‘पासवर्ड’ प्रिमियरका लागि नेपाल आइन् सन्नी

फिल्म ‘पासवर्ड’ को ‘नाम मेरो सन्नी’ बोलको गीतमा सन्नीले नृत्य प्रस्तुत गरेकी छन् । यो गीतलाई यूट्युबमा ४० लाखभन्दा बढीको नजर परिसकेको छ । फिल्ममा उनको अभिनय पनि रहेको निर्माण टिमले बताएको छ । नेपाल सबैभन्दा मनपर्ने देश बताउने उनले पहिलो पटक नेपाली फिल्ममा काम गरेकी हुन् । उनी यो फिल्मलाई लिएर निकै उत्साहित छिन् ।
अभिनेत्री सन्नीले ‘पासवर्ड’ को गीतमा नृत्य गर्न नेपाली तीन करोड पारिश्रमिक बुझेको चर्चा छ । यस गीतको छायांकनका लागि उनी डान्स कोरियोग्राफर विष्णु देवालाई साथमा दिएर भारतबाट लण्डन पुगेकी थिइन् । गीत यूट्युबमा सार्वजनिक भएपछि उनले ट्वीटरमार्फत् नेपाली फिल्मको हिस्सा बन्न पाएकोमा गर्व महशुस भएको बताएकी थिइन् ।
अभिनेत्री सन्नीको यो तेस्रो नेपाल यात्रा हो । यसअघि उनी दुईपटक नेपालको रमणीय स्थान घुम्न र आफू ब्रान्ड एम्बसेडर रहेको कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्न नेपाल आएकी थिइन् । उनी श्रीमान् डेनियल वेबरसँगै नेपाल आउने गरेकी छन् । यसपटक पनि उनले श्रीमानलाई साथमा लिएर आएकी छन् । बलिउडमा उनी एडल्ट फिल्म गर्ने अभिनेत्रीको रुपमा चिनिन्छिन् ।