बागमती सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय र संवैधानिक निकायमा नियुक्त नगर्न कांग्रेसको आग्रह
हेटौंडा । नेपाली कांग्रैसको संसदीय दलको बैठकले बागमती प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न र संवैधानिक निकायमा नियुक्त नगर्न समेत आग्रह गरेको छ । आफ्ना निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी आफुहरु अब ससक्त प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताउनुभयो ।
वाग्मती प्रदेशको ठूलो दल नेपाली कांग्रेसले तत्काल आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल नगर्ने भएको छ । सरकार गठनको विषयमा ‘पर्ख र हेर’को नीति अवलम्बन गर्ने भएको हो । ‘हामी तत्काल सरकार गठनको नेतृत्व लिँदैनौं । केही समय प्रतीक्षा गर्छौं’, कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले भन्नुभयो । उहाँले अहिले सरकारको कोर्टमा बल रहेको कारण आफूहरु केही समय प्रतीक्षा गर्ने बताउनुभयो । मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले राजीनामा नदिएको र विश्वासको मत लिने तयारी गरिरहेको अवस्थामा कांग्रेसले सरकार बनाउने तयारी गर्दा हतारो हुने दाबी गर्नुभयो ।
वाग्मतीमा संघीय गठबन्धनअनुसार प्रदेशमा हाल माओवादी केन्द्रका नेता जम्कट्टेल नेतृत्वको सरकार रहेको छ । केन्द्रीय गठबन्धनअनुसार माओवादी, एमाले र नेकपा एस मिल्दासमेत प्रदेश सरकार गठन हुने अवस्था छैन । सदनमा २ मत रहेको हाम्रो नेपाली पार्टी अहिले निर्णायक देखिएको छ ।
११० सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न ५६ मत आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र नेकपा एसको ७ गरी कुल ५५ मत रहेको छ । अब सरकार गठन गर्न १ मत आवश्यक छ । जसका कारण हाम्रो नेपाली पार्टीको समर्थन सरकारले जोगाइ राख्न माओवादीले कसरत गरिरहेको छ । प्रदेशसमा कांग्रेसको ३७, राप्रपाका १३, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।
कांग्रेस संसदीय दलको वैठकले आर्थिक वर्ष २०८०र०८१ को बजेट तथा योजना व्यवस्थापन गर्न वाग्मती प्रदेशसभाबाट गठन गरिएको विशेष समितिले मंगलबार सभामुख भुवन पाठकलाई बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसमक्ष आग्रह गरेको छ ।
बैठकले कांग्रेसले अब सदनमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा प्रभावकारीरुपमा प्रस्तुत हुने र कांग्रेसका मन्त्रीहरुले सरकारबाट दिएको राजीनमा अनुमोदन गर्ने निर्णय गरेको छ ।






