शनिबार ‘कबड्डी कबड्डी कबड्डी’ को आक्रामक व्यापार

शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले जेठपछि सुस्ताएको नेपाली फिल्मको व्यापार चलायमान बनाएको छ । प्रदर्शनको पहिलो दिन १ करोड ४७ लाख कमाउँदै वर्षकै सबैभन्दा ठूलो ओपनिङ हासिल गरेको यो फिल्मप्रति शनिबार पनि दर्शकको क्रेज उस्तै जबरजस्त देखिएको छ । बिहानैदेखि सिंगल र मल्टीप्लेक्समा फिल्मले आक्रामक व्यापार गरेको छ ।
शनिबार फिल्मले १ करोड ७० लाखको आसपासमा व्यापार गर्ने फिल्म पण्डितहरुको अनुमान छ । राजधानी र मोफसलका अधिकांश मल्टीप्लेक्समा कब्जा जमाएको यो फिल्म शनिबार देशैभर शतप्रतिशत अकुपेन्सीका साथ प्रदर्शन भइरहेको वितरक मनोज राठीले जानकारी दिएका छन् । एकलभन्दा मल्टीप्लेक्समा फिल्मको कलेक्सनमा उछाल छ । पहिलो विकेन्डबाटै फिल्मको लगानी सुरक्षित हुने देखिएको छ ।
नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई शुक्रबारका लागि काठमाडौंको पाँच स्टेशनमा कूल ३८ सोज बाँडेको थियो । फिल्म हेर्न उर्लिएको दर्शकको भीड देखेर शनिबार ३ सोज बढायो । शनिबार फेरि २ सोज थपेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ ले मल्टीप्लेक्समा बलिउड फिल्म ‘द जोया फ्याक्टर’ र हलिउड फिल्म ‘र्याम्बो’ लाई समेत विस्थापित गरेको छ । यी दुबै फिल्मले हलमा दर्शकको चर्को अभाव खेपेका छन् ।