पोखरामा तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ सुरु

नेपाली फिल्मको दोस्रो ठूलो बजार मानिने पोखरामा चलचित्र पत्रकारिता गर्दै आएका पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघ, नेपालको आयोजनामा तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ सुरु भएको छ । बुधबारबाट पोखरामा रहेको नेपाल पर्यटन बोर्डमा सुरु भएको कार्यशाला शुक्रबारसम्म चल्नेछ । चलचित्र पत्रकार संघले पोखरा शाखा र चलचित्र विकास बोर्डको सहकार्यमा यो कार्यशाला आयोजना गरेको हो ।
बुधबार भएको कार्यशालाको उद्घाटन समारोहमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली र कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, फिल्म निर्देशक धनश्याम लामिछाने, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया, चलचित्र पत्रकार संघका कास्की संस्थापक अध्यक्ष श्रीराम सिग्देललगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री विकास लम्सालले ‘पर्यटन वर्ष २०२०’ लाई ‘चलचित्र पत्रकारिता कार्यशाला’ ले सहायक भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । फिल्ममार्फत् देशको पर्यटन प्रवद्र्धनमा निकै ठूला भूमिका रहेको उल्लेख गर्दै उनले भने, ‘पर्यटनलाई टेवा पुर्याउनका लागि यस्ता कार्यशाला तथा गोष्ठीहरुको निकै ठूलो भूमिका रहन्छ । त्यसैले हामी यस्ता कार्यहरु पोखरमा होस् भन्ने चाहन्छौं ।’ नेपाली फिल्ममा पोखराका दृश्य अपरिहार्यझैँ हुनु पर्यटन प्रवद्र्धनका लागि सुखद पक्ष रहेको उनी बताउँछन् ।
मन्त्री लम्सालले अबको चार महिनामा १५ लाख पर्यटक नेपाल भित्राउने सरकारको तयारीमा चलचित्र पत्रकारहरुको पनि साथ र सहयोग मिल्नेमा विश्वस्त रहेको बताए । फिल्म सिटीका लागि पोखराको नाम प्रस्तावित भए पनि निकै खर्चिलो हुने भएका कारण तत्काल सुरु गर्न नसकिएको पनि उनले स्पष्ट पारे । उनले यो विषयलाई पनि कार्यशालामा छलफलको विषय बनाउन आग्रह गरे ।