पेलेको चिहान खोतल्दै ‘छोरी’, खुल्नेछ यस्तो रहस्य
काठमाडौं । ब्राजिलका महान फुटबलर पेले सन् २०२२ सेप्टेम्बर ३० मा संसारबाट बिदा भएका थिए ।
तर उनको पारिवारिक जीवन भने मृत्युपछि पनि विवादमै रुमल्लिइरहेको छ । विवादको निरुपण गर्नका लागि पेलेको चिहान उत्खनन गरिने भएको छ ।
आफूलाई पेलेकी छोरी दाबी गर्ने एक महिलाले पेलेको शवलाई चिहानबाट बाहिर निकाल्न माग गरेकी छिन् ।
६० वर्षीया मारिया डो सोकोरो अजेभेदोले पहिलोपटक पितृत्व कानून अन्तर्गत मुद्दा दायर गरेको ५ वर्षपछि एकजना वकिललाई यो कदम उठाउन भनेकी हुन् ।
पेलेले आफ्नो मृत्यु हुनुभन्दा पहिले आफ्नो अर्को एकजना बच्चा पनि भएको हुनसक्ने बताएका थिए ।
तीनवटा बिहे, ७ बच्चा
पेलेले आफ्नो जीवनकालमा ३ पटक बिहे गरेका थिए र आधिकारिक रुपमा उनका ७ वटा छोराछोरी छन् । त्यसका अतिरिक्त एकजना थप झट्केली छोरी पनि रहेकी छिन् । उनका दुईजना सन्तान एडिन्हो नेसिमेन्टो र फ्लाविया क्रिस्टिना आफ्ना पिताको इच्छापत्र पढेपछि डीएनए परीक्षणका लागि सहमत भएका थिए ।
मारिया डो सोकोरो अजेभेदोका वकिल मार्कोस फर्नान्डो डस स्यान्डोस सूसालाई उधृत गर्दै प्रकाशित समाचार अनुसार उनले गरेको प्रारम्भिक परीक्षण नेगेटिभ आएको थियो ।
तर मारियाको डीएनए टेस्ट ब्लड लिंकमा उच्च सम्भावना देखाएको वकिलको दाबी छ ।
ती वकिलले अब मारियाको पिता पेले भए नभएको विवादको निरुपण गर्नका लागि पेलेको शव निकालेर परीक्षण गर्न आग्रह गर्नुको विकल्प नरहेको बताएका छन् ।
टेलिभिजन कार्यक्रममा छोरीको दाबी
आफूलाई पेलेको छोरी दाबी गर्ने मारियाका अनुसार जिवित छँदै पेले डीएनए परीक्षणका लागि सहमत पनि भएका थिए । तर परीक्षण हुनुभन्दा पहिले नै उनको मृत्यु भयो । एक ब्राजिलियन टेलिजिभन शोलाई अन्तरवार्ता दिने क्रममा उनले यस्तो बताउँदै आफू पेलेको छोरी नै भएको जिकिर गरिन् ।
आफूलाई पेलेको धन सम्पत्तिमा कुनै रुची नरहेको पनि उनको भनाइ छ । आफ्नी आमाले आफू गर्भवती भएपछि ब्राजिलको मारानहाओ प्रान्तस्थित साओ लुईसमा बसिरहेको कुरा पेलेलाई कहिल्यै पनि नबताएको उनको दाबी छ । मारियाका आमाको मृत्यु भैसकेको छ ।







