ग्यास पनि पाइपबाटै पठाउन भारतीय पक्षको जोड, नेपालको प्रशंसा

विभिन्न चुनौती पन्छाएर पेट्रोलियम पाइपलाइनको काम सकिएकोमा भारतीय आयल कर्पोरेसन ‘आईओसी’ ले नेपालको प्रशंसा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्विच थिचेर पाइपलाइनको उद्घाटन गरेपछि अमलेखगञ्जमा भएको विशेष कार्यक्रममा आईओसीका पदाधिकारीले नेपालको प्रशंसा गरेका हुन ।
‘मानवबस्ती भएको र निकुञ्ज क्षेत्रमा पनि नेपालले सक्रियतापूर्वक काम गरेर योजना सकिएको छ, म नेपालको प्रशंसा गर्दै धन्यवाद दिन चाहन्छु’, आईओसीका कार्यकारी निर्देशक जेपी सिन्हाले भन्नुभयो । निकुञ्ज रहेको ९ किलोमिटर क्षेत्रमा काम गर्न निकै गाह्रो हुने देखिए पनि नेपालले सजिलो बनाइदिएकोमा उहाँले नेपालको प्रशंसा गर्नुभयो । उहाँले अब भारतदेखि नेपालसम्म एलपीजी ग्यास पाइपलाइनको पनि काम सुरु गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
पेट्रोलियम पाइपलाइनको सफलताले ग्यास पाइपलाइनको संभावना उच्च देखाएको उहाँको भनाइ छ । अत्यन्तै सुरक्षित, भरपर्दो र वातावरणमैत्री भएकाले पनि पाइपलाइनबाटै इन्धनको कारोबार गर्नुपर्ने उहाँको भनाइ छ । यस्तै आईओसीका अर्का कार्यकारी निर्देशक अविजित चौधरीले एक वर्षसम्म पाइपलाइनको सञ्चालन र मर्मत सम्भारमा सहयोग र सहकार्य हुने बताउनुभयो ।