काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगको सुझाव अनुसार प्रहरी र सरकारी कर्मचारीलाई कारबाही सिफारिस गर्न बनेको गृह मन्त्रालयको समितिले प्रतिवेदन बुझाएको छ ।
मन्त्रालयको कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा गठित समितिले आचार्य आयोगको सिफारिसलाई अध्ययन गरेर थप कारबाही गर्न सिफारिससहित प्रतिवेदन बुझाएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
उनका अनुुसार, रिजाल नेतृत्वको समितिलाई पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले गरेको भन्दा फरक सिफारिस गर्ने क्षेत्राधिकार थिएन । ‘आयोगको प्रतिवेदनलाई अध्ययन गरेर त्यसको जिस्ट निकालेर कानुनी दफा उल्लेख गर्दै थप कारबाहीका लागि बुँदागत रुपमा लेख्नुभएको छ’, भट्टराईले भने, ‘त्यसअनुसार, सम्बन्धित विभागमार्फत आयोगले कारबाही सिफारिस गरेकाहरुमाथि कारबाही हुन्छ ।’
आयोगले सुन तस्करी प्रकरणमा तत्कालीन सीआईबी नेतृत्वबाट गम्भीर त्रुटि भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रमुख एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरेको थियो ।