डा भगवानको नेतृत्वमा बनिरहेको बाल अस्पतालका लागि मीनबहादुरले ४१ करोड सहयोग गर्ने

भावुक हुँदै डा कोइरालाले भने- इट इज ह्युज अमाउन्ट, दिस इज गेम चेन्जर
जनपत्र
२९ बैशाख २०८१, शनिबार ०६:०२

वरिष्ठ मुटु शल्यचिकित्सक डा भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको बाल अस्पतालका लागि भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड सहयोग गर्ने भएका छन्।

डा कोइरालाको नेतृत्वमा काठमाडौंसहित देशका सातवटै प्रदेशमा बाल अस्पताल बन्दैछ। काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) अन्तर्गत अस्पतालहरु बन्न लागेका हुन्। गुरुङले शुक्रबार हेपाली हाइटमा रहेको किओचको कार्यालय र कार्यालय परिसरमा बनिरहेको अस्पताल क्षेत्रमा पुगेर ४१ करोड सहयोग गर्ने घोषणा गरेका हुन्।

अस्पताल निर्माणको काम भइरहेको क्षेत्र देखाउँदै डा कोइरालाले काठमाडौं र काठमाडौं बाहिर भइरहेको कामका विषयमा गुरुङलाई जानकारी दिएका थिए। उक्त जानकारी सुनेपछि गुरुङले सहयोग घोषणा गरेका हुन्।

गुरुङले एक्कासी ४१ करोड सहयोग गर्ने घोषणा गरेपछि डा कोइराला भावुक बनेका थिए। उनले गुरुङलाई धन्यवाद दिँदै यो रकमले ठूलै उपलब्धि हासिल हुने प्रतिक्रिया दिए। ‘थ्यांक्यू सो मच। इट इज ह्युज अमाउन्ट। दिस इज गेम चेन्जर।’

गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको किओचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ। दमकमा एक वर्षअघि देखि सेवा सुरु भइसकेको छ। किओचले राजधानी काठमाडौंमा एक सय शय्याको अस्पताल निर्माण गर्नेछ। त्यसपछि सातवटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा कोइरालाले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*