लागूऔषधको समस्याका विषयमा सार्वजनिक सुनुवाइ, यसको न्यूनीकरणमा बागमती प्रदेशका सांसदहरु र सरोकारवालाहरुको चासो
हेटौंडा । बागमती प्रदेशका जिल्लाहरुमा लागूअऔषधको निकै समस्या बढ्दै छ । यसको एकै पटक समाधान भन्दा पनि न्यूनीकरण गर्दै लैजानुपर्नेमा बागमती प्रदेशसभाका सदस्यहरुले आज हेटौंडामा आयोजित कार्यक्रममा चासो देखाउनु भएको छ ।
जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा लागूऔषधका कारण समाजमा बढ्दै गएको समस्या, यसको समाधानमा सांसद र सरोकारवालाहरुको भूमिका विषयमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, रोयल पार्टी प्यालेसममा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित सांसदहरु तथा सरोकारवालाहरुले चासो व्यक्त गरेका छन् ।
लागूऔषधको विकराल समस्या बढ्दै गएकाले यसमा तीनै तहका सरकारहरु लाग्नुपर्ने कार्यक्रममा सहभागि बागमती प्रदेशको प्रदेश मामिला समितिका सांसदहरु र अरु बिभीन्न समितिका सांसदहरुले बताएका छन् । कार्यक्रममा बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति छिरिङ दार्जे लामा, अरु प्रदेशसभाका सदस्यहरु भारती कुमारी पाठक, गिरबहादुर तामाङ, कृष्ण प्रसाद सिल्वाल, उर्मिला सुनुवार, बिन्दु श्रेष्ठ, शिबराज अधिकारी, हरि प्रभा खड्गी, हरि सापकोटा, प्रेम भक्त महर्जन, बालकुमारी विश्वकर्मा लगायतकाले यस विषयलाई अब प्रदेशसभामा आफुहरुले जोडतोडका साथ उठाउने बताउनुभयो ।

हरेक क्षेत्रमा सरकारले बजेट विनियोजन गर्ने तर, लागूऔषध प्रयोगकर्ताहरुलाई न्यूनीकरण गर्न, यसको ओसारपसारलाई न्यूनीकरण गर्नका लागि चासो प्रदेश सरकारले कम चासो राखेको बताउनु भएको छ । तीन तहका सरकारले अझ बागमती प्रदेश सरकारले उद्योगि व्यावसायीहरुका भवन निर्माण गर्नका लागि लाखौ बजेट विनियोजन गर्ने तर, लागूऔषध प्रयोग गर्ने र यसको रोकथामका लागि बजेट नछुट्याइको प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘लागु औषध नियन्त्रणको लागि सहकार्य गर्न सरकार तयार छ, सरकारसँगै स्थानीय जनसमुदाय र गैससहरुको पनि सहकार्य जरुरी छ । विद्यालय नर्सहरुलाई लागु औषध विरुद्धको सचेतना कक्षामार्फत सेवा लिन सकिन्छ ।’ विद्यालय नर्सहरुले नसक्दाको अवस्थामा पूर्व लागु औषध प्रयोगकर्ताहरुको अनुभव, अनुभुतिलाई पनि ग्रहण गर्न सकिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘सरकारको नीति र विधिलाई मध्यनजर गर्दै गैससहरुले पनि लागु औषध विरुद्धको कामलाई वर्षमा कुनै दिन, उत्सव वा समारोहमा हैन सामान्य अवस्थामा समेत सेवालाई प्रभावकारी बनाउन सोच्नु पर्ने छ । सुधार केन्द्रबाट निस्केकाहरुबाट समाजले लाभ लिन सक्नु पर्छ ।’
बागमती प्रदेशसभाका सदस्य भारती पाठकले लागु औषध विरुद्धको अभियामा सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनचेतना रहेको बताउनुभयो । एउटा व्यक्ति लागु औषध दुव्र्येसनीमा फसेपछि उ त रोगि भइनै हाल्यो परिवारका अन्य सदस्यलाई पनि रोगि बनाउने बताउनभयो । उहाँले भन्नुभयो–‘पीडित परिवार र नातेदार सम्म हुन्छन् । जनचेतनाको काम नै सबैभन्दा महत्वपूर्ण भएकोले यस्तो पुण्यकाममा म आफू पनि सहभागी हुन चाहन्छु । व्यक्तिगत रुपमा र संस्थागत रुपमा अभियानमा लाग्नु जरुरी छ । लागु औषध दुव्र्येसनीमा फसेकाहरुलाई उपचार सँगसँगै परिवार समुदायको माया पनि उत्तिकै आवश्यक छ ।’

बागमती प्रदेशसभाका अर्का सदस्य गिरीबहादुर तामाङले व्यक्तिमा नैतिक शिक्षा, समाजिक शिक्षाको कमीले गर्दा लागु औषधको प्रयोग बढेको बताउनुभयो । दिन दिनै लागु औषध प्रयोगकर्ता बढे भनिन्छ, तर रोकथामको लागि सरकारले के गरीरहेको छ पत्तो नभएको बताउनुभयो । उहाँले भन्नुभयो–‘यसरी बढ्यो मात्रै भनेर हुन्छ र ? बढ्दो संख्यालाई रोक्दै र बढ्न नदिनको लागी जनचेतना बढाउन प¥यो । अर्को समस्या बेरोजगारीको कारण लागु औषध प्रयोगकर्ता बढेका हुन्, रोजगारीको सिर्जना गरिनु पर्छ ।’
