‘चपली हाइट ३’ घोषणा, स्वस्तिमाको जोडी महेश

दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चपली हाइट’ को तेस्रो पार्ट निर्माण हुने भएको छ । निर्देशक परिवर्तन गर्दै मंगलबार ‘चपली हाइट ३’ को औपचारिक निर्माण घोषणा गरिएको छ । फिल्मलाई ‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्काले निर्देशन गर्दैछन् । चैतमा प्रदर्शनमा आउने यो फिल्ममा पहिलो पार्टमा प्रमुख भूमिका निभाएका अभिनेता आमिर गौतम मात्र दोहोरिएका छन् ।
अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रुपमा निर्माण गर्ने फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहनेछ । अर्जुन कुमारले निर्माण गर्ने यो फिल्ममा उनको जोडी नव-अभिनेता महेश त्रिपाठीसँग बाँधिएको छ । फिल्म ‘रणवीर’ बाट अभिनयमा राम्रो सम्भावना देखाएकी अभिनेत्री सुपुष्पा भट्ट र नव-अभिनेता प्रतिक श्रेष्ठको पनि ‘चपली हाइट ३’ मा अभिनय रहनेछ ।