सीको भ्रमणअघि ‘सी विचार’ बुझाउन चीनबाट आए ४० जना

जनपत्र
४ आश्विन २०७६, शनिबार ०५:५५

चिनियाँ कम्युनिस्ट पार्टीको अग्रसरतामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग हुन लागेको अन्तरक्रियाका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको विदेश, पार्टी स्कुल र संगठन विभागका तर्फबाट कार्यपत्र पेस गर्ने गरी आयोजना हुने कार्यक्रममा भाग लिन ४० जना काठमाडौं आइसकेका छन् भने अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ शनिबार आइपुग्दै छन्।

सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच पहिलो पटक यो स्तरको वैचारिक छलफल हुन लागेको हो। यसअघि पार्टीको उच्च नेतृत्व तहमा मात्रै हुँदै आएको वैचारिक छलफल यसपाली चीनको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि वृहत् रुपमा आयोजना गरिएको हो। कुनै आकस्मिक परिवर्तन भएन भने राष्ट्रपति सी असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तयारी छ। २३ वर्षपछि चीनका राष्ट्राध्यक्षले नेपाल भ्रमण गर्न लागेका हुन्, जसलाई एउटा ऐतिहासिक अवसर मानिएको छ।

दोस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाधिक शक्तिशाली महासचिव र राष्ट्रपति चयन भएसँगै सी चिनफिङले पार्टी विधानमै ‘सी चिनफिङ विचारधारा’ समावेश गरेका छन्, जसलाई चीनमा माओत्सेतुङपछिकै वैचारिक विकास मानिएको छ। माओपछि सीलाई नै चीनको नेताका रुपमा स्थापित गर्नेगरी उनको विचारलाई अहिले अन्तर्राष्ट्रिय रुपमा समेत स्थापित गरिँदै छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*