सार्वजनिक शिक्षा प्रणालीको सवलीकरणमा ध्यान दिनुपर्ने पक्षहरु
सन्दर्भः
प्रत्येक वर्ष सेप्टेम्बर ८ का दिन राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइने सन्दर्भमा भाद्र २२ गते (सेप्टेम्बर ८) आइतबार विविध कार्यक्रम आयोजना गरी ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विद्यालय, स्थानीय तह, प्रदेश स्तर र केन्दीय तहमा “हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण ”भन्ने मूल आदर्श वाक्यका साथ मनाइएको छ ।
प्रत्येक वर्ष शिक्षा दिवसको आदर्श वाक्य तय गरी प्रचार प्रसार र त्यसका बारेमा छलफल, बहस, प्रवचन, पुरस्कार वितरण र अन्तरक्रिया गरी मनाइने गरिएको छ । विक्रम सम्वत् २०३१ सालमा शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले बञ्चित हुन नपरोस भन्ने आदर्श वाक्यका साथ शुरु गरिएको शिक्षा दिवस मनाउन थालेको चार दशक पुरा भइसकेको छ ।
शिक्षा दिवसको प्रत्येक वर्ष राखिएका नारालाई हेर्दा शिक्षामा पहूँच, व्यवस्थापन, जनसहभागिता, सिर्जनशीलता, गुणस्तर सुधार तथा प्रविधिमैत्री शिक्षण जस्ता पक्षलाई समेटेको पाइन्छ । शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो । शिक्षाको उचित व्यवस्थापन र विकास नभई समग्र राष्ट्रको विकास कल्पना पनि गर्न सकिन्न ।
त्यस्तै गरी साक्षरतालाई जीवनयापनका लागि मूख्य आधार मानिन्छ यसले व्यक्तिको हरेक क्रियाकलापको सम्भावनालाई उजागर गर्दछ । विभिन्न प्रयासका फलस्वरुप शिक्षामा पहूँच बढेपनि समग्र शिक्षा प्रणालीको व्यवस्थापन, सरोकारवालाको प्रत्यक्ष र सार्थक सहभागिता र गुणस्तर सुधार सार्वजनिक शिक्षा प्रणालीको अहिलेको ज्वलन्त पक्ष बनिरहेको सन्दर्भमा सार्वजनिक शिक्षा प्रणालीको सवलीकरणलाई एउटा महत्वपूर्ण पाटोको रुपमा अगाडि बढाइएको देखिन्छ । यस वर्ष तय गरिएको आदर्श वाक्यले सार्वजनिक शिक्षा प्रणालीको सबलीकरणका लागि सबैले प्रण गर्ने भनिएको हुदाँ त्यसै विषयसंग जोडिएर यस छोटो लेखमा प्रस्तुति गर्ने जमर्को गरिएको छ ।
शिक्षा प्रणालीः
प्रणाली एउटा पद्धति हो जसले साझा उद्देश्य प्राप्त गर्न व्यवस्थित अवयवहरुलाई एकीकृत रुप प्रदान गर्दछ । जुनसुकै व्यक्ति, संस्था, समाज, राज्य र व्यवस्था प्रणालीका आधारमा चल्ने गर्दछ त्यस्तै गरी शिक्षा प्रणाली भन्नासाथ त्यसमा गरिने लगानी, प्रक्रिया र प्रतिफल वा उत्पादनको समग्र रुपलाई जनाउँदछ । यी तीनवटै पक्षको उचित व्यवस्थापनले मात्र शिक्षा प्रणाली दरो बन्न सक्दछ । शिक्षामा गरिने लगानीकै कारण शिक्षाको लक्ष्य र उद्देश्य प्राप्त गर्न त्यसका अवयवहरुले सफलता पूर्वक कार्य गर्न सक्दछन् ।
