मापदण्ड विपरितका मकवानपुरका क्रसर लुकी, चोरी सञ्चालन

क्रसर उद्योगमा सरकारनै पिच्छेका मापदण्ड बनाउने तर, कार्यान्वयन नगर्ने पुरानै प्रवृति । मकवानपुरका स्थानीय तहमा ठेकेदारले कर संकलन गर्ने समयमा क्रसर वन्द नहुने तर, सरकार आफैले कर संकलन गर्ने समयमा वन्द गर्ने परमपरा ।
जनपत्र
७ आश्विन २०७६, मंगलवार ०९:१२

हेटौंडा । चालु आर्थिक वर्षको साउन एक गते देखि मकवानपुरका क्रसर उद्योगहरु जिल्ला अनुगमन समिति मकवानपुरले वन्द गरेको छ । मापदण्ड विपरित रहेका क्रसर उद्योग चल्न नदिने भन्दै दुई महिना अघिदेखि क्रसर उद्योग बन्द गरेको हो । मकवानपुरमा सञ्चालित क्रसर उद्योगहरु संघिय सरकारको मापदण्ड र प्रदेश ३ सरकारले बनाएको मापदण्ड भित्र पर्दैनन् । त्यसैले पनि यहाँका क्रसर उद्योगहरु जिल्ला अनुगमन समितिले वन्द गराएको हो । क्रसर उद्योग निर्णय गरेर कागजमा बन्द भएपनि सञ्चालन भने भईरहेका छन् ।

मकवानपुरको हेटौंडा, मनहरी, गढी गाउँपालिका, थाहा नगरपालिका, भिमफेदी गाउँपालिका क्षेत्रका क्रसर उद्योगहरु प्रहरीको आँखा छल्दै सञ्चालन भईरहेका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोसीले क्रसर उद्योग सञ्चालन भईरहेको पुष्टी गर्नुभयो । आफुले अनुगमन गर्दा पनि क्रसर उद्योग चलिरहेको पाएको उहाँले वताउनुभयो । क्रसर उद्योग मापदण्डमा नभएमा कार्वाही गर्ने भनेको स्थानीय सरकारको जिमेवारी रहेको उहाँ वताउनुहुन्छ । क्रसर उदोग वन्द गर्ने भए कडाईका साथ वन्द गर्नुपर्ने प्रजिअ जोशीले वताउनुभयो ।

अनुगमनमा जाँदा क्रसर उद्योगहरु वन्द भएपनि त्यहाँको अवस्था हेर्दा क्रसर उद्योगहरु सञ्चालन भईरहेको पाइएको जिल्ला अनुगमन समितिका संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल वताउनुहुन्छ । मनहरी र हेटौंडाका क्रसर उदोगको अनुगमन गरिएको वताउँदै उहाँले प्रदेश सरकारको मापदण्ड अनुसार असार मसान्तमा थपीएको म्याद पनि सकिएकाले क्रसर वन्द गरिएको उहाँले वताउनुभयो । प्रदेश सरकार मातहत १३ वटा जिल्ला पर्छन । तर, अनुगमन समितिले मकवानपुरमा मात्र क्रसर उद्योग वन्द गरेको छ ।

क्रसर उद्योग चल्न दिने तर, ट्याक्टर पक्राउ गर्ने

मकवानपुरका क्रसर उद्योगहरु दिनरात चलिरहन दिने गरिएको छ । नियम बाहिर र मापदण्ड विपरित रहेका क्रसर उद्योगहरुलाई चल्न दिएर मजदुरहरु द्वारा ढुङ्गा, गिट्टी, वालुवा लोड गरेर ओसार पसार गर्ने ट्याक्टरहरु भने पक्राउ गरिने गरेको छ । ठुलालाई कानून नलाग्ने साना ट्याक्टरलाई दिनहुँजसो पक्राउ गरेकोमा मजदुरहरुले आक्रोस व्यक्त गरेका छन् ।

प्रहरी संगको मिलेमहतोमा गढी ५ सिमल्टार, हेटौंडा, मनहरी र भिमफेदीका क्रसर उद्योग चल्दै आएका छन् । तर, असोज १ गतेबाट खोला खुलेपछी पनि ट्याक्टर पक्राउ गरिएको चालकहरु वताउँछन् । यस अघित खोलामा देखे खोलामै र चौकी क्षेत्र, वजार, जहाँ भेटेयो त्यहीबाट ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, अबैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योग पनि आफुहरुले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंह वताउनुहुन्छ । अवैध रुपमा सञ्चालन गर्ने मनहरीका दुईवटा क्रसर उद्योगीलाई पक्राउ गरेर कागजगरी छाडीएको एसपी सिंहले वताउनुभयो ।

क्रसर उद्योगमा सरकारनै पिच्छेका कार्यान्वयन गर्न नसक्ने मापदण्ड

मकवानपुरमा जस्तैगरी प्रदेश ३ भरी क्रसर उद्योगमा संघिय सरकार, प्रदेश सरकारका आ–फ्आफ्नै मापदण्ड बनाएका छन् । ती मापदण्ड कार्यान्वयन गर्न नसक्ने । तर, कार्यान्वयनको धम्की दिईरहनका लागि बेला बेलामा क्रसर उद्योग वन्द गर्ने पाँच वर्ष अगाढी देखिको श्रृखला मकवानपुरमा पनि चल्दै आएको छ । ढुङ्गा, गिट्टी, वालुवा तीनै सरकारले गर्ने विकास निर्माणका काममा धेरै प्रयोग हुँदै आईरहेको छ ।

