प्रदर्शनकारीसँग झुक्यो हङकङ सरकार : सुपुर्दगी विधेयक फिर्ता
हङकङकी प्रमुख कार्यकारी क्यारी ल्यामले बुधवार विवादित सुपुर्दगी विधेयक फिर्ता लिने घोषणा गरेकी छन्। उक्त विधेयकका कारण हङकङमा तीन महिनादेखि विशाल प्रदर्शन भइरहेका छन्। प्रदर्शनकारीका प्रमुख पाँच मागमध्ये विधेयक फिर्ता लिनुपर्ने मुख्य माग रहेको थियो। चीनको स्वायत्त शासन भएको हङकङमा गत जुनदेखि लाखौं मानिस सडकमा प्रदर्शनमा उत्रिएका छन्। ल्यामले शुरुमा विधेयक फिर्ताको माग अस्वीकार गरेकी थिइन्। लामो समयपछि शान्ति कायम गर्न विधेयक फिर्ता लिएको बताएकी छन्।
सुपुर्दगी विधेयकमा हङकङमा अपराध गरेका दोषीलाई मुख्य भूमि चीनमा सुपुर्दगी गर्ने उल्लेख थियो। ल्यामले भिडियो सन्देशमार्फत भनिन्, ‘जनतामा देखिएको चिन्ता हटाउन औपचारिक रूपमा सुपुर्दगी विधेयक फिर्ता लिन्छौं।’ यो घोषणासँगै हङकङको शेयर बजार ४ प्रतिशतले बढेको छ। प्रदर्शनकारीले भने सरकारी घोषणा आए पनि विरोध जारी राख्ने निर्णय गरेका छन्।







