‘वडा नम्बर ६’ फ्लेवरको ‘छ माया छपक्कै’ ट्रेलर ‘भिडियो’

फिल्ममा कलाकार दीपकराज गिरी राजनीतिज्ञको भूमिकामा छन् । उनको प्रेम आफूभन्दा आधा उमेर कम युवती केकी अधिकारीसँग हुन्छ । केकीका पिता पनि राजनीतिज्ञ हुन्छन् । तर, पार्टी फरक । राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावलाई ट्रेलरमा देखाउन खोजिएको छ । फिल्मको ट्रेलरमा कमेडीलाई प्रधानता दिइएको छैन । केही गम्भीर छ । यद्यपि, केदार घिमिरेको हाउभाउ र संवादले भने दर्शक हँसाउँछ ।
दीपेन्द्र लामा निर्देशित फिल्ममा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारहरुको अभिनय छ । असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्ममा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् । फिल्मलाई हरि हुमागाइँले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरिरहेका छन् । ट्रेलर सार्वजनिक कार्यक्रममा दीपकराजले ‘वडा नम्बर ६’ फ्लेवरमा ‘छ माया छपक्कै’ निर्माण नभएको बताए ।