घुस लिँदालिँदै पक्राउ परेका वडाध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
जनकपुरबाट एक लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका महोत्तरीको भंगहा नगरपालिका-८ का वडाध्यक्ष मोहम्मद मोरफिक आलमसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। वडाध्यक्ष आलम, वडा नं ८ कै वडा सदस्य कारी साह र उनका छोरा मुकेश साहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
तीनैजना विरुद्ध १ लाख ६० हजार रुपैयाँ विगो कायम गरी ‘भ्रष्टाचार निवारण ऐन २०५९’ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ ‘घ’ बमोजिम जरिवाना र सजाय माग दाबी सहित मुद्दा दायर गरेको आयोगले जनाएको छ। भंगहा नगरपालिका–८ का वडाध्यक्ष आलम सहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले जनकपुरबाट साउन २८ गते दिउँसो पक्राउ गरेको थियो। उनीहरु १ लाख ६० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए।