३०३ वटा म्यानपावर कम्पनी खारेजीमा, अब ८४८ मात्र
नेपालमा ८ सय ४८ म्यानपावर कम्पनी मात्रै रहने भएका छन् । सरकारले धरौटी बढाउन दिएको अन्तिम मिति बुधबारसम्म ८ सय ४८ म्यानपावरले बैंक ग्यारेन्टी र नगद धरौटी राख्ने प्रक्रिया पुरा गरेका छन् ।
वैदेशिक रोजगार विभागमा महानिर्देशक भीष्मकुमार भुसालका अनुसार इजाजतपत्र लिएका मध्ये ३ सय ३ वटा म्यानपावर धरौटी बढाउन नसकेकाले खारेजीमा परेर बन्द हुनेछन् । सरकारले दिएको ‘मर्जर’को विकल्प ३०३ वटा म्यानपावरले प्रयोग गरेका छन् । यति म्यानपावर कम्पनी गाभिएर कुल १३१ वटा म्यानपावरले धरौटी पुरा गरेका छन् ।
यसरी गाभिने संस्थाहरुमध्ये ६ वटा संस्था गाभिई एउटा बनेको, पाँच-पाँच वटा संस्था गाभिई बन्ने संस्था २, चार-चार संस्था गाभिई बन्ने संस्था ९, तीन-तीनवटा संस्था गाभिई बन्ने संस्था संख्या १३, दुई-दुई वटा संस्था गाभिई बन्ने संख्या १०६ रहे।खारेजीमा परेका मर्जर भएका गरी अब कुल इजाजतप्राप्त कम्पनीमध्ये ४७५ वटा म्यानपावर कम हुने भुसालले जानकारी दिए ।






