घुस लिँदै गर्दा विद्यालयका प्रधानाध्यापकसहित ६ जना पक्राउ

वीरगञ्ज महानगरपालिकामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापकसहित ६ जना घुससहित पक्राउ परेका छन्।
वीरगञ्ज महानगरपालिका–३१ वेल्वा प्रसौनी टोलमा रहेको विद्यालयका प्रधानाध्यापक सचिन्द्र कापरसहित सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो, विद्यालय व्यवस्थापन समितिका सदस्य इलियास मियाँ अन्सारी, जमिल मियाँ र नजमुद्दिन मियाँ देवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।
वीरगञ्जकै एक चिया पसलमा घुस बापत एक लाख रुपैयाँ लिइसकेको अवस्थामा उनीहरुलाई अख्तियारको क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको हो।
गणित विषयको लागि करारमा नियुक्त गरिदिने भन्दै शिक्षकको जागिरका लागि फर्म भरेकाहरुसँग जनही एकलाख रुपैयाँ घुस माग गरेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनीहरु सबैजनालई अख्तियारको टोलीले थप अनुसन्धानको लागि क्षेत्रीय कार्यालय हेटौँडा लगेको छ।