मासिक त्रैमासिका रुपमा लागु औषध विरुद्ध विभिन्न कार्यक्रम गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । रोगिलाई उपचारमा सरकारले ध्यान दिनु पर्ने बताउनुभयो ।

बागमती प्रदेशसभाका अर्का सदस्य हरिप्रभा खड्कीले प्रेम विवाह, पारिवारीक विचलनको कारण लागु औषधको प्रयोग गर्ने आदत बस्ने गरेको बताउनुभयो । यसको नियन्त्रणको लागि कडा भन्दा कडा कानून बनाइनु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–‘शिक्षा र रोजगारीको अवसर बढाइनु पर्छ । स्थानीय सरकार, जनसमुदाय लाग्नु पर्छ । वडाका जनप्रतिनिधिदेखि संघीय सरकारसम्मको एकै लयमा काम गरिनु जरुरी छ । शिक्षा हासिल गरेपछि कुन व्यवसाय गर्ने, कुन पेशा अवलम्बन गर्ने भन्ने सिपपनि संगै पास हुनु जरुरी छ । अर्को कुरा लागु औषधको अवैध कारोबार रोक्नु पर्छ । सरकारी तथा गैरसरकारी निकायको सहकार्य जरुरी छ । हामी सरकारको तर्फबाट सहकार्यको लागि तयार छौ ।’

बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइले युुवा जमातमा लागु औषध दुव्येसनीको सवाल भयावह बन्दै आएको बताउनुभयो । युवाहरु किन दुव्येसनीमा फस्ने गरेका छन् त्यो कारण खोजेर समाधानमा सरकार लाग्नु पर्छ, युवा परिषद सहकार्यको लागि तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘अहिले बजेट विनियोजनको समय भएकोले यता तर्फ पनि ध्यान दिन यो कार्यक्रमले झकझकाएको छ । लागु औषध विरुद्ध लाग्नेलाई प्रोत्साहन र उपचारमा सहजता ग्यारेन्टी हुनु जरुरी छ ।’
कार्यक्रममा नेपाल चिकित्सकसंघ मकवानपुरका अध्यक्ष डा. हरि खड्काले पछिल्लो समय डाक्टरले उपारमा चासो दिन थालेको बताउनुभयो । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा पनि पछिल्लो समय लागु औषध प्रयोगपछि मानसिक अवस्थामा समस्या भएकाहरुलाई छुट्टै उपचार कक्षको व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘परामर्श सेवालाई प्रभावकारी बनाउनमा सबैभन्दा बढी जरुरी छ । सही ढंगले परामर्श गर्न सकियो भने लागुको नशामा फसेको व्यक्तिाई सजिलै छुट्याउन सकिनछ । स्कुल कलेजहरुमा यो ज्ञानको अभाव छ । लागु औषध प्रयोग गर्दा हुने बेफाइदाबारे प्रचारप्रचार व्यापक हुनु पर्छ । विद्यालय पाठ्यक्रममा समावेश गर्न सकिए त झनै प्रभावकारी हुने थियो ।’
कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, नेपाल चिकित्सक संघ मकवानपुरका अध्यक्ष डाक्टर हरि बहादुर खड्का, नेपाल औषधी व्यावसायी संघ मकवानपुरका नारायण लाल श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकिय अधिकृत गुणराज न्यौपाने, मकवानपुर महिला समुहका अध्यक्ष कमला सुवेदी, फ्रेण्डस हेटौंडाका संयोजक किरण थापा, हिमराइट्स मकवानपुरका कार्यक्रम संयोजक कुमारी वाइवा, रिकभरिङ नेपालका पूर्व अध्यक्ष शान्ता तामाङ, केन्द्रीय सदस्य सौजन डिसी, सन्दीप शाक्य, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाई लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुरर चितवनका बिभीन्न संघसंस्था र यहाँका तीन वटा क्याम्पसका प्राध्यापक तथा बिद्याथीहरु, बिभीन्न सामाजिक संघसंस्थाका प्रतिनिधहरु समेत गरेर ९१ जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पूर्व लागूऔषध दुव्यसनीहरुले सरकारले आफुहरु समाजमा पुनरस्थापित भएपनि कुनैपनि क्षेत्रबाट सहयोग नगरेको बताएका छन् । कार्यक्रममा सहभागि सामाजिक संघसंस्था र क्याम्पसका बिद्यार्थीहरुले लागूऔषधका दूवयसनीहरु बढ्दै गएको र यस क्षेत्रमा सरकारले न्यूनीकरणका लागि बिभीन्न कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् ।
लागुऔषधको समस्या र यसको समाधानका विषयमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा कसले के भने ?