क्रसर उद्योग भन्दा बाहेकले नेपालमा ढुङ्गा, गिट्टी, वालुवा उत्पादन गर्ने अरु उद्योग पनि बनीसकेका छैनन् । तैपनि सधै क्रसर उद्योग वन्द गरिएकोमा क्रसर व्यावसायी संघ मकवानपुरका अध्यक्ष राजाराम कार्कीको आपत्ति छ । क्रसर उद्योग विकल्प दिएर मात्र वन्द गर्नुपर्ने उहाँको भनाई छ । बिना विकल्प नियम बनाउने बन्द गर्ने, अरु जिल्लामा नियम नलाग्ने मकवानपुरमा मात्र नियम लाग्ने यो कस्तो परिपार्टी हो ? उहाँले प्रश्न गर्नुभयो ।

सरकारले क्रसर वन्द गरेको भन्दै ढुङ्गा, गिट्टी, वालुवा विक्रीमा ठगी

मकवानपुरमा साउन १ गते देखि क्रसर उद्योग वन्द गरिएको छ । तर, लुकेर प्रहरी संगको मिलेमहतोमा सञ्चालन गरेका क्रसर उद्योगको ढुङ्गा, गिट्टी, वालुवामा ठगि धन्दा पनि निकै ठुलो छ । सबैजसो क्रसर उद्योग प्राङगनमा ग्राभेल थुपारेर राखिएको छ । दिन, रात नभनी क्रसर उद्योग पनि चलिरहेको छ । तर, सरकारले वन्द गरेको नाममा ढुङ्गा, गिट्टी, वालुवामा दोव्वर रकम असुली गरेको उपभोक्ताहरुको गुनासो छ । अहिले वर्षायाममा सरकारका विकास निर्माणका काम हुँदैनन् । तर, व्यक्तिका घर निर्माण भईरहेका छन् । तर, साना घर निर्माण गर्ने उपभोक्ता भने यसको मारमा परेको उनीहरुको गुनासो छ । क्रसर व्यावसायी संघका अध्यक्ष राजाराम कार्की भने निजगढबाट ढुङ्गा, गिट्टी, वालुवा ल्याउनु परेको दावि गर्नुहुन्छ ।

ठेकेदारलाई पोस्ने, स्थानीय सरकारलाई मारमा पार्ने अुनगमन समिति

मकवानपुरका सबै जसो स्थानीय तहमा असोज वा कार्तिक महिना देखि असार महिना सम्म ढुङ्गा, गिट्टी, वालुवाको ठेक्का लाग्ने गरेको छ । त्यती वेला जिल्लाका कुनैपनि क्रसर उद्योगहरु वन्द हुँदैनन् । २०७१ साल देखि अहिले सम्मको श्रृखलामा क्रसर उद्योग वढीजसो साउन देखि असोज सम्म वन्द गरिदै आएको छ । त्यतीवेला ठेकेदार मार्फत स्थानीय सरकारले कर संकलन गरिरहेका हुन्छन् ।

साउन १ गते देखि असोज महिना सम्म मकवानपुरका स्थानीय सरकारले आफ्नै कर्मचारी राखेर कर संकलन गर्छ । तर, यतीवेला भने कर संकलन गर्न जिल्ला समन्वय समितिले रोक लगाएको स्थानीय सरकारको गुनासो छ । ठेकेदारले कर संकलन गर्दा क्रसर वन्द नगर्ने तर, सरकार आफैले कर संकलन गर्ने वेलामा ठुलो राजस्व गुम्नेगरी क्रसर उद्योग वन्द गर्ने जिल्ला अनुगमन समितिप्रति स्थानीय सरकारले गुनासो गरेका छन् । साउन देखि असोज महिना सम्म हेटौंडा उपमहानगरपालिका, गढी गाउँपालिका र मनहरी गाउँपालिकालाई ढुङ्गा, गिट्टी, वालुवाको राजस्वमा करोडौ रुपमा नोक्सान भएको छ ।

ठेक्का लाग्ने तयारी संगै मकवानपुरका क्रसर उद्योग खोल्ने तयारी

स्थानीय सरकारले राजश्व संकलन गर्ने वेलामा वन्द गरिएका मकवानपुरका क्रसर उद्योगहरु ठेक्का लाग्ने तयारी भईरहँदा क्रसर उद्योग खोल्ने तयारी पनि अन्तिम चरणमा पुगेको छ । फेरी घुमाउरो वाटो खोज्दै क्रसर उद्योग खोल्नका लागि तयारी गरिएको छ । ढुङ्गा, गिट्टी, वालुवाको चरम अभाव भएको भन्दै विगतका वर्षहरुमा जस्तैगरी क्रसर उद्योग खोल्न लागिएको हो ।

क्रसर उद्योगले मापदण्ड पुरा नगरीकन खोल्नका लागि जिल्ला अनुगमन समिति तयार भएको एक जना क्रसर उद्योगिले वताएका छन् । दशै आएसंगै क्रसर उद्योग खोलेर निर्वाद रुपमा चल्न सक्ने वातावरण वनाइएको छ । क्रसर उद्योग वन्द एउटा निकायले गर्ने खोल्दा दोस अर्कै निकायले पाउने गरी खोल्ने तयारी गरिएको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*