‘लक्का जवान’ मा इन्स्पेक्टर वर्षा

फिल्म क्षेत्रमा वर्षा सिवाकोटीलाई असफल अभिनेत्री भन्ने गरिन्छ । उनको प्रमुख भूमिका रहेका कुनै फिल्मले अहिलेसम्म बक्सअफिस कलेक्सनबाट निर्माताको खल्ती भर्न सकेका छैनन् । अधिकांश निर्माता टाँट पल्टिएका छन् । पछिल्लो रिलिज फिल्म ‘वीर विक्रम २’ बाट उनी फ्लप श्रृंखलामा पूर्णविराम लाग्नेमा निकै आशावादी थिइन् । किनकि, उनले फिल्ममा अहिलेका चल्तीका अभिनेता पल शाहसँग रोमान्स गरेकी थिइन् । तर, फिल्मले हलमा हावा खायो ।
यो फिल्मको असफलतापछि उनी हच्किएकी छन् । हातमा आएका जुनसुकै स्क्रिप्ट र मेकर्सको फिल्म नछाड्ने शैलीले सफलताको महशुस नै गर्न नपाउँदै करिअर डुब्न लागेपछि उनी अब फिल्म छनोटमा गम्भीर देखिएकी छन् । करिअरलाई सुरक्षित अवतरण गर्न एक हिट फिल्मको खोजीमा रहेकी उनी अहिले हाँस्यकलाकार शिवहरी पौडेलको फिल्म ‘लक्का जवान’ मा व्यस्त छिन् । यो फिल्मको केही दिनयता काभ्रेमा छायांकन भइरहेको छ ।
फिल्ममा उनीसँगै किरण केसी, दीलिप रायमाझी, सलोन बस्नेत, शिवहरी पौडेल प्रियंका कार्कीलगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा वर्षाको जोडी दीलिप हुन् वा सलोन भन्नेमा अहिलेसम्म निर्माण टिमले गोप्य राखेको छ । तर, फिल्ममा उनले निर्वाहा गरेको भूमिका भने खुलेको छ । फिल्ममा उनी इन्स्पेक्टरको भूमिकामा देखिनेछिन् ।