सक्कली किसानलाई गाई पाल्नमै भ्याई नभ्याइ, नक्कली किसानलाई अनुदान कुम्ल्याउने चटारो
मकवानपुर गढी । गाउँको बिचमा एउटा दुईतले घर, घरसंगै जोडिएको गाई, भैसी बाधेको गोठ । घर माथी र तल भई घाँस र अरु रुख घाँसका वोट बिरुवा । गाई पाल्ने किसानको उज्यालो अनुहार । घर वरपर गोठका दुईतर्फ बाँधिएका गाईका लस्कर । गोठको छेउमा तीन वटा भैसी । गाई र भैसीलाई सुम्सुम्याएर बस्ने दुव्ला किसान । मकवानपुर गढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेका रामप्रसाद दाहालको गाईगोठमा पुग्दा सबैले यस्तै देख्छन् ।
रामप्रसादले पशुपालन गर्न थालेको बषौ भईसक्यो । तर, व्यावसायीक रुपमा गाई पालन गरेको धेरै वर्ष भएको छैन । रामप्रसादको घरमा पुग्दा जो कोहीले उहाँलाई गोठमा वा घास लिन उहाँको घर भन्दा तलको पाखामा मात्र भेट्छन् कीत दुध बिक्री गर्न क्यान बोकेर दुग्ध डेरी तर्फ उभो लागेको भेटिन्छ । उहाँको नमुना योग्य गाई फाममा पुग्दा गोठमा गाईलाई घाँस हाल्दै हुनुहुन्थ्यो ।
सरकारी अनुदान कुम्ल्याउने नक्कली किसान होइन, वास्तिबक किसान रामप्रसाद
रामप्रसादको लामो गोठमा ३३ वटा लस्करै गाई बाधिएका छन् । अरु तीन वटा भैसी पनि पालिएका छन् । गाउँ वा शहरमा धेरै टाठा बाठा र राजनीतिक दलका नेता, उद्योगील, पूर्व कर्मचारीले जसरी गाई फाम खोलेर सरकारी अनुदान कुम्ल्याउनका लागि यो फाम खोलेर उहाँलाई गोठालो मात्र राखेका हुन् की भन्ने भान पनि धेरैलाई हुन्थ्यो । तर, कुरा गर्दै जाँदा बास्तवीक किसान उहाँनै हुन भन्ने सबैले बुझे । म अली नजिक गएँ, उहाँको शरिरमा गाईको गोवरको गन्द आईरहेको थियो । हातमा गाई दुहुँदाको दुधको गन्ध पनि थियो । अनी मलाई लाग्यो अरुको खोरका बाख्रा आफ्ना खोरमा ल्याएर बाधेर फोटो खिच्ने अनी अनुदानको फाईल, गाउँपालिका, प्रदेश सरकार र संघिय सरकारका कृषि मन्त्रालय सम्म पु¥याउने नक्कली किसान होइन बास्तबिक किसानको घरमा आईपुगेछु ।

नक्कली किसाले देखेका कुरा पनि अनुदान लिनका लागि धेरै कुरा ढाँटेका छन् । समाचार बनाउन फोटो खिचेर मेरै सञ्चार गृह सम्म आउका छन् । भएको भन्दा बढी लगानी देखाउने अनी अनुदानका लागि समाचार कटिङ देखाउने नक्कली किसान भन्दा बिल्कुलै फरक देखिने किसानको वास्तविक रुप उहाँमा देखिन्थ्यो । यतीका धेरै गाई र भैसी पाले पनि उहाँले सरकारी अनुदान रकम पाउनु भएको छैन ।
गोठभरी अनुदान ताका गाई पाल्ने अनी कर्मचारीको मिलेमहतोमा फोटो खिचीसकेपछी गाई अर्काको घरमा पु¥याइदिने किसान होइनन् । किसानका अली नजिक भएर कुरा गर्न खोजे । तर, मेरो सुकिलो सर्ट देखेर उहाँ अली पर सर्नुभयो । तै पनि आफ्ना दुख, पिर मर्का भने उहाँले यसरी पोख्नुभयो‘२०६९ सालबाट गाई पालन गर्न सुरु गरेको हुँ यस भन्दा अगाडी निर्बाहका लागि मात्र गाई, भैसी पालन गरे । गाईबाट राम्रै आमदानी भएको छ । गाईको दुध नजीकैको डेरीमा बिक्री गर्दै आएको छु ।’
मकै, धान, कोगोको सट्टा बारीमा घाँस खेती
घर नजिकैको बारीमा पहिले मकै, कोदो, अदुवा लगाएका रामप्रसादले अहिले भने सबैतिर घाँस खेति गर्नु भएको छ । बारीतिर हातले देखाउँ मुस्कुराएर खुसी हुँदै भन्नुहुन्छ –‘यो तलको सबै बारी, पाखो सबैतिर गाई र भैसीलाई खुवाउनका लागि घाँस खेति गरेको छु । घाँसखेति नगरेको भए त कसरी पाल्नुनी यतीका वस्तु । अव मलाई सजिलो छ । थोरै घाँस मिसाएर धेरै पराल धुलो पारेर मिसाएर खुवाएपछी गाई भैसै टन्न भईहाल्छन्नी ।’ उहाँको बारीमा साँच्चै घाँसको हरियाली निकै लोभ लाग्दो थियो ।

दैनिक दुई सय लिटर दुध उत्पादन
रामप्रसादको गोठमा पालिएका गाई र भैसीबाट दैनिक दुई सय लिटर दुध उत्पादन हुँदै आएको छ । यो दुध लगेर नजिकको दुग्ध सहकारीमा बिक्री गर्ने उहाँको दैनिकी हो । तर, सहकारीले पनि नाफा राखेर दुध बिक्री गर्दा उहाँ जस्ता धेरै किसानलाई मर्का पर्दै आएको छ । बिहान देखि उहाँ र उहाँको परिवार गोठमा गाईको स्याहार सुसार गर्नमै व्यस्त हुन्छ । तर, दाना, ढुटो, चोकर, पराल खरिदमा धेरै पैसा खर्च हुने भएकाले थोरै मात्र बचत हुने गरेको उहाँको भनाई छ ।

किसानको अनुदानमा टाठा बाठाको हाली मुहाली
पहिलेको कृषि बिकास कार्यालय, पशु कार्यालय, संघिय सरकारबाट किसानका लागि जाने अनुदान रामप्रसाद दाहाल जस्ता वास्तिविक किशान भन्दा पनि टाठा बाठा, कर्मचारीको पहुँचमा भएका, बाहिर गर्ने राजनीति, भित्र गोठमा केही गाई देखाएर अनुदान कुम्ल्याउने धेरै छन् । अहिले पनि हालत उस्तै छ । स्थानीय सरकार, प्रदेश र संघिय सरकारको अुनदान लिनेका लिष्ट हेर्दा नक्कली किसानकै हालीमुहाली छ ।
तीनै तहका सरकारले बास्तवीक किसान भन्दा पनि कमिसन दिने किसानको खोजी गर्दै हिड्ने गर्छन । बास्तवीक किसान मन्त्रालय सम्म जान पनि सक्दैनन् । कमिज, सुरुवाल र ढाका टोपी लगाएर आएको देख्ने बित्तिकै कर्मचारीले पनि सघाउनुको सट्टा झुलाउने काम गर्दै आएका छन् । अनी किसानका नाममा आएको अनुदान रकम अनुदान कुम्ल्यउनकै लागि खोलीएका गाई, बाख्रा फामले पाउने वास्वीक किसानले कहिल्यै नपाउने समस्या छ ।






