के जयशंकरले ओलीलाई धम्क्याएका थिए ?
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले पछिल्लो समय विश्व राजनीतिक मञ्चमा प्रभावशाली कूटनीतिज्ञ र राजनीतिज्ञ छवि बनाइरहेका छन् । चाहे रुससँगको सैन्य सहकार्यको विषयमा होस् वा चीनसँगको सीमा समस्याका विषयमा पश्चिमा मुलुकले भारतलाई हेर्ने दृष्टिकोण परिवर्तन गराउनुमा जयशंकरको भूमिका महत्वपूर्ण छ ।
तर नेपालको हकमा भने उनलाई २०७२ सालको नाकाबन्दीका सूत्रधारका रूपमा बुझ्ने गरिन्छ । ३ असोज ०७२ मा नेपालको नयाँ संविधान जारी गर्ने तय भएको थियो । त्योभन्दा दुई दिनअघि नै १ असोजमा संविधान जारी गर्ने कार्यक्रम स्थगन गर्ने प्रस्ताव लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत बनेर तत्कालीन विदेश सचिव जयशंकर काठमाडौं आएका थिए । तर, नेपालले उनको कुरा सुन्न सक्ने अवस्था थिएन । परिणामतः नेपालको नयाँ संविधान जारी भयो ।
तर जयशंकरको कूटनीतिक करिअरमा भने त्यसले नकारात्मक छवि बनाउन पुग्यो। उनी भारत फर्किएलगत्तै भारतले नेपालमा नाकाबन्दी लगायो । ६ महिनासम्म लागेको उक्त नाकाबन्दीले नेपाल र भारत बीचको सम्बन्धमा थप दरार पैदा गरेको थियो ।
नेपालले संविधान जारी गर्दा आफ्ना सुझाव नसुनेको भन्दै नाकाबन्दी लगाएको आरोप उनीमाथि लाग्दै आएको छ ।
यसै विषयसँग सम्बन्धित रहेर भारतीय सञ्चार संस्था इन्डिया टुडे ग्रुपबाट सञ्चालित द ललनटपका सम्पादक सौरभ द्विवेदीले उनै जयशंकरसँग नेपालको सन्दर्भमा गरेको कुराकानीको सम्पादित अंश ।
नेपालसँग यसै पनि फरक सम्बन्ध छ । हाम्रो सभ्यता, धार्मिक कनेक्सन, पछिल्लो प्रधानमन्त्रीको लुम्बिनी भ्रमण वा पशुपति महादेवको मन्दिर र साँस्कृतिक तालमेलका दृष्टिकोणले पनि सबै छिमेकीमध्ये नेपाल फरक छ । सन् १९५० को सन्धिअनुसार हेर्ने हो भने पनि सिमानामा यत्तिको खुलापन अरूसँग छैन ।