त्यसै गरी शिक्षा प्रणालीमा प्रक्रिया वा व्यवस्थापन अर्को महत्वपूर्ण पाटो हुन्छ । हामीले गर्ने व्यवस्थापकीय पक्ष र शैक्षिक संस्थामा गरिने शिक्षण सिकाइ क्रियाकलापले प्रणलीलाई कता लैजादैछ भनेर अनुमान गर्न सकिन्छ । गरिएको लगानी अनुसार प्रक्रिया राम्रो भएमा उपलव्धी उलेख्य मात्रामा प्राप्त गर्न सकिन्छ । शिक्षा प्रणालीमा उपलव्धी वा प्रतिफललाई उतीर्ण र गुणस्तरसित जोडेर हेरिन्छ ।
हाम्रो शिक्षा प्रणाली विशेष गरी सार्वजनिक शिक्षामा सरकारी बजेट गत विगतको भन्दा घट्दै जानु, शिक्षामा गरिने लगानीलाई महत्व नदिइनु, समयानुकूल शिक्षक दरवन्दी थप नहुनु, नक्साङ्नका आधारमा विद्यालयको पुनर्वितरण गर्न नसक्नु र शिक्षण फलदायी हुन नसकेकै कारण अपेक्षाकृत नतिजा हासिल नहुँदा कतै शिक्षा प्रणाली नै असफल भएको त हैन भनेर भन्ने गरिएको छ ।
कुनै पनि देशले अपाउने शिक्षा पद्दति वा प्रणालीले नै लगानी, प्रक्रिया र उत्पादनलाई गति दिने गर्दछ । आज संसारका विकसित देशले शिक्षामा अपनाएका उपयुक्त प्रणाली कै कारण हरेक क्षेत्रमा अव्वल हासिल गरेका हुन् ।
शिक्षा प्रणालीका सहयोगात्मक पक्षहरुः
प्रणाली आफै दरिलो हुदैन यसलाई स्थापित गर्ने र दरिलो बनाउने कार्य त्यससित सम्बन्धित पक्षले गर्नु जरुरी हुन्छ । सरकारले लिएका नीति, शिक्षासंग सम्बन्धित ऐन, नियम, कार्यविधि, पाठ्यक्रम, पाठ्यसामग्री, शिक्षक व्यवस्थापन, तालिम, शिक्षक सेवाशर्त र सुविधा, शिक्षण सिकाइ क्रियाकलाप र मूल्याङ्कनले शिक्षा प्रणाली कस्तो बनाउने र कता लैजाने भन्ने निर्धारण गर्दछ ।
यी उल्लिखित पक्षहरु उपयुक्त र प्रभावकारी भएमा पक्कै पनि शिक्षा प्रणाली सवलीकरण र दरिलो हुन्छ । सार्वजनिक शिक्षा सबैको लागि हुन्छ हाम्रो सन्दर्भमा सार्वजनिक शिक्षाप्रति धारणा सकारात्मक बनाएको पाइदैन । देशभर अध्ययनरत विद्यार्थीमध्ये ७७ प्रतिशतलाई सामुदायिक विद्यालय र २३ प्रतिशतलाई निजी शैक्षिक संस्थाले सेवा प्रवाह गरिरहेको वर्तमान अवस्थामा समयानुकूल शिक्षा नीतिका साथै शैक्षिक संस्थामा भौतिक र सामाजिक रुपले सुरक्षित वातावरण, विद्यार्थी, शिक्षक, कर्मचारीको उच्च मनोवृत्ति, प्रधानाध्यापकको उपयुक्त शैक्षिक नेतृत्व, विद्यार्थी केन्द्रीत शिक्षण सिकाइ, निरन्तर परामर्श र मार्गदर्शन, सिकारुको अध्ययनलाई टेवा पुग्ने अतिरिक्त क्रियाकलाप, चुस्त दुरुस्त प्रशासन, समूहकार्य वा सामुहिकताको भावना अनुसारको कार्य, निरन्तर र सबैसंगको उचित समन्वय र सञ्चार, अभिभावकको सार्थक संलग्नताले शिक्षा प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पु¥याउन सक्दछन् ।
केही बाधा वा समस्याः
