ओलीको ब्रिफिङ : शक्ति केन्द्रहरु सक्रिय छन्, तर गठबन्धन चारै वर्ष जान्छ

जनपत्र
२५ फाल्गुन २०८०, शुक्रबार १७:२६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सत्ता समीकरण चारै वर्ष टिकाउनुपर्ने निष्कर्ष सुनाएका छन् । केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान बसेको सचिवालय बैठकमा यो गठबन्धन चारै वर्ष टिक्ने विश्वास समेत दिलाए ।

‘जटिल परिस्थिति भएकाले पार्टीमा सल्लाह गर्न सकिएन । तर हामीले पाएको सफलता ठूलो हो’ अध्यक्ष ओलीको ब्रिफिङ थियो । एक पदाधिकारी अनुसार, नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन तोड्न राम्रै मेहनत गर्नु परेको ओलीले बताएका थिए ।

नेकपा माओवादी केन्द्रलाई कांग्रेससँगै राख्न अनेक शक्ति केन्द्र लागेको ब्रिफिङ ओलीको थियो । ‘हामीसँग माओवादीको गठबन्धन नहोस् भनेर विभिन्न शक्ति केन्द्र लागेका थियो, अहिले सक्रिय छन्’, ओलीले भनेका छन् ।

तर ती शक्ति केन्द्रहरु आफै परास्त गर्नेगरी नयाँ गठबन्धन बनेको अध्यक्ष ओलीले बताए । ‘अब जो जतिसुकै लागे पनि हामी चार वर्ष यो गठबन्धनलाई टिकाउँछौ, त्यसमा अरु दलहरु पनि प्रतिबद्ध छ’, ओलीले भनेका थिए ।

माओवादी केन्द्रसहित दलहरुसँग साझेदारी गर्दै सत्ताको यात्रा अगाडि बढाउने निर्णय गर्नेगरी आजको बैठक बसेको थियो । ‘हामी सरकारमा सहभागी भइसकेका छौं । तर त्यसबारे निर्णय गर्न बाँकी थियो’ ती पदाधिकारी भन्छन्, ‘अध्यक्षले सरकारमा सहभागी हुनु अगाडि माओवादीसँग कुराकानी गर्ने कुरा समेत गोप्य राख्नुपर्ने कारण परिस्थिति नै भएको बताउनुभयो ।’

अर्का एक पदाधिकारी अनुसार, सरकारको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको अनुकुल टीम बनाउन सहयोग गरेको ओलीले बताएका छन् । महत्वपूर्ण मन्त्रालय गठबन्धनका अरु दलहरुलाई नै दिएर एमाले सरकारमा सहभागी भएकोमा पार्टी पंक्तिमा टिप्पणी भइरहेको छ ।

सचिवालय बैठकले आगामी ८–९ वैशाखमा महाधिवेशन प्रतिनिधि परिषद् बैठक राख्ने र १० वैशाखमा पार्टी स्थापना दिवस मनाउने निर्णय समेत गरेको छ । एमालेभित्र प्रतिनिधि परिषद् बैठक महाधिवेशन पछि शक्तिशाली संरचना हो ।

केन्द्रीय कमिटी बैठकबाट भएका निर्णयहरु र पार्टीले लिनुपर्ने नीतिबारे हरेक–हरेक दुई वर्षमा बस्ने प्रतिनिधि परिषद् बैठकले समीक्षा गर्ने गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*