‘कबड्डी कबड्डी कबड्डी’ ले गर्‍यो धमाकेदार ओपनिङ

जनपत्र
४ आश्विन २०७६, शनिबार ०५:५२

गएको जेठमा प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ पछि नेपाली फिल्मको व्यापार खस्किएको छ । आश गरिएका फिल्मले समेत राम्रो व्यापार गर्न सकेका छैनन् । साउन र भदौमा प्रदर्शनमा आएका तीन ठूला फिल्म ‘हजार जुनीसम्म’, ‘जाइरा’ र ‘मारुनी’ ले नेपाली फिल्मको व्यापार चलायमान बनाउने अपेक्षा गरिएको थियो । तर, यी कुनै फिल्मले हलमा दर्शक आकर्षित गर्न सकेनन् । जसले फिल्मकर्मीमा निराशा छाएको थियो ।
स्टारकास्ट भएका फिल्म समेत बक्सअफिसमा पत्तासाफ हुँदा अहिले फिल्म निर्माण र प्रदर्शन गर्न निर्माता डराएको अवस्था छ । यसबीच, संविधान दिवसको सार्वजनिक विदा पारेर शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले केही आशाको किरण देखाएको छ । फिल्मले प्रदर्शनको पहिलो दिन देशभर आक्रामक व्यापार गरेको रिपोर्ट प्राप्त छ । भने, फिल्म हेरेका दर्शक सन्तुष्ट भएर निस्किएका छन् ।
राजधानी र मोफसलका अधिकांश मल्टीप्लेक्सहरुमा कब्जा जमाएको यो फिल्मले शुक्रबार क्यूएफएक्स चेनमा बिहानदेखि साँझसम्म ९५ प्रतिशतको आसपासमा अकुपेन्सी कायम गरेको जानकारी प्राप्त छ । क्यूएफएक्सले आफ्नो देशभर छरिएका ९ स्टेशनमा शुक्रबारका लागि कुल ६२ सोज बाँडेको थियो । राजधानीका पाँच स्टेशनमा फिल्मलाई बाँडिएको ३८ सोज शुक्रबार सबै हाउसफुल भए । भने, मोफसलका स्टेशनमा पनि दर्शक भरिभराउ देखिए ।
शुक्रबार फिल्म हेर्न हलमा उत्रिएको भीड देखेर शनिबारका लागि क्यूएफएक्सले तीन सोज बढाएको छ । राजधानीमा सञ्चालित अन्य मल्टीप्लेक्सहरुले पनि शनिबारका लागि फिल्मको सोजमा वृद्धि गरेका छन् । एफक्यूब सिनेमाजले फिल्मलाई २ सोज बढाउँदा विग सिनेमा, सिडिसी सिनेमा र क्यूजले समान्तर १र१ सोज थपेका छन् । वितरक मनोज राठीले फिल्मले यस वर्षको सबैभन्दा ठूलो ओपनिङ हासिल गर्न सफल भएको दाबी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*