पहिलो सप्ताहान्त ‘उपहार’ उत्साहजनक, वितरक भन्छन्- रेखालाई दर्शकले बिर्सेका छैनन्

शनिबार बालाजुको अष्टनारायण हलमा दर्शकमाझ अभिनेत्री पूजा शर्मा र बेनिशा हमाल लगायत
जनपत्र
२७ फाल्गुन २०८०, आईतवार १६:०९

रेखा थापा स्टारर फिल्म ‘उपहार : जर्नी अफ लाइफ’ले पहिलो सप्ताहन्त घरेलु बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । अष्टनारायण लगायतका हलमा फिल्मको शुक्रबार र शनिबारीय अकुपेन्सी लगभग शतप्रतिशत देखियो ।

सोमबार पनि सार्वजनिक बिदा भएकाले पहिलो साताको कलेक्सन आकर्षक हुने प्रक्षेपण गर्न सकिन्छ । वितरण कम्पनी एफडीका प्रमुख छविराज ओझाले फिल्मले दुई दिनमा एक करोड हाराहारीमा ग्रस कमाइ गरेको बताए । तर फिल्मको वास्तविक हिसाब आउन बाँकी छ ।

‘मैले पूर्वदेखि पश्चिम नेपालसम्म फोन गरेर बुझ्दा एकदम सकारात्मक प्रतिक्रिया पाएको छु । दर्शकले रेखा थापालाई बिर्सेका छैनन् भन्ने बुझिन्छ । ज्ञानेन्द्र देउजाले झिंगेदाउबाट पाएको लाभ पनि उपहारलाई प्राप्त भएको देखियो,’ ओझाले अनलाइनखबरसँग भने ।

महिला दर्शकमाझ फिल्मको प्रतिक्रिया उत्साहजनक रहेको उनले जनाए । ‘शिवरात्रिको अवसर भएकाले पनि होला, महिला संवेदनालार्ई फिल्मले आत्मसात गर्न सकेको छ,’ ओझा भन्छन्, ‘फिल्म गाना, फाइट र ड्रामाको प्याकेज हुनुपर्छ भन्ने सन्देश यसले दिन्छ । अझै दुई साता फिल्म आरामले जाने देखिन्छ ।’

निर्देशक देउजाले क्यूएफएक्स लगायतका हलले सही समयको शो नदिंदा कमाइ प्रभावित भएको बताए । ‘जति हुनुपर्ने थियो, त्यति भएन । किनभने राइट टाइममा राइट शो प्राप्त भएको छैन । नेपाली फिल्मको बिजनेस भनेको दिउँसो १२ देखि बेलुका ६ बजेसम्म नै हो,’ देउजाले भने, ‘गोपीकृष्ण लगायतका हलमा जुन दर्शकीय क्रेज देखिएको छ, यसले फिल्मप्रति वास्तविक नेपाली फिल्मका दर्शकको टेस्ट थाहा पाउन सकिन्छ ।’

देउजाले भने, ‘फिल्म लामो जान सक्छ भन्नेमा म विश्वस्त देखिएको छु । किनभने यसले समसामायिक विषय उठाएको छ । यसमा वैदेशिक रोजगारको मुद्दा पनि छ । यो कथा हरेकको घरसँग जोडिएको कुरा हो ।’ सुरुआती दुई दिनमा फिल्मको अकुपेन्सी ८५ प्रतिशत हाराहारीमा रहेको र दुई दिनमा करोड जति कमाएको भएको अनुमान आफूहरुको रहेको देउजाले बताए ।

अभिनेत्री तथा निर्मात्री रेखा थापा भने यतिबेला अमेरिकाबाट फिल्मको भर्चुअल पब्लिसिटी गरिरहेकी छन् । फिल्मको प्रचारमा बेनिशा हमाल, पूजा शर्मा लगायतले समय दिएको देख्न सकिन्छ । शुक्रबार र शनिबार यी दुई अभिनेत्री हलहलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका देखिन्थे ।

सोसल-ड्रामा जनरामा राखिएको यो फिल्मलाई रेखा फिल्म्स र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*