एटीएम ह्याकिङ प्रकरण : मनी एक्सचेन्जका तीन जना सञ्चालक समातिए

जनपत्र
१७ भाद्र २०७६, मंगलवार ०६:०९

एटीएम ह्याकपछि रकम साट्ने कार्यमा मुछिएका मनी एक्सचेन्जका सञ्चालकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ठमेलस्थित डेक्सो मनी एक्सचेन्जका देवनाथ लामिछाने, नेपाल मनी एक्सचेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडी छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो । एटीएम ह्याक गरेर रकम निकालेका चिनियाँ नागरिकले डेक्सो मनी एक्सचेन्जमा २९ लाख ९९ हजार रुपैयाँ डलरमा साटेका थिए भने नेपाल मनी एक्सचेन्जमा २९ लाख ९९ हजार रुपैयाँ गैरकानुनी रूपमा साटेका थिए ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले उनीहरूलाई गैरकानुनी रूपमा सटही गरेको २९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ गरिएको जानकारी दिए ।
त्यस्तै, प्रहरीले एटीएम ह्याकिङ प्रकरणमा फरार तीन चिनियाँ नागरिकमध्ये एक जनालाई आइतबार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चिनियाँ मूलका फ्रान्सेली नागरिक छु लुई लि छन् । उनलाई आइतबार राति प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी बाहिरिन लागेको बेला पक्राउ गरेको थियो ।

गत शनिबार राति महानगरीय प्रहरी परिसर काठमाडौंले डेढ करोड रुपैयाँ बढी चोरीमा संलग्न ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरूमाथि बैंकिङ कसुर मुद्दामा सात दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
नबिल बैंकको दरबारमार्गस्थित एटीएम बुथबाट पैसा निकालिरहेको अवस्थामा शनिबार एक जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनीमार्फत नै प्रहरीले थप चार जना चिनियाँ नागरिकलाई नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५, अमेरिकी डलर ९ हजार १ सय ८, चिनियाँ युआन १ हजार १९१, कम्बोडियन रियल ५ हजार, र हङकङ डलर ८०, नक्कली भिजा कार्ड १३२ थान, १७ थान सक्कली भिजाकार्ड, कार्ड प्रिन्टर मेसिन एक थान, मोबाइल ६ थान र ल्यापटप एक थानसहित पक्राउ गरेको थियो । पक्राउ परेका चिनियाँ नागरिक गत शुक्रबार नेपाल आएका थिए भने सोमबार फर्किने तयारीमा थिए ।
प्रहरीले बैंकका एटीएमबाट पैसा चोरीमा संलग्न तीन नेपालीसहित ९ जनालाई पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*