मकवानपुरमा पर्ने राजमार्गका ज्यानमारा खाल्डाहरू
हेटौंडा । चितवनको खैरहनी नगरपालिका–२, पर्साका अनुप श्रेष्ठ भदौ १० गते मकवानपुरको हेटौंडाबाट घर (चितवन) फर्कँदै थिए। कामको सिलसिलामा निस्केका अनुप घर पुग्न पाएनन्।
उनलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–ज्यामिरे खण्डमा रहेको ज्यानमारा खाल्डाले निल्यो।
उनले चलाएको मोटरसाइकल खाल्डोमा परेर अनियन्त्रित भएर सडक छेउको रुखमा बजारिन पुग्यो । हेटौंडाबाट चितवनतर्फ बा ७७ प ५५५४ नम्बरको मोटरसाइकल चढेर घर जाँदै गरेका अनुप दुर्घटनामा गम्भीर घाइते भए। तत्काल उपचारका लागि दुर्घटनास्थलनजिकै रहेको मनहरी स्वास्थ्य केन्द्र पुर्याइएका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।
राजमार्गको करिब १० किलोमिटर क्षेत्रमा साह्रै ठूला खाल्डाखुल्डी भएको कारण सवारी दुर्घटनाको खतरा दिनानुदिन बढिरहेको छ। ‘छल्न खोजेर छलिने खाल्डाहरु भए पो त, डरैडरमा ड्राइभ गर्नुपर्छ, एउटा खाल्डो छल्यो, अर्कोमा बजारिन्छ’, ना ८ ख ९५५ का सवारी चालक राजन आलेमगरले भने ‘पटके करदेखि हरेक कर तिर्नुपर्छ, बाटोको हविगत यस्तो छ ।’
बाटोका कारण समयमा तोकिएको स्थानमा पुग्न त सकिँदै सकिँदैन। ‘यात्राभर डरैडर हुन्छ,’ चितवन–हेटौंडा–वीरगन्ज रुटमा बस चलाउँदै आएका चालक श्याम घलानले भने।
हेटौंडाकी नानीमाया श्रेष्ठले राजमार्गमा अब कहिल्यै जान नपरोस् जस्तो हुने बताइन्। ‘हाम्रो सरकारले जनताको पीडा कहिले सुन्ला खै,’ उनले भनिन्। श्रीमानकाे उपचारको क्रममा नियमित चितवन र हेटौंडा गर्नुपर्ने तर बाटो कारण बिरामी लिएर हिँड्दा झनै समस्या भएको उनले बताइन्। यात्रापछि जोर्नी दुख्ने, अत्यधिक थकान महसुस हुने गरेको उनले बताइन्।
संघीय संरचनाअनुसार प्रदेश सरकारले यो राजमार्ग निर्माण गर्ने जिम्मेवारी आफ्नो हैन भनेर पन्छिँदै आएको छ। यता संघीय सरकारको जिम्मेवारीमा रहेको यो सडक मर्मत गर्न संघीय सरकार अन्तरगतको डिभिजन सडक कार्यालय हेटौंडाले समस्या भएको स्वीकार गर्दै अबको केही दिनमै खाल्डा पुरिने र दसैंअगावै ओभरले गरेर पनि सकिने दाबी गरेको छ।
डिभिजन सडक कार्यालय मकवानपुर हेटौंडामा डिभिजन इञ्जिनियर सुमन योगेशका अनुसार अघिल्लो वर्षकै ठेक्का अन्तरगतको बजेटबाट राजमार्गका खाडल पुरिने छन्। ‘तत्काल ३/४ स्थानबाट खाल्डाखुल्डी पुर्ने काम सुरु गर्दैछौं,’ डिभिजन इञ्जिनियर योगेशले भने, ‘अब ढिलाइ हुने छैन, केही दिनमात्रै हो।’
अघिल्लो वर्ष मात्रै बनाइएको यो राजमार्गमा खाल्डाखुल्डी बढेपछि देखिएको समस्याले डिभिजन कार्यालय मकवानपुरलाई समेत तनाव भएको कार्यालयका प्राविधिक रामजी घिमिरेले बताए। ‘ल्याब टेस्ट सही छ, थिकलेस पनि सही छ, तर के कारण १ वर्षमै बाटोको हालत यस्तो भो हामी पनि तनावमै छौ,’ उनले भने। सडकको भारवहन क्षमताभन्दा बढी तौल बोकेका साधन प्रयोग हुँदा यो अवस्था आएको हुनसक्ने घिमिरेको अनुमान छ।
राजमार्गको खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जीप, कारलगायतका साना सवारी दुर्घटनामा पर्ने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। खाल्डाखुल्डीकै कारण गम्भीर किसिमको दुर्घटना हुने खतरा छ। तीव्र गतिमा गुडाइने मोटरसाइकललगायत अन्य सवारी खाल्डोमा परेर उच्छिट्टिने र दुर्घटनामा पर्ने गरेका छन्।
पूर्व-पश्चिम राजमार्ग मात्रै हैन, त्रिभवन राजमार्गमा पनि उत्तिकै खाल्डाखुल्डी छन्। मकवानपुरको पर्यटकीय नगर थाहा नगरपालिका हुँदै काठमाडौं जोड्ने त्रिभुवन राजमार्गमा पनि उत्तिकै खाल्डाखुल्डी छन्। यहाँको खाल्डाखुल्डी पुर्न चालु आवमा २५ करोड बजेट प्राप्त भएको डिभिजन इञ्जिनियर योगेशले बताए। यो बजेट अन्तरगत ६५ किलोमिटरभन्दा बढी सडकलाई स्तरीय बनाइने बताइएको छ। डिभिजन इञ्जिनियर योगशका अनुसार उक्त बजेटबाट खाल्डाखुल्डी पुर्ने तथा ओभरले गर्नेसम्मका सबै काम गरिने छन्।
अघिल्लो वर्ष २ करोडमात्रै बजेट प्राप्त भएकोले यो क्षेत्रको राजमार्गका सबै खाल्डाखुल्डी पुर्न काम गर्न नसकिएको त्रिभुवन राजमार्ग क्षेत्रको जिम्मेवारी सम्हालेमा सब इञ्जिनियर कुमार मोक्तानले बताए। नेपाल न्युजबाट ।