विश्व प्रकाश शाहः जिल्ला प्रहरी कार्यालय मकवानपुर मुद्दा फाँटः
लागु औषधको ‘आगो’ व्यक्ती र परिवार मात्रै हैन देश भर नै सल्की सकेको छ । प्रहरीले ऐनमा टेकेर सेवा दिने र कडाइ गर्ने गर्छ । १० महिनामा १५४ जना युवाहरुलाई लागु औषधको प्रयोगकै मुद्दा चलाउन परेको छ । सबैभन्दा प्रमुख कारण बेरोजगारी हो । गरिब हो । निराशाले लतमा फसाएको हो । ६० प्रतिशत बन्दीहरु लागु औषधकै कारण जेलमा छन् ।
स्थानीय सरकारसँग समन्वयात्मक रुपमा काम भएको देखिदैन । पुनस्थापनको क्षेत्रमा पनि बलियो गरी काम भएको छैन, कसरी काम गर्ने रणनीति नै छैन । लागु औषधको मुद्दमा दोहोरीएर तेहोरीएर मात्रै हैन ५ पटकसम्म मुद्दमा आएको त मैले नै पाएको छु । यो सवाल धेरै गम्भिर सवाल हो । म त भन्छु सरकारले नै रिह्याब सेन्टर खोलेर परामर्श गर्नु जरुरी छ । सरोकारवालहरु भनेर गैससलाई मात्रै जिम्म दिएर हुदैन ।
संदीप शाक्यः पूर्व लागूऔषध प्रयोगकर्ता
लागु औषध प्रयोगको लत लाग्नु पनि रोग नै हो भनेर विश्व स्वास्थ्यले समेत भनेको छ, रोग हो भने उपचारको व्यवस्था सरकारले किन गरेन ? क्षयरोगीहरुले निशुल्क उपार पाउँदा हामीले किन नपाउने ? पुनस्थापना केन्द्र चलाउनको लागि पनि २०७५ को निर्देशिका धेरै कडाइ भयो । निर्देशिकाले तोके अनुसारको ३ रोपनी जग्गा, डाक्टरलगायतको भौतिक पूर्वधार पु¥याउन कसैले सक्दैन । लागु औषधको दलदलदमा फसेको मान्छे सम्पन्नशाली हुन्छ र ? फेरी नशामा लागेको भनेर कतै स्कुलले त कतै कलेजले रेष्टिकेट गरेपछि झन् मान्छे सुधारीन्छ कि झन् खान्छ ? शिक्षाको अधिकार कहाँ कार्यन्वयन भयो ? सिपमुलक काममा लगाउन सकेमा डाइभर्ट गर्न सकिन्थ्यो तर सरकारले तेता पनि ध्यान दिंदैन ।
किरण थाप– फ्रेन्स हेटौंडा
यो समस्या, केही युवाको केही महिलाको वा केही परिवारको हैन। सबैको साझा समस्या हो । पुनस्थापना केन्द्रहरु कुन हालतमा चलेका छन्, एक पटक सरकारी निकायको अनुगमन होस्, समस्या र चुनौतीमा पनि सरकारले नदिएको साथ कहिले अपेक्षा गर्ने ? हामी हुर्केको परिवार समाज नै मैत्रीपूर्ण छैन, हेलाहोँचो गरेर व्यवहार गरेपछि कसरी व्यक्तित्व चाँही राम्रो हुन्छ । केही परिवारले राम्रो बोर्डिङ् स्कुलमा आफ्ना सन्तनहरुलाई पढाएका होलान् तर त्यहाँ पैसा बेस्सरी तिर्देमा सन्तान सही बाटोमा छन् भनेर ढुक्क नहुनुहोस् ।
रमिला सापकोटाः अध्यक्ष गैसस महासंघ मकवानपुरका अध्यक्ष।
गैससलाई सरकारले हेर्ने नजर सही भएन । हामीले गरेका राम्रा कामको अपनत्व चाँही सरकारले गर्छ तर सहकार्य गर्न सकेसम्म चहादैन । हामी गैससहरु त संधै तयार छौं सहकार्यको लागि ।
शान्ति तामाङ, एकता महिला चितवन, पूर्व लागु औषध प्रयोगकर्ता
