मन्डपबाट उठेर दुलही गइन् परीक्षा दिन, बेहुला कुरिरहे…

खासमा संसारमा मानिसका स्वभाव र चाहना फरक फरक हुन्छन् । त्यसैले त कहिलेकांही झट्ट सुन्दा पत्यार नै नलाग्ने समाचारहरु पनि आइरहेका हुन्छन् । झन्, विवाहको सिजनमा त विवाहसम्बन्धी समाचारले हामीलाई कहिलेकांही अचम्ममा पारिदिन्छ ।
एउटा यस्तै समाचार छ । तर, यो नेपालको समाचार होइन । भारतको महाराष्ट्रको औरंगावाद भन्ने ठाउँको हो । त्यहाँ १२ कक्षा पढ्दै गरेकी युवतीले पढाइप्रति आफ्नो प्रतिबद्धता देखाएकि हुन् । उनी विवाहको मन्डपबाट उठेर परीक्षा दिन गइछन् । २० वर्षकी रेणुका पावरले आफ्नो विवाहमा पहिले १२ कक्षाको अर्थशास्त्र विषयको परीक्षा दिन गएकी हुन् ।
उनले पहिले नै परिवारलाई आफ्नो परीक्षाको दिन विवाहको मिति नतोक्न अनुरोध गरेकी रहिछिन् । तर, उनको कुरा सुनिएनछ । त्यसैले उनी विवाहको दिन विहान मन्डपमा गएपछि परीक्षा दिन पुगिछिन् । परीक्षा सकाएर आउँदा उनलाई त्यहाँ भव्य स्वागत गरिएको र उनको र शंकर नामका युवाको विवाह भएको भारतीय सन्चारमाध्यममा समाचार छ ।