उपप्रधानमन्त्री लामिछानेका विषयमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ
काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने माग गरेको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो । तर सभामुख देवराज घिमिरे उक्त कार्यसूचीमा प्रवेश गर्नुअघि नै कांग्रेस सांसदहरु उठेर अवरोध गरेका छन् ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप लागेकाले त्यस विषयमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने बताए । ‘प्रधानमन्त्रीको जवाफ नआउँदासम्म माननीय उपप्रधानमन्त्रीजीको कार्यसूचीमा प्रवेश गर्न दिँदैनौं’ उनले भने ।
उपप्रधानमन्त्री लामिछानेविरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले पोखरामा जाहेरी दिएका छन् ।






