मकवानपुरका चेपाङले मनाए न्वागी

जनपत्र
२६ भाद्र २०७६, बिहीबार १८:४४

मकवानपुर । प्रकृति पूजा गरेर चेपाङ समुदायले न्वागी पर्व मनाएका छन्। आइतबार राति एकपाखे ढ्याङ्ग्रो बजाएर पान्देई घ्यासा ९पितृ मन्छाउँदै० न्वागी पर्व मनाइएको हो।

प्रकृति पूजासँगै नयाँ बाली प्रकृतिलाई चढाएर उनीहरूले वर्षभरि खान पुगोस् भनेर कामना गरे। नयाँ उब्जिएको अन्नबाली मकै, केरा, पिँडालु, निबुवा, घैया, धानलगायत प्रकृतिलाई चढाइएको हो। चेपाङ समुदायको प्रमुख पर्व न्वागीमा घरमा भित्र्याएको नयाँ अन्नबाली प्रकृतिलाई चढाएपछि मात्र खाने गरिन्छ। न्वागीपछि अनिकाल सकेर सहकाल आएको मानिन्छ।

चेपाङ बाहुल्य मकवानपुर, धादिङ र चितवनका चेपाङले मकवानपुरको राक्सिराङस्थित चैनपुरमा सामूहिक रूपमा न्वागी मनाएका हुन्। प्रकृति पूजक चेपाङहरू एकै कुल भित्रकाहरू एक ठाउँमा जम्मा भएर न्वागी मनाउँछन्। पितृ र प्रकृतिलाई नचढाई नयाँ बाली खाएमा अनिकालले सताउने विश्वास रहेको चेपाङ पुजारी पाण्दे तथा नेपाल चेपाङ संघ मकवानपुरका अध्यक्ष पूर्णबहादुर चेपाङले बताए।

‘हामी प्राकृतिक धर्म मान्ने भएकाले प्रकृतिलाई नचढाई नयाँ कुरा खाँदैनौ, यसो गर्दा पितृले पनि दुःख दिँदैनन् भन्ने विश्वास छ’, उनले भने। २२ नाले वंशावली भएकाले चेपाङले भदौ २२ गते न्वागी मनाउने गरेको अध्यक्ष चेपाङले बताए।
परम्परा संरक्षणको लागि पनि एकै ठाउँमा भेला भएर न्वागी मनाइएको ३ नम्बर प्रदेशसभा सदस्य सन्त चेपाङले बताए। ‘विभिन्न कारणले न्वागी मनाउने क्रम घट्दै गएको छ, यसलाई नयाँ पुस्तामा बचाइराख्न हामीले सामूहिक रूपमा प्रत्येक वर्ष छुट्टाछुट्टै ठाउँमा न्वागी मनाउँदै आएका छौं’, उनले भने।

चेपाङ समुदायको धर्म र संस्कृतिमा अन्य धर्मको हस्तक्षेप बढेपछि नेपाल चेपाङ संघले आठ वर्षदेखि सामूहिक रूपमा न्वागी पर्व मनाउन थालेको नेपाल चेपाङ संघका पूर्वअध्यक्ष गोविन्द चेपाङले बताए। नेपाल चेपाङ संघका अनुसार ३० प्रतिशत चेपाङले पछिल्लो एक दशकको बीचमा क्रिश्चियन धर्म अँगालेका छन्।

चेपाङ समुदायले विगत सात वर्षदेखि न्वागी पर्वमा सार्वजनिक बिदा दिन माग गर्दै आएका छन्। ‘हामीले अन्य जातजातिको मुख्य पर्वमा जस्तै आफ्नो समुदायको मुख्य पर्व न्वागीमा पनि चेपाङ बाहुल्य रहेको क्षेत्रमा सार्वजनिक बिदा दिन माग गर्दै आएका छौं’, नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले भने, ‘तर सरकारले सुनुवाइ गरेको छैन।’

मकवानपुरको चेपाङ बाहुल्य रहेको राक्सिराङ गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको थियो। मनहरी गाउँपालिकाले विद्यालयमा बिदा दिएको थियो। २०६८ सालको जनगणनाअनुसार चेपाङ समुदायको जनसंख्या ६७ हजार नौ सय तीन रहेको तथ्यांक छ। अन्नपुर्ण पोष्टबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*