैली पनि बदलिएको बताउँदै प्रेमले अब फेरि दर्शकका लागि कर्णप्रिय गीत सार्वजनिक गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*