राष्ट्रिय शिक्षा पद्धतिको योजनाले शिक्षा प्रणालीलाई स्थापित गरेसंगै व्यावसायिक शिक्षाको शुरुवात ग¥यो । शिक्षाको राष्ट्रिय र तहगत उद्देश्य, पाठ्यक्रम, शिक्षक दरबन्दी र व्यवस्थापन, विद्यालय स्थापना, शिक्षक तालिम लगायत हाम्रा लागि धेरै नयाँ विषय भएपनि समय सन्दर्भमा व्यवस्था परिवर्तनसंगै शिक्षा प्रणालीमा फेरबदल ल्याइयो ।
बहुदलीय व्यवस्था स्थापनादेखि हालको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा मूलरुपमा शिक्षाको राष्ट्रिय उद्देश्य र पाठ्यक्रम, शिक्षक नियुक्ति र तालिममा फेर बदल गरिएको भएपनि हाम्रा प्रवृत्ति र सोचाइमा रुपान्तरण हुन सकेनन् । शिक्षा प्रणालीलाई दरिलो बनाउने भन्दा अन्य काममा बढी ध्यान दिनाले हाम्रो सार्वजनिक शिक्षाले अपेक्षाकृत फड्को मार्न नसकेको तथ्यलाई स्वकिार गनुपर्दछ ।
ल्याइएका नीति तथा ऐन कानुनहरुको प्रभावकारी कार्यान्वयन भन्दा त्यसलाई आफु अनुकूल बनाउने र व्याख्या गर्ने तथा सबैले आफ्नो जिम्मेवारी र कर्तव्य भन्दा अरुलाई दोष वा खोट देखाउने मानसिकताले सार्वजनिक शिक्षा प्रणाली सुधार हुन सकेन । प्रत्येक तहमा बस्ने पदाधिकारीले समस्या मात्र देखाउने, उपलव्ध स्रोत साधनको अधिकतम उपयोग भन्दा पनि नभएको सामग्री र कुरामा ध्यान जाँदा प्रणाली कमजोर हुन पुग्यो जसको फलस्वरुप सार्वजनिक शिक्षाप्रति जनविश्वास आर्जन गर्न कठिनाई परेको छ । नकारात्मक सोच, काममा भन्दा कुरामा बढी रमाउनु, दोषारोपण गर्ने प्रवृत्ति र इमान्दार नीति तथा विधिलाई कार्यान्वयन गर्न नसक्नु नै हाम्रा बाधा हुन् ।
ध्यान दिनुपर्ने केही पक्षहरुः
शिक्षा प्रणालीको सवलीकरणका लागि लगानी, प्रक्रिया र उत्पादनको हरेक पक्षमा विश्लेषण गरिनुपर्दछ । सुधारका लागि सानो प्रयास पनि ठूलो हुन सक्दछ । हाम्रो प्रणालीमा व्यवस्थापकीय पाटो पनि ज्यादै कमजोर रहेको छ भन्न सकिन्छ । समुदायको बढ्दो चाहना र आवश्यक्ता अनुसार लगानी कम हुनु, लगानीलाई सकेसम्म बढी उपलव्धी प्राप्त हुने गरी व्यवस्थापकीय चाँजो मिलाउन नसक्नु काममा भन्दा कुरामा ध्यान दिनु जस्ता कारणले हालकै लगानी अनुसारको प्रतिफल पनि प्राप्त गर्न नसकेको तथ्यलाई स्वीकार गरौं ।
सार्वजनिक शिक्षा जुन नेपालका ८० प्रतिशत भन्दा बढी बालबालिका सहभागी छन् यसको सवलीकरण केवल आर्दशका कुरा मात्रले हुदैन त्यस अनुसारको व्यवहार देखाउन जरुरी छ एकले अर्कोलाई गाली गर्ने अनि काम गर्ने जिम्मा अर्को पक्षलाई मात्र थोपर्दा पक्कै सुधार हुन सक्दैन । सार्वजनिक शिक्षा प्रणाली सुधारका लागि निम्न पक्षमा योजनावद्ध रुपमा ध्यान दिन जरुरी छ ।
सरकारले सार्वजनिक शिक्षामा हालको कूल बजेटको १०.६० प्रतिशतबाट क्रमश २० प्रतिशतसम्म शिक्षाक्षेत्रलाई छुट्याउने ।