महिला भएर पनि लागु औषध प्रयोग गरेको भनेर अचम्म मान्छन्, प्रश्न गर्छन । समाजमा महिलालाई हेर्ने नजर नै सही छैन । हामीले अनुभुति गरेका छौं, महिला पनि नशामा फस्न सक्छन्, उनीहरुलाई पनि संरक्षण आवश्यक छ, महिलालाई एक ढीक्क बनाएर, सचेतना कार्यक्रम गर्छौै, नियमित फिल्डमै छौ, सरकारले खासै साथ दिएको छैन । लागु औषधहरु बेर्डर (सिमा)देखि कसरी भित्रन्छ ? सरकारले चाहेमा रोक्न सक्छ, तर किन रोक्दैन ? १३÷१४ वर्षका बालबालिकाहरु नशामा लिप्त हुन्छन्, अभिभावक पहिलो चासो राख्दैनन् पछि पछुताउँछन् । संस्था खोलेर काम गरेका छौं, सुविधा केही दिदैन सरकारले । उपचारलाई प्रभावकारी बनाउन खै ध्यान दिएको सरकारले ।
अनिल तामाङ् साहारा समूह
हामीले संस्था सञ्चालन गरिरहेका छौं, तर जनप्रतिनिधिहरुको सोच धेरै साँघुरो पायौ, सहकार्य हैन उनीहरु हामीलाई नै तारो बनाउँछन् ।हाम्रो कुरै सुन्न चाहदैनन्, वर्षमा १ पटक कार्यक्रम गरेर प्रतिवेदन बुझाए जस्तो हैन यो काम, निरन्तर जारी राख्नुपर्छ, परामर्श, उपचार, जनचेतनाको कार्यक्रमहरु । पार्टीगत रुपमा मात्रै बजेट दिन्छन्, काम गर्ने, अनुभवि र क्षमताको कदर नै छैन ।
कमला सुवेदी, लागु औषध प्रभावित
आफूलाई नपरुञ्जेल मान्छेले अरुको पीडा बुझ्ने रहेनछ । म आफै पनि प्रभावित सदस्य भएपछि यो अनुभुति गरे । लागु औषधको लतबाट छुटाउन परिवारको माया, साथ र सहकार्यको अहम भूमिका हुन्छ । परिवारले राम्रो साथ दिएमा व्यक्तिलाई समाजमा पुर्नस्थापना हुन पनि सहज हुन्छ । भन्नेबेलामा जसको सवाल उसैको नेतृत्व भनिन्छ, तर सवालवाला मान्छेलाई बेवास्ता गरे, पाखा लगाएर बनाइएको नीति, कार्यक्रम कसरी प्रभावकारी बन्न, कसरी कार्यक्रमको उपलब्धी हुन्छ त ? त्यो बजेट सक्ने र कार्यक्रमको लागि कार्यक्रम गर्ने मात्रै हो । लागु औषधको लतमा फसेका अभिभावकहरुको बालबालिकाको अवस्था झन्र भयावह छ, महिलाको अवस्था उस्तै पीडादायि छ ।
कुमारी वाइबा, कार्यक्रम संयोजक हिमराइट्स मकवानपुर
दैनिक जीवनमा लागु औषधको कारण आइपर्ने समस्याबारे पर्याप्त जानकारी दिनु पर्छ, विद्यालयको पाठ्यक्रममा लागु औषधको बेफाइदाबारे जानकारी राख्न सकियो भने पनि विद्यार्थी उमेरमै ज्ञान हुन्छ, साथीसंगीको लहैलहैमा फस्ने संभावना कम हुन्छ, यसले ड्रपआउट पनि घटाउँछ । राजनीतिक दलहरुले यसलाई एजेण्डाको रुपमा किन उठाउँदैनन, सामाजिक विकासको सवाल सधैं ओझेलमा पर्छ, बाटो र पुलमात्रै विकास हो र ? सांसदहरु कार्यक्रम बनाउने चरणमा हुनहुन्छ, यसलाई ध्यान दिनुहोस् । अन्तराष्ट्रिय कानूनको पक्षराष्ट बनेपछि काम सकियो ? कार्यान्वयन हुनुपर्दैन ?
आस्था अग्रवाल, विद्याथी हेटौंडा स्कुल अफ मेनेजमेन्ट एण्ड सोसियल साइन्सेज
सरकारले गाउँजालाई लागु औषधको रुपमा परिभाषित गरेको छ । यो गैरकानूनी हो भने राजमार्गमै मज्जाले गाँज खेती भइरहदाँ प्रहरी प्रशासन किन नदेखेझै गर्छ ? खुलेयाम गाँजा खेती गर्न मिल्ने हो ? बेच्न मिल्ने हो ?











