हेटौंडा कपडा उद्योगको तत्कालीन कपडा बुनाइ विभागमा काम गरेका प्रकाश पौडेलले बजेटमा गरिएको यो घोषणा पत्याएका छैनन् । ‘भावनात्मक रुपमा मात्रै बजेटमा सम्बोधन भएको छ । यतिका वर्षसम्म राज्यले चाहँदा उद्योग पुनः सञ्चालन हुन नसक्ने भन्ने हुँदैन’ पौडेल भन्छन् ।
कपडा उद्योग चल्दा ६-७ सय जनाले रोजगारी पाउने हुनाले चलाउँदा सरकारलाई नै फाइदा हुने पूर्वकर्मचारी पौडेलको भनाइ छ । ‘हामी पूर्वकर्मचारीहरु धेरैले २-३ महिना प्राविधिक सहयोगका लागि स्वयंसेवकको रुपमा काम गर्छौ । हामीलाई जागिर पनि दिनु पर्दैन्थ्यो । अहिलेको बजारमा ६ सय जनाले रोजगारी त पाउँथे’, उनी भन्छन् ।
चरम राजनीतिकरण र प्रशासनिक कमजोरीको कारण बन्द भएको उद्योग उद्योगमन्त्री हुँदा अष्टलक्ष्मी शाक्य, महेन्द्रप्रसाद यादव, अनिलकुमार झा, महेश बस्नेत, नवीन्द्रराज जोशी, मातृका यादवलगायतले सञ्चालन गर्ने घोषणा गरे ।
०६५ सालमा डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने र त्यसबाट उत्पादित कपडा नेपाली सेना, नेपाल प्रहरी र निजामती कर्मचारीको पोसाकमा प्रयोग गर्ने भन्दै उद्योग सञ्चालनको लागि ८ करोड रुपैयाँ अनुदान दिएका थिए ।
उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले कपडा उद्योग पुनः सञ्चालनको सम्भाव्यता अध्ययनको लागि कार्यदल बनाएकी थिइन् । कार्यदलले उद्योग सञ्चालनको विभिन्न मोडल सहितको प्रतिवेदन बुझाएको थियो । तर, त्यसबेला नौ महिनामै सरकार ढलेपछि काम अवरुद्ध भयो ।
०७० सालमा तत्कालीन माओवादीको हेटौंडा अधिवेशनको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौंडा कपडा उद्योग जसरी पनि सञ्चालन गरिछाड्ने भाषण गरे ।
तर, त्यसैबेला, सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद् भने उद्योग खारेज गरेर उद्योगको भवन र भौतिक पूर्वाधारवापतको रकम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा शेयरको रुपमा लगानी गर्ने निर्णयमा पुगिसकेको थियो ।
०७३ सालमा कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकारमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उद्योग मन्त्रालयको जिम्मेवारी पाएका नवीन्द्रराज जोशीको ध्यान पनि हेटौंडा कपडा उद्योगमा पुग्यो । उनले उद्योग सञ्चालनमा ल्याउनको लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न योजना आयोगका पूर्वसदस्य डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन गरे ।
कार्यदलले नेपाली सेनालाई संलग्न गराएर कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने रायसहितको प्रतिवेदन मन्त्रीलाई बुझायो । नेपाली सेनाको नेतृत्वमा हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने भन्दै नेपाली सेनाका प्रतिनिधि समेत रहने गरी मन्त्रालयले कार्यदल बनायो ।
यो कार्यदलले पनि लगानी र व्यवस्थापन सरकारले गर्ने र सञ्चालन नेपाली सेनाले गर्ने गरी उद्योग चलाउनुपर्ने सुझाव सहित प्रतिवेदन बुझायो । उद्योगमा भएका ४८० वटा मेसिनमध्ये करिब दुईसय वटा मेसिन मर्मतपछि सञ्चालन गर्न सकिने र अरु काम नलाग्ने अवस्थामा पुगेको प्रतिवेदनमा उल्लेख छ ।
उद्योग पुनः सञ्चालनको लागि करिब ५० वटा नयाँ मेसिन खरिद गर्नुपर्ने र ३० करोड लगानी भए उद्योग सञ्चालन हुन सक्ने तथ्य सहितको प्रतिवेदनमा छ । तर, प्रतिवेदन माथि मन्त्रालयमा गहन छलफलसँगै कार्यन्वयनको प्रक्रिया अघि बढाइएको छैन । हरेक मन्त्री जिम्मेवारीमा आएपछि नयाँ काम देखाउने होडका कारण अध्ययन कार्यदल बनाइहाल्छन् तर, समयक्रमसँगै यो विषय ओझेलमा पर्ने गरेको छ । अनलाइन खवरबाट ।