तीनै तहका सरकारको संलग्नतामा देशभरका शैक्षिक संस्थाको नक्साङ्कन गरी पुर्नव्यवस्थापन गर्ने ।
आधारभूत तह कक्षा ६ देखि ८ र माध्यमिक तहको दरवन्दी विद्याथी सङ्ख्या र विषयको आधारमा सिर्जना गर्ने ।
शिक्षक दरवन्दी केन्द्रीय तहबाट मिलान गर्ने शिक्षक नभएका स्थानमा अनिवार्य शिक्षक पुग्ने व्यवस्था मिलाउने ।
शिक्षकको वृत्ति विकास विषयगत उपलव्धीसंग जोड्ने र त्यसैका आधारमा थप प्रोत्साहन दिने ।
स्थानीय तहमा ठूला स्कूलको अवधारणा अनुसार कक्षा ४ देखिमाथि आवासीय विद्यालय बनाउने र शिक्षक विद्याथीलार्ई आवासीय रुपमा बस्ने व्यवस्था गर्ने ।
विद्यार्थीको पठनपाठनप्रति विद्यालयले जिम्मेवारी लिने र विषयगत रुपमा शिक्षक उत्तरदायी बन्ने ।
भौगोलिक दूरी विद्यार्थी सङ्ख्या र स्थानीयको बसाइका आधारमा विद्यालय गाभ्ने र तह घटाउने
जुन जिल्लामा विद्यार्थीको तुलनामा शिक्षक दरवन्दी बढी रहेका छन् त्यसलाई केन्द्रमा पुल दरवन्दीमा राखी रिक्त दरवन्दी विद्यार्थी बढी भएको जिल्लामा क्रमश पठाउने व्यवस्था गर्ने
संघीय शिक्षा ऐनको व्यवस्था तत्कालै गरी प्रदेश शिक्षा ऐन र स्थानीय तहमा शिक्षा ऐन संघीय ऐनसित नबाझिने गरी बनाउने ।
विद्यालय कर्मचारी र विभिन्न अनुदानमा कार्यरत शिक्षकसंग सम्बन्धित विषयहरु सम्बोधन गर्ने ।
शिक्षण सिकाइको रुपान्तरणका लागि हालको शिक्षण विधि र प्रविधिमा आमूल परिवर्तन गर्ने ।
नतिजा उच्च ल्याउन सहयोग गर्ने शिक्षक कर्मचारी र प्रधानाध्यापकलाई प्रोत्साहन गर्ने ।
हाम्रा भन्दा राम्रा वा असल भन्ने मान्यतालाई व्यवहारमा नै कार्यान्वयन गरी देखाउने ।
शैक्षिक संस्था र बालबालिकाप्रति अभिभावकको दायित्वलाई जानकारी गराउन सचेतनामूलक अभिभावक शिक्षा र बाध्यकारी व्यवस्था तुल्याउने ।
लागत साझेदारीका आधारमा तल्ला तहमा दिवा खाजाको व्यवस्था अनिवार्य मिलाउने ।
सैद्धान्तिक शिक्षाभन्दा जीवनोपयोगी शिक्षालाई अवलम्बन गरी स्वरोजगारसंग जोड्ने ।
नैतिक आचरण सुधार र सामाजिक भावनाको विकासलाई शिक्षामा अभिन्न अङ्ग बनाउने ।
सार्वजनिक शिक्षा सबैको चासोको विषय हो । शिक्षामा गरिने लगानीलाई आवश्यक्ता अनुसार बढाई त्यसै अनुसारको प्रक्रिया वा व्यवस्थापन गरेमा पक्कै पनि नतिजा उच्च हुन्छ । सार्वजनिक शिक्षा प्रणालीको सवलीकरणका लागि व्यवहारमा परिवर्तन जरुरी छ । त्यस परिवर्तनको नेतृत्व मूलतः शिक्षकले लिनु पर्दछ यसका साथै विद्यार्थी, अभिभावक र शिक्षाप्रशासन पनि संगसंगै हुन जरुरी छ । लेखक जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) हेटौडाका प्रमुख हुनुहुन्छ